भाउजूको घरमा पाहुना लाग्न जाँदा नन्द बाटैमा बलात्कृत

भाउजूको घरमा पाहुना लाग्न जाँदा नन्द बाटैमा बलात्कृत

सीता थापा (परिवर्तित नाम), उमेर २७ वर्ष । काठमाडौंबाट चितवनको राप्तीतर्फ आउँदै थिइन् उनी । काठमाडौंमा बसेर ज्याला मजदूरी गर्ने उनी कहिलेकाहीँ राप्ती–१, पिप्लेस्थित भाउजूको घरमा आइरहन्थिन् । गत चैत १० गते काठमाडौंबाट बस चढेर आउने क्रममा चितवनको भण्डारा बजार आइपुग्दा निकै रात परेको थियो ।

राति भण्डारामा बसबाट ओर्लिएको देख्ने एक पुरुषले उनीमाथि गिद्धेनजर लगाइहाले । मकवानपुरको हेटौंडा–९, चौधघरेका अन्दाजी ४५ वर्षीय पूर्ण घलानले ‘पिप्ले टाढा पर्छ, आज जान भ्याइँदैन, म भोलि बिहानै पुर्याइदिन्छु’ भनी उनलाई ललाइफकाइ राप्तीकै वडा नम्बर ६, आदर्शटोलस्थित आफू बस्ने कटेरोमा लगे ।

त्यहाँ लगेपछि घलान र अरु २÷३ जना पुरुषहरु पनि थपिए । त्यसपछि उनलाई पालैपालो सामूहिक जबरजस्ती करणी गरेको बताइन्छ । सोही ठाउँमा बन्धक बनाएर उनीहरुले पटक–पटक जबरजस्तीकरणी गर्दै आएकामा सीताको स्वास्थ्यमा समस्या देखिएपछि पूर्ण घलानले स्थानीयको सहयोगमा उनलाई अस्पतालमा उपचार गराई गत शुक्रबार मात्रै भाउजूको घरसम्म लगेर छाडिदिएका हुन् ।

उक्त विषयमा सीताकी भाउजूले अस्ति इलाका प्रहरी कार्यालय, खैरहनीमा किटानी जाहेरी दिएपछि घलानलाई पक्राउ गरिएको र जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता डीएसपी नरहरि अधिकारीले बताएका छन् ।

टिप्पणीहरू