जति बल गर्दा पनि अन्तिम एक वडाको खेल

जति बल गर्दा पनि अन्तिम एक वडाको खेल

निर्वाचन हुनु हप्ता दिन पहिले मात्रै होटल ग्रान्ड पोखरामा अमेरिका, जापानलगायत विदेशबाट फर्केका फेदिखोले बरालहरुले एउटा प्रतिज्ञा गरे,जसरी भएपनि घनश्याम सुवेदीलाई ढलाउने । २०७४ मै पालिका अध्यक्षको दावी गरेका लक्ष्मीप्रसाद बरालले नपाएपनि २३ पौष ०७८ मा सम्पन्न नेकपा एमाले स्याङ्जा जिल्ला अधिवेशनबाट भने जिल्ला कमिटी सदस्यमा निर्वाचित भए ।

जिल्ला सदस्यमा आएका बरालले पुन गाउँपालिकाको टिकट दावी गरे । तर पार्टीले एकपटक २०७४ कै अध्यक्ष घनश्याम सुवेदीलाई नै दोहोर्याउने छनक प्रष्ट भएपछि बराल कांग्रेस प्रवेश गरी टिकट हात पारे । पुसमा एमाले नेता बनेका बराललाई चैतको अन्तिमतिर एमालेले कारबाही गर्यो । कूल पूजामा जम्मा भएका बराल परिवारले कूलकै प्रतिष्ठाको विषय भएकोले एमाले भए पनि लक्ष्मीप्रसाद बराललाई भोट हाल्नुपर्ने ह्विप जारी भो ।

फेदिखोला गाउँपालिकामा एमाले इन्चार्ज थिए पुष्पराज बराल, लक्ष्मीप्रसादका आफ्नै दाइ। सुवेदी अर्कै पार्टीका मान्छे भएपनि आफ्नै भाइ अध्यक्षको प्रत्यासी भइरहँदा असहयोग गर्ने कुरा भएन ।  पाँचदलीय गठबन्धन छँदैछ ।

त्यसमा पनि एमालेका पालिका हस्ती बरालतिर फर्केपछि सुवेदीलगायत एमाले उम्मेदवार पराजित हुन कुनै आइतवार थिएन । एमालेको चुनावी रणनीति मात्रै हैन बैठकको माइन्युटसमेत कांग्रेस उम्मेदवारकोमा पुग्नथाल्यो । पाँचवटा वडा भएको फेदिखोलाको चारवटा वडा गन्दासमेत घनश्याम लामै अन्तरले पछाडि थिए । गठबन्धन दल एमालेभन्दा पनि घनश्याम ढल्ने भयो भनेर ढुक्क थिए ।

सात सयभन्दा बढी एमालेको मत कांग्रेसका लक्ष्मीप्रसाद सुवेदीलाई परेपनि अन्तिममा गन्न बाँकी १ नम्बर वडाको मतले १ सय ३२ मतान्तरबाट सुवेदीले बराललाई पराजित गरे । सुवेदीले ३ हजार ८३६ मत प्राप्त गर्दा बरालले ३ हजार ७०४ ल्याए ।

उपमेयरमा एमालेकै देवीकुमारी गुरुङले माओवादीका शिवप्रसाद पराजुलीलाई १५ सय ९९ मतले हराइन् । पराजुलीको २३ सय ७९ मत ल्याउँदा गुरुङले ३९७८ प्राप्त गरेकी थिइन् । तिनै सुवेदीले ०७४ को स्थानीय निर्वाचनमा कांग्रेसका तारापति सुवेदीलाई भने २ हजार ४६ मतले पराजित गरेका थिए । सुवेदीले ३८ सय ६ मत प्राप्त गर्दा पराजित अर्का सुवेदीले १७ सय साठी मात्र पाएका थिए ।उता,पार्टी केन्द्रीय सचिव तथा गण्डकी प्रदेश सचिव पद्मा अर्यालको जोडबलमा गल्याङ नगरपालिकाको मेयर प्रत्यासी बनेका नेकपा एमालेका स्याङ्जा अध्यक्ष सूर्यप्रसाद गैह्रे पारस ६९९ मतले पराजित भए । अघिल्लो निर्वाचन्मा एमालेले मेयर,उपमेयरसहित बहुमत जितेको गल्याङमा एमालेले प्रमुख,उपप्रमुख दुवै गुमायो ।

०७४ मा एमालेका भुपराज अधिकारीसंग कांग्रेसका लालगोपाल अर्याल २३ सय ६ मतले पराजित भएको गल्याङमा एमालेका अहिले अध्यक्ष नै पराजित हुन पुगे । उपमेयरमा भने जम्मा ६३ मतले कांग्रेसकी हेमा न्यौपानेले एमालेकी देवीसरा थापालाई पराजित गरेकी थिइन् ।

लाजमर्दो कुरा त एमाले सचिव पद्ममा अर्यालका श्रीमान लक्ष्मीपति पौडेल ५ सयको अन्तरले २६ बर्षे ठिटो सम्भव अर्यालसंग वालिङ नगरपालिकाको वडा सदस्यमै पराजित भए। जिल्ला समन्वय समिति स्याङ्जाको प्रमुख बनाउने योजना त्यसै तुषारापात भयो । पद्मा यस्तै कारणले पनि स्याङ्जामा निकै आलोचित छिन् । पद्माका पति सदस्यमा पराजित भएपनि वालिङ नगरपालिकामा एमालेका मेयरले विजय हासिल गरे ।

चर्चित मेयर दिलीपप्रताप खाँणलाई एमालेका कृष्ण खाँणले २१ सय ८३ मतको अन्तरले पराजित गरे । उपमेयरमा भने कांग्रेसकी कविता तिवारीले एमालेकी खगिसरा थापा मगरलाई ४८२ मतले पराजित गरिन् । ११ स्थानीय निकाय रहेको स्याङ्जामा वालिङ,आँधीखोला,कालीगण्डकी, फेदिखोला,बिरुवा,हरिनास गरी छ स्थानीय निकायमा एमाले विजयी भएको छ भने बाँकीमा गठबन्धनले विजय प्राप्त गरेको छ ।

-अञ्जनकुमार

टिप्पणीहरू