समयमा पाठ्यपुस्तक नछापिँदा विद्यार्थी मर्कामा, शिक्षा मन्त्रालय र सरोकारवाल बेखबर

समयमा पाठ्यपुस्तक नछापिँदा विद्यार्थी मर्कामा, शिक्षा मन्त्रालय र सरोकारवाल बेखबर

नयाँ शैक्षिक सत्र सुरु भइसकेको छ । हालसम्म पनि विद्यार्थीको हातमा पुस्तक पुग्न सकेको छैन । जेठ १ गतेबाट माथिल्लो कक्षामा उक्लेका विद्यार्थीहरुले अझै पनि पाठ्यपुस्तक पाउन सकेका छैनन् ।

सरकारले नै पाठ्यपुस्तक छपाईमा हेलचेक्रयाईं गरेको बुझिएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले सूचना जारी गरेर कक्षा ४ देखि १० सम्मको पाठ्यसामग्री बिक्रीवितरण सुरु गरेको जानकारी दिएको छ ।

तर, अहिलेसम्म पनि उपत्यकाकै विद्यालयमा पुस्तक पुग्न सकेको छैन । हिमाली र दुर्गम जिल्लामा पाठ्यपुस्तक कहिले पुग्ने हो निश्चित छैन् । पाठ्यपुस्तक नहुँदा विद्यार्थी मर्कामा परेका छन् । पुरानै किताब खोजेर पढ्नुपर्ने बाध्यता जाइलागेको छ । विद्यालय खुलैकै पहिलो दिन पुस्तकको व्यवस्था गर्नुपर्नेमा विद्यार्थीहरु पुस्तकविहीन छ ।

विद्यालय सञ्चालनमा आएपनि समयमै पुस्तक हातमा नपर्दा विद्यार्थी निराश देखिएका छन् । सरकारी र निजी दुवै विद्यालयको उस्तै हालत छ । शैक्षिक सत्र सुरु हुनुभन्दा दुई महिनाअघि नै छापिसक्नुपर्ने पुस्तक निक्लिन र विद्यार्थीको हातसम्म पुग्न कति समय लाग्ने हो, निश्चित छैन । केन्द्रले कक्षा चारदेखि १० सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा पाएको छ । कक्षा एकदेखि तीनसम्मको पुस्तक छाप्ने जिम्मा निजी पव्किेसनलाई दिइएको छ ।

यता, केन्द्रका सूचना अधिकारी चित्रकुमार आचार्यले अधिकांश किताब छापिसकेको जानकारी गरेका छन् । पुरै सेट भने प्रकाशित नभएको उनले जनाएका हुन् । प्रकाशित भएको किताबसमेत लिन नआएको उनी बताउँछन् । ‘सबै जनालाई चुनाव लागेर होला, कोही पनि किताब लिन आएका छैनन्,’ उनी भन्छन् ।

स्थानीय तह निर्वाचनका निम्ति मतपत्र छाप्ने कार्यले किताब छाप्न केही समय ढिला भएको उनको तर्क छ । केन्द्रले अहिले पनि धमाधम पुस्तक छापिरहेको दाबी गरिएको छ गरिरहेको । छापिएको पुस्तक दुई दिनमा विभिन्न जिल्लामा पुग्ने केन्द्रले जनाएको छ ।

यता, सूचना अधिकारी आचार्यले दुर्गम जिल्लामा पुस्तक पुगिसकेको दाबी गरेका छन् । ‘हिमाली र दुर्गम जिल्लामा पाठ्यपुस्तक पुगिसकेको छ, त्यहाँ कुनै अप्ठ्यारो छैन,’ उनले भने । उपत्यकाकै विद्यार्थीहरुको हातमा पुस्तक नपुगेको बेला दुर्गममा पुग्यो होला ? शंका गर्ने प्रशस्त आधार छन् ।

हुम्लाको सिमकोट गाँउपालिकाका विद्यार्थी अझै पनि पुस्तकविहीन छन् । बालमन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाले हालसम्म पनि पुस्तक नपुगेको जनाए । पुस्तक एजेण्टहरुले वैशाख २४ गतेसम्म पाठ्यपुस्तक ल्याइदिने आश्वासन दिए पनि हालसम्म नल्याएको उनको भनाइ छ ।

‘पुरानै किताबाट जसोतसो पढाइरहेका छौं,’ उनी भन्छन् । कोरोनाको बेलामा पनि यति गाह्रो नभएको उनको ठम्याइ छ । यता, रुपन्देहीका विद्यालयहरुको हालत पनि उस्तै छ । त्यहाँका कुनै पनि विद्यालयमा पुस्तक पुगेको छैन । पहिलेका विद्यार्थीले प्रयोग गरेको पुस्तकको भर पर्नुपरेको शिक्षकहरुले बताएका छन् ।

सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि उसै पनि मारमा परेका विद्यालयलाई पाठ्यपुस्तकले थप तनावमा पारेको छ । पाठ्यक्रम पढाएर नसिद्धिने हो कि भन्ने पीरले शिक्षकहरुलाई सताएको छ । कोर्ष नै नसकिँदा विद्यार्थीहरु पनि समस्यामा पर्ने देखिएका छन् ।

तर, सरोकारवाला निकायलाई यसले केही प्रभाव पारेको छैन् । बेलैमा पुस्तक नपाँउदा विद्यार्थीले पाएको दुःखबारे शिक्षा मन्त्रालयलाई फरक नपरेको भन्दै अभिभावकहरु आक्रोशित भएका छन् । विद्यार्थीको हातमा कहिले पाठ्यपुस्तक पुग्ने हो ? यसको यकिन अन्दाजा लगाउन सक्ने अवस्था छैन् । जनक शिक्षाले जति नै पुस्तक छापेको दाबी गरेपनि विद्यार्थीले अहिलेपनि पुस्तकविहिन छन् ।

सरकारले मतपत्रभन्दा पनि पाठ्यपुस्तकलाई प्राथमिकता दिनुपर्ने हो । समयमै कक्षा सञ्चालन गर्न नपाउँदा परीक्षामा हुने असहजताबारे सरोकारवाला निकायले किन सोचेनन् ? सर्वत्र चासोको विषय बनेको छ । जनक शिक्षाले नभ्याएको भए कुनै निजी मुद्रकलाई पुस्तक छाप्ने जिम्मा दिएको भए पनि हुन्थ्यो भन्ने जिज्ञासा उठ्न थालेको छ । पाठ्यपुस्तक बन्दोबस्तमा जुट्नुपर्ने शिक्षा मन्त्रालयले लापरवाही गरेको ठहरसमेत गरिएको छ ।

सरोकारवाला निकायले बेलैमा यस विषयमा विचार नपुर्याएको भनेर औंला ठड्याइएको छ । सरकारले राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ तयार गरी शैक्षिक सत्र २०७७ देखि शैक्षिक सत्र २०८० कक्षा १ देखि १२ सम्म नयाँ पाठ्यक्रम लागु गर्ने निर्णय गरेको थियो । सोहीअनुरुप यही शैक्षिक सत्र २०७९ मा कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यक्रम लागु हुँदैछ । जसका कारण यी कक्षाको पुस्तक प्रकाशित हुन थप समय लाग्ने देखिएको छ ।

टिप्पणीहरू