चार घण्टाको केरकारमा डटेर जवाफ दिएका चोलेन्द्रले भने-धेरैका धेरै कुरा छन्,अहिल्यै सबै नखोलौँ !

चार घण्टाको केरकारमा डटेर जवाफ दिएका चोलेन्द्रले भने-धेरैका धेरै कुरा छन्,अहिल्यै सबै नखोलौँ !

आफूमाथि लागेको महाअभियोग प्रस्ताव फेस गर्न आज संसदीय समितिमा उपस्थित भएका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले आफ्नो बचाउमा अरुका समेत कमजोरी उधिनेर ४ प्रश्नउपर चारै घण्टाको बयान सकेका छन् । राजनीतिक दलका नेता, पूर्वप्रधानन्यायाधीश,नेपाल बारका पूर्वपदाधिकारी र केही कानुन व्यवसायीको नामै किटेर उनले गम्भीर आरोप लगाएका हुन् ।

महाभियोग सिफारिस समितिलाई बयान दिन बिहान १० बजेर ५६ मीनेटमा सिंहदरबारस्थित संसद सचिवालय पुगेका उनले राजनीतिक दबाब र प्रभावका आधारमा आफूलाई विस्थापित गर्न सर्वोच्च अदालतकै केही न्यायाधीशहरु प्रयोग भएको दावीसमेत गरे । उनका कतिपय आरोप र दावी सत्य हो भने नेपालको न्यायालय सोच्न नसकिने बिकृति र विसंगतिमा फसेको प्रष्ट हुन्छ । समितिका सदस्यहरुले सोधेको हरेक प्रश्नको डटेर जवाफ दिएका चोलेन्द्रले प्रधानन्यायाधीश हुने रोलक्रमका दुई न्यायाधीश हरिकृष्ण कार्की र प्रकाशमानसिंह राउतको नामै लिएर मुध्दाको फैसलामा लर्याङ्गतर्याङ्ग गरेको र आफू त्यसविरुध्द उभिएकै कारण वकिलहरुलाई उचालेर आन्दोलन गराएको जिकिर गरे ।

राणाले न्यायाधीश राउतको निजी जीवनसमेत निकालेर उछित्तै काढेपछि समितिका सदस्यहरुले समेत असहज महसुस गरेका थिए । राउतमाथि उनले मुध्दामा बार्गेनिङ गर्ने गरेको दावी मात्र गरेनन् सुरक्षाकर्मी र सवारी चालकले बोकेर घर पुर्याउनु पर्ने गरी जाँड खाएर नैतिक पतन भएको आरोपसमेत लगाए । त्यस्तै न्यायाधीश कार्कीले आफूलाई सहज हुँदा मुध्दा हेर्ने अनि अलिकति असहज हुँदा विभिन्न बहानामा त्यसै टार्ने गरेको राणाको आरोप छ । एमाले अध्यक्ष केपी ओलीविरुध्दका मुध्दामा कार्की श्रीमानले कहिले हेर्छु,कहिले हेर्दिन भन्ने गरेको र त्यही विषयमा आफूसंग कुरा नमिलेका कारण वकिलहरुलाई उचालेर आन्दोलन गराएको समितिसामु राणाले बयान दिए । अरु न्यायाधीशलाई समेत उचालेर कार्की र राउतले आफूविरुध्द आन्दोलनको अगुवाई गरेको उनको दावी थियो ।

‘जो परमादेश पाएर सरकारमा पुग्यो उसले नै महाभियोग लगाउने ? बरु एमालेले लगाउने होला नि !’

शुरुमै समितिका सदस्यहरुले राणामाथि लाग्दै आएको खराब आचरण र मुध्दाको फैसलामा सेटिङ सम्बन्धी आरोपबारे सोधेका थिए । जवाफमा उनले राजनीतिक दल, बार,पत्रकार र सडकको भीडलाई दोष दिएर उम्कने प्रयास गरे । उनले कान्तिपुरको त पटक-पटक नामै लिएर आफूविरुध्द प्रयोग भएको आरोप लगाएका थिए । केपी ओलीलाई बर्खास्त गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गराउन पनि तिनै राजनीतिक दल,बार,पत्रकार र सडकको भीड जिम्मेवार रहेको चोलेन्द्रको दावी छ ।‘परमादेश जारी गर्न म बाध्य भएर सही भएको हो । बार,पत्रकार, सडकको प्रेसरले गर्न परेको हो’, उनको जवाफलगत्तै समितिका सदस्य तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले सोधे,’तपाईंले कानुन र संविधान हेरेर गर्ने कि बाहिरको दबाबले ?’ त्यसको प्रष्ट जवाफ नदिएका राणा ‘त्यसमा पनि त्यस्तै ढंगले बुझौँ न’ भनी पन्छिएका थिए ।

