चितवनका मतदातालाई पाडो बाँडियो

चितवनका मतदातालाई पाडो बाँडियो

चितवनको रत्ननगरमा चुनावको पूर्वसन्ध्यामा पाडो बाँडिएको छ । मतदातालाई आर्थिक, राजनीतिक तथा सामाजिक प्रलोभनमा पार्न नहुने निर्वाचन आयोगको आचारसंहितालाई पन्छाउँदै सर्वसाधारणलाई भैंसीको पाडो बाँडिएको हो ।

‘अहिले नबाँडिदिएको भए हुन्थ्यो’, चितवनका आचारसंहिता अनुगमन अधिकृत मणिभद्र न्यौपानेले भने, ‘तर रत्ननगर नगरपालिकाको लक्षित वर्गलाई उन्नत जातको पाडो बाँड्ने गत वर्षकै कार्यक्रम रहेछ ।’ आचारसंहिता विपरीत चुनाव प्रचार सामग्री प्रयोग भएको भेटिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेलाई पनि स्पष्टीकरण सोधिएको उनले बताए । रविको जीत सुनिश्चित भनेर सेतोपाटीमा लेखिएको समाचारको विषयमा पनि निर्वाचन आयोगलाई जानकारी गराइएको उनले जनाए । 

यस्तै, एकजना उम्मेदवारले ‘अर्काे पार्टीलाई भोट नहाल्नु, मैलाई हाल्नु’ भनी मतदातालाई भनेको विषयमा पनि उजुरी परेको जानकारी आचारसंहिता अनुगमन अधिकृत न्यौपानेले दिए । अनुगमन समितिले ठाउँ–ठाउँमा टाँगिएका विभिन्न पार्टीका झण्डा, चुनाव चिन्ह तथा पोष्टरहरु भेटेजति हटाउन लगाएको जनाउँदै उनले भने, ‘आजको दिनसम्म चितवनमा आचारसंहिता उल्लंघनको त्यति ठूलो इस्यु छैन ।’

 

टिप्पणीहरू