नेपाल र चीनबीच दुई वटा सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच दुई वटा सम्झौतामा हस्ताक्षर
सुन्नुहोस्

नेपाल र चीनबीच मानव संशाधन विकास र बोनम्यारो प्रत्यारोपणसम्बन्धी दुई सम्झौतामा हस्ताक्षर भएको छ । आज अर्थ मन्त्रालयमा आयोजित एक समारोहबीच अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा नेपालका तर्फबाट अर्थसचिव मधुकुमार मरासिनी र स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल तथा चीनका तर्फबाट चाइना इन्टरनेशनल डेभलेपमेण्ट को–अपरेशन एजेन्सीका प्रमुख लियु झाओ हुईले सम्झौतामा हस्ताक्षर गरेका हुन् । चाइना इन्टरनेशनल डेभलेपमेण्ट चीनको वैदेशिक सहायता रणनीति मापदण्ड तय गर्ने, सोसम्बन्धी नीति र योजना बनाउने तथा वैदेशिक सहायतासम्बन्धी सुधारका एजेण्डामा काम गर्दै आएको संस्था हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गत असोजमा सम्पन्न भ्रमणका क्रममा चीनले नेपालमा बोनम्यारो प्रत्यारोपण सेवाका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएअनुरुप नै स्वास्थ्य मन्त्रालय र चिनियाँ एजेन्सीबीच सम्झौता भएको जनाइएको छ । सम्झौताअनुसार चीनले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनका लागि सहयोग गर्नेछ । त्यसका लागि संरचना निर्माणदेखि चिकित्सकलाई सैद्धान्तिक र प्राविधिक तालिमसम्मका लागि चीनले आर्थिक सहायता उपलब्ध गराउने सहमतिपत्रमा उल्लेख छ । 

हस्ताक्षर कार्यक्रममा बोल्दै अर्थमन्त्री पुनले चीनले नेपालको विकासमा निरन्तर सहयोग गर्दै आएकोमा धन्यवाद व्यक्त गर्नुका साथै आगामी दिनमा सहयोग बृद्धि हुने अपेक्षा गरेको बताउनु भयो । उहाँले चीनका राष्ट्रपति सि जिनपिङले पाँच वर्षअघि गरेको नेपाल भ्रमणले द्विपक्षीय सम्बन्धलाई उचाईमा पुर्याएको उल्लेख गर्नुभयो । 

उच्चस्तरीय भ्रमणमा भएका द्विपक्षीय सम्झौताहरु कार्यान्यवन हुन बाँकी रहेको जनाउँदै अर्थमन्त्री पुनले कार्यान्वयनमा जोड दिने पनि बताउनुभएको छ ।

चाइना इन्टरनेशनल डेभलेपमेण्ट को–अपरेशन एजेन्सीका प्रमुख लियु झाओ हुईले नेपालसँग विश्वव्यापी विकास प्रयासका लागि मानव संशाधन विकास सहयोगसम्बन्धी र बोनम्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता र लगानी सम्मेलनमा सहभागिता जनाउनको लागि नेपाल आएको बताउनु भयो । उहाँले पछिल्लो समय नेपालको अर्थतन्त्रमा सुधार हुँदै गएको र गत वर्ष १० लाख पर्यटक भित्र्याउन सफल भएकोमा खुशी व्यक्त गर्नुभयो । 

उहाँले चीन सरकारले गर्ने सहायता र अनुदान लगायतका सहयोग आदानप्रदानलाई निरन्तरता दिँदै जानेमा विश्वास व्यक्त गर्नुभयो ।

टिप्पणीहरू