खाद्य उद्योगी, व्यवसायीहरुलाई उद्योग वाणिज्य संघमा खार्दै

उपभोक्ताको स्वास्थ्यका लागि मात्र नभई व्यवसायिक सुरक्षा र सफलताका लागि पनि अत्यन्त महत्वपूर्ण ‘खाद्य स्वच्छता’का विषयमा चितवनका उद्योगी, व्यवसायीहरुलाई सचेत गराइएको छ । खाद्य वस्तु बनाएर सप्लाई तथा बिक्री–वितरण गरी उपभोक्तासम्म पु¥याउने उद्योगी, व्यवसायी नै हुन् । खानेकुरामा केही तलमाथि भए उनीहरु नै जवाफदेही हुनुपर्छ । क्षतिपूर्ति, जरिवानादेखि लिएर जेलसम्म जानुपर्छ ।

उद्योग वाणिज्य संघ चितवनले हालै केहीअघि किराना व्यवसायीहरुलाई खाद्य स्वच्छता सम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरेको थियो । अस्ति उद्योगीसमेत विभिन्न खाद्य व्यवसायीहरुलाई एकै ठाउँमा राखेर प्रशिक्षण दिइएको हो । युएसएआईडी र फुड इन्टरप्राइजेज सोलुसन्ससितको समन्वयमा उवासंघकै सभाहलमा कार्यक्रम गरिएको थियो ।

औद्योगिकरण, शहरीकरण र विश्वबजारीकरणको वर्तमान अवस्थामा फुड सेफ्टी अत्यन्त महत्वपूर्ण भएको र क्वालिटी सर्भिस कसरी गर्न सकिन्छ भन्ने विषयमा कार्यक्रम आयोजना गरिएको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले बताए । उद्योगी, व्यवसायीहरुलाई उद्योग, व्यवसाय सम्बन्धी आवश्यक ज्ञान दिन छिट्टै चेम्बर लर्निङ सेन्टर खोल्न लागेको जानकारी पनि उनले दिए ।

एक अध्ययनमा ९५ प्रतिशत खाद्य उद्योगी, व्यवसायीहरुले खाद्य स्वच्छताबारे जानकारी नभएको बताएको युएसएआईडी नेपालका फईन्द्र पाण्डे बताउँछन् । स्वास्थ्यसँगै व्यवसायिक जोखिम घटाउन पनि खाद्य स्वच्छताबारे ज्ञान हुनुपर्ने उनले बताए । नेपाल सरकारको खाद्य स्वच्छता सम्बन्धी नयाँ नीति ऐनका रुपमा आउन लागेको जनाउँदै किसानहरु असल कृषि अभ्यासका लागि स्वीकृत हुनुपर्ने, उद्योगबाट उत्पादित र पसलेले बेच्ने हरेक खाद्यवस्तु प्रमाणित रुपमा सुरक्षित हुनुपर्ने जानकारी उनले गराए ।

खाद्य स्वच्छता जस्तो अत्यन्त गहन विषयमा फुड इन्टरप्राइजेज सोलुसन्सका नेपाल खाद्य स्वच्छता प्रशिक्षक निर्बेक श्रेष्ठले थोरै समयमा पनि सरल ढंगले उद्योगी, व्यवसायीहरुलाई बुझाउने प्रयास गरेका थिए । प्रशिक्षणको सुरुमै खाद्य स्वच्छता र स्वास्थ्यबारे प्रकाश पार्दै उनले हानिकारक ब्याक्टेरिया, भाइरस, परजीवी वा रासायनिक पदार्थयुक्त असुरक्षित खाद्य पदार्थले पखालादेखि क्यान्सरसम्मका २०० भन्दा बढी रोगहरु निम्त्याउने बताए । विश्वमा १० जनामध्ये लगभग एकजना दूषित खाद्य पदार्थको कारण बिरामी पर्ने र प्रत्येक वर्ष ४२ हजारको मृत्यु हुने तथ्यांक पनि उनले प्रस्तुत गरेका थिए । उनी भन्छन्, ‘पाँच वर्षमुनिका बालबालिकाहरुले ४० प्रतिशत खाद्यजन्य रोगको बोझ बोक्दछन्, प्रत्येक वर्ष एकलाख २५ हजारको मृत्यु हुने गर्दछ ।’