बयानका क्रममा राणा बारका तत्कालीन अध्यक्ष चण्डेश्वर श्रेष्ठ र महासचिव लीलामणि पौडेलविरुध्द पनि चर्को रुपमा खनिए । उनीहरुले आफ्नै फर्ममा काम गर्नेहरु र आफैलाई न्यायाधीश बनाउन प्रस्ताव गरेको र त्यो आफूले अस्वीकार गरेपछि आन्दोलन थालेको उनको आरोप थियो । उनी त्यतिमा मात्र अडिएनन्,पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको पनि नामै लिएर अवकाशपछि पनि न्यायालय चलाउन खोज्ने गरेको आरोप लगाए ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकै ‘भ्वाइस’ बोलेका उनले २०७८ असार २८ को फैसलामाथि प्रश्न उठाउँदै सौदाबाजीमा भएको दाबी गरिरहे । परमादेश जारी गराउन आफ्नो मनले नमानेको तर बाध्य भएको बताएका उनको अभिव्यक्तिमा सहानुभूति दर्सिएको प्रष्टै बुझिन्थ्यो । उनले बयानका क्रममा भने, ‘जो परमादेश पाएर सरकारमा पुग्यो उसले नै महाभियोग लगाउने ? बरु एमालेले लगाउने होला नि !’ उक्त मुध्दामा बेञ्च गठनदेखि नै न्यायाधीश र कानुन व्यवसायीहरुको दबाबमा आफू परेको उनको भनाई थियो । कानुन व्यवसायी शम्भु थापा र हरिहर दाहालको नामै लिएर उनले बेञ्च गठनमा अनेक दबाब दिएको बताए ।

‘त्यसोभए तपाईंलाई निष्पक्ष ढंगले काम गर्न नदिएको हो ?” भन्ने प्रश्नमा उनले राजनीतिक दलको दबाब र प्रभावले त्यो अवस्था आएको भन्दै आफू संविधान र कानुनअनुसार नै चलेको दावी गरे । उनले धेरैका धेरै कुरा छन्,सबै अहिले नखोलौं पनि भनेका थिए । चार घन्टाको ‘केरकार’मा पुरै कड्किएर बोलेका उनलाई समितिका सदस्यहरुले पटक-पटक बिस्तारै बोल्न आग्रह नै गर्नुपरेको थियो । सो क्रममा उनलाई बेला-बेला पानी मगाएर पिलाउनु परेको समितिका एक सदस्यले बताए ।

आफूमाथि लागेका आरोपको प्रतिरक्षाका लागि गएका चोलेन्द्रले अरुको आलोचनामै बढी समय लिएपछि आज चार वटा प्रश्नको मात्रै जवाफ दिएका छन् । समितिले ४३ वटा प्रश्नमा उनको जवाफ लिने तयारी गरेकोमा पाँचौं प्रश्नको जवाफ दिंदादिँदै समय सकिएपछि भोलि ११ बजेका लागि पुन: बयान दिन बोलाइएको छ । एउटा प्रश्नमा जवाफ दिन थालेपछि सभापतिबाहेक दशै जना माननीयले क्रस क्वेश्चन गरेकाले आज सोचेजति जवाफ लिन नसकिएको ती सदस्यले बताएका छन् । आज अरुको उछित्तो काढेका चोलेन्द्रले श्रीमती हत्याका आरोपी रन्जन कोइरालालाई सफाई दिने उनको फैसलाबारे सोधिने प्रश्नको जवाफ भोलि दिनुपर्ने छ ।

[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/08/1-3.pdf” title=”1 (3)”]

टिप्पणीहरू