चितवनमा बहिष्कारवादीको सामान्य उपस्थिति

चितवनमा बहिष्कारवादीको सामान्य उपस्थिति

मतदानको अघिल्लो दिन चितवनमा शंकास्पद वस्तु फेला परेको छ । अस्ति राति पड्किएकै आवाज पनि जिल्ला अदालततिरका स्थानीयले सुने । तर बम नै पड्किएको हो या गाडीको टायर यकिन नभएको उनीहरु सुनाउँछन् । अस्ति राति साढे १२ बजेतिर भरतपुर–१० को बाइपास रोडछेउ आँखा अस्पताल नजिक र भरतपुर–१२ स्थित आस्थाचोकमा पनि पूर्व–पश्चिम राजमार्गको छेउमा शंकास्पद रुपमा राखिएको प्रेसर कुकर भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । 

तत्काल जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक नवराज अधिकारीको कमाण्डमा टोली खटिएर उक्त स्थानलाई सुरक्षित बनाइएको थियो । कालीबहादुर गण भरतपुरबाट नेपाली सेनाका मेजरको कमाण्डमा खटिएको टोलीले बिहान साढे ३ बजेतिर ती शंकास्पद वस्तुलाई डिस्पोज गरेको डीएसपीले बताए । निर्वाचनविरोधी समूहले आफ्नो उपस्थिति देखाउन त्यसो गरेको अनुमान गरिएको छ । 

विगतका चुनावमा पनि बहिष्कारवादीहरुको यसखालका गतिविधि यदाकदा देखिएकै हो । प्रचारप्रसारका क्रममा केही दिनअघि इच्छाकामनामा रवि लामिछानेको चुनावी गाडी र भरतपुरमा उमेश श्रेष्ठको गाडीमा तोडफोड भएको थियो । निर्वाचनका बेला देखिने यी सामान्य घटना हुन् ।

यति हुँदा पनि चितवनमा आज सुरक्षित वातावरणमा शान्तिपूर्ण रुपमा नै निर्वाचन सम्पन्न हुने जिल्ला सुरक्षा संयन्त्रले बताएको छ । निर्वाचनको सुरक्षामा म्यादी प्रहरीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानको टोली पनि उच्च सतर्कताका साथ ठूलो संख्यामा खटिएका हुँदा भयको अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ बताउँछन् ।

चितवनमा कुल १६२ वटा मतदानस्थल र ४६० वटा मतदान केन्द्र छन् । तीमध्ये २५ वटा मतदान स्थललाई अति संवदनशील मानिएको छ । दुईवटा अस्थायी मतदान केन्द्र थपिएका छन् । कैदी÷बन्दीहरुका लागि जिल्ला कारागारमा एउटा र कर्मचारी, सुरक्षाकर्मी तथा वृद्धाश्रमका वृद्धवृद्धाका लागि मालपोत कार्यालयमा अर्काे अस्थायी मतदान केन्द्र बनाइएको जिल्ला निर्वाचन कार्यालय चितवनका कर्मचारी अमबहादुर पुर्जाले जानकारी दिए । मतदान केन्द्रमा खटिएका कर्मचारीहरुले भने सोही ठाउँमा भोट खसाल्ने छन् । 

जिल्ला कारागार भरतपुरमा १०१ जना मतदाता छन् । चितवनमा कुल १५ सय ४४ जना अस्थायी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले जानकारी दिए । 

निर्वाचन कार्यालयका अनुसार प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख ३९ हजार ८४५ जना मतदाता छन् । क्षेत्र नम्बर २ मा एक लाख २४ हजार २१५ जना र ३ नम्बर क्षेत्रमा एक लाख ४४ हजार २८२ जना गरी चितवनमा कुल स्थायी मतदाता संख्या चार लाख आठ हजार ३४२ छ । गत स्थानीय चुनावमा ७५ प्रतिशत मत खसेको थियो । 

मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापा चितवनमा निर्वाचनका लागि भयरहित वातावरण भएकाले ढुक्क भएर मतदानमा सहभागी हुन मतदातालाई आग्रह गर्छन् । आचारसंहिता पालनाको विषयमा पनि त्यति धेरै गुनासो गर्नुपर्ने अवस्था नरहेको उनी बताउँछन् । फाटफुट रुपमा झण्डाको संख्या बढी प्रयोग गरेको र अनुमति नलिएका सवारी साधनसमेत चुनाव प्रचारप्रसारमा प्रयोग गरेको सुनिएको बताउँदै उनले जिल्ला आचारसंहिता अनुगमन समितिमा लिखित रुपमा दुईवटा मात्रै उजुरी आएको बताए । 

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललाई पटक–पटक आफ्नो क्षेत्रमा चुनाव प्रचारप्रसारमा खटिएको भन्ने लिखित उजुरी परेपछि स्पष्टीकरण सोधिएको थियो । तर उनले महानगरको रेडबुकमा परेको नियमित कार्यक्रमअन्तर्गत रहेर काम गरेको प्रस्टीकरण दिएकी छन् । बुझिएअनुसार उनी महिलासँग मेयर कार्यक्रममा सहभागी भएकी थिइन् । 

त्यसैगरी, राप्ती–९ का वडाअध्यक्ष पनि निर्वाचन आचारसंहिता विपरीत आफ्नो ठाउँमा पार्टीको चुनाव प्रचारमा सहभागी भएको उजुरी परेको हो । वडाअध्यक्षको त भिडियो नै प्राप्त भएको निर्वाचन आचारसंहिता अनुगमन अधिकृत मणिभद्र न्यौपाने बताउँछन् । 

रत्ननगर नगरपालिकाको पशु शाखाले गत वर्षकै कार्यक्रम भन्दै यो चुनावको मुखमा पाडो बाँडेको पनि उनले यसअघि जानकारी गराएका थिए । भरतपुरमा मतदातालाई प्रभावित पार्न चामल बाँडियो भन्ने मौखिक सूचना पाएलगत्तै अनुगमन टोलीले अस्ति भरतपुर–१२ मा त्यहाँका १०÷१२ वटा घरमा छापा मारेको थियो । त्यस्तै, भरतपुर– १६, २६ र २८ मा पनि आधा रातसम्म अनुगमन टोली घुमेको थियो । तर कहीँकतै चामल बाँडेको पुष्टि नभएको मुख्य निर्वाचन अधिकृतले बताए ।
 
 

टिप्पणीहरू