प्रशिक्षक श्रेष्ठले खाद्य स्वच्छताका आधारभूत सिद्धान्तहरु र खाद्य व्यवस्थापन प्रणालीबारे उद्योगी, व्यवसायीहरुलाई आवश्यक जानकारी प्रदान गरेका थिए । भौतिक, जैविक र रासायनिक संक्रमणबाट खाद्यवस्तु जोगाउने उपायहरु उनले सिकाएका थिए । हाम्रो हात, निधार, टाउको, सिँगान र थुकमा समेत कीटाणु हुने भन्दै खाद्य पदार्थलाई त्यसको संक्रमणबाट बचाउन उद्योग र कामदारहरुको सरसफाइ एकदम महत्वपूर्ण हुने र उनीहरुलाई व्यवस्थापनले आवश्यक स्रोत–साधनहरु उपलब्ध गराउनैपर्नेबारे उनले बताए । उद्योगको डिजाइनमै सरसफाइको मापदण्ड पूरा हुनुपर्ने भन्दै निर्बेकले त्यससम्बन्धी जानकारी पनि दिएका थिए । ‘मीठो बनाउनुहोस्–नमीठो बनाउनुहोस्, उत्पादन धेरै गर्नुहोस्, थोरै गर्नुहोस् त्यो मतलब भएन’, उनले भने, ‘खाद्यपदार्थ स्वच्छ हुनुप¥यो ।’

खाद्य वस्तुलाई सही तरिकाले प्रयोग गर्दा वा उपभोग गर्दा स्वास्थ्यमा कुनै किसिमको प्रतिकूल असर पार्दैन भन्ने सुनिश्चितता नै खाद्य स्वच्छता हो । खाद्य वस्तु उत्पादनमा प्रयोग हुने पानी पनि विश्व स्वास्थ्य संगठन र राष्ट्रिय मापदण्ड बमोजिम स्वच्छ हुनुपर्नेबारे कार्यक्रममा बुझाइएको थियो । ‘पानीको कारण ९० वटा रोग लाग्छ’, श्रेष्ठ भन्छन्, ‘सफा पानीले १२० वटा रोग निको पार्छ ।’ आपूर्तिकर्ताहरुले असल उत्पादन अभ्यास र खाद्य स्वच्छताको प्रभावकारी कार्यान्वयन गरेको सुनिश्चित गर्नुपर्ने पनि उनले बुझाए । उद्योगी, व्यवसायीहरुलाई खाद्यवस्तु भण्डारणको तरिका पनि सिकाइएको थियो । उद्योगीहरुले आफ्नो उत्पादनमा लेबल राख्दा खाद्य पदार्थको नाम, सम्मिश्रण, उत्पादकको नाम–ठेगाना, उत्पादन मिति, तौल÷आयतन, म्याद सकिने मिति, ब्याचको विवरण, एलर्जी सम्बन्धी जानकारी, पोषण सम्बन्धी जानकारी, अनुज्ञापत्र नं., बिक्री मूल्य, लक्षित उपभोक्ता वर्ग एवम् भण्डारण सम्बन्धी निर्देशन अनिवार्य रुपमा खुलाउनुपर्नेबारे सचेत गराइएको छ । खाद्य स्वच्छताका लागि आवश्यक अन्य महत्वपूर्ण कुराहरु पनि सिकाउँदै प्रशिक्षक श्रेष्ठले अन्तमा रेकर्ड व्यवस्थापनमा ध्यान दिन सजग गराएका थिए ।

उद्योग वाणिज्य संघ चितवनका कार्यकारी निर्देशक निलबहादुर केसीले माछामासु, डेरी, फलफूल–तरकारी, खाद्यान्नलगायतका व्यवसायीहरुलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको बताए । उक्त कार्यक्रममा ७० जना उद्योगी, व्यवसायीहरुको सहभागिता रहेको संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी दिए ।

टिप्पणीहरू