इलाम र बझाङमा सार्वजनिक यातायात चल्ने, मतदाता ओसार्न नपाइने

इलाम र बझाङमा सार्वजनिक यातायात चल्ने, मतदाता ओसार्न नपाइने

निर्वाचन आयोगले उपनिर्वाचनमा मतदाता ओसारपसारमा प्रयोग नगर्ने गरी सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ । यसअघिका निर्वाचनमा अत्यावश्यक सेवा र आयोगबाट सवारी पास जारी भएका गाडीहरु मात्र सञ्चालन गर्न दिइन्थ्यो । तर, यसपटक भने मतदाताको सुविधाका लागि मतदाता ओसारपसार नगर्नेगरी सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरिएको छ । 

आयोगले मतदाताको सहज आवागमनका लागि सार्वजनिक यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न यसअघि नै सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छ । त्यो समेतका आधारमा मतदानको दिन सवारीसाधन सञ्चालन गर्न गृह मन्त्रालयमार्फत् सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइने जनाइएको छ । 

आयोगका अनुसार उपनिर्वाचनको दिन बिरामी बोकेको एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दुध बोक्ने सवारीसाधन, दमकल, सञ्चारगृहबाट जारी गरिएका परिचयपत्रबाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारीसाधन, दूरसञ्चार तथा केबल सेवाका लागि प्रयोग हुने सवारीसाधन सञ्चालन गर्न दिइनेछ । 

त्यस्तै, शव वाहन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारीसाधन, निर्वाचन आयोगबाट जारी परिचयपत्र बाहक पर्यवेक्षक, अनुगमनकर्ताले प्रयोग गर्ने तथा फोहोरमैला ओसारपसार गर्ने सवारीसाधन पनि सञ्चालन हुन पाउने छन् । 

तरकारी, फलफूल तथा विद्युत सेवाका लागि प्रयोग हुने, कूटनीतिक नियोग, युएन एजेन्सी तथा द्धिपक्षीय एंव बहुपक्षीय विकास साझेदार संस्थामा कार्यरत पदाधिकारी–कर्मचारीले प्रयोग गर्ने निलो नम्बर प्लेट तथा विदेशी पर्यटक मात्र बोक्ने हरियो नम्बर प्लेटको सवारीसाधन पनि सञ्चालन हुन पाउने आयोगले जनाएको छ । 

आयोगले सुरक्षाकर्मीले प्रयोग गर्ने तथा आफू खटिएको मतदान केन्द्रसम्म जान र फर्किन कर्मचारी, स्वयंसेवकले प्रयोग गर्ने सवारीसाधन पनि चल्न पाउने बताएको छ । 

सम्बन्धित क्षेत्रका मतदातालाई मतदान केन्द्रसम्म सहज आवागमनको लागि सार्वजनिक यातायातको उपयुक्त प्रबन्ध मिलाउने, उम्मेदवार वा निजको एक जना प्रतिनिधिले मतदानको एउटा सवारीसाधन अनुमति लिएर प्रयोग गर्न सक्ने समेत जानकारी दिएको छ । 

सम्बन्धित जिल्लासँग जोडिएका राष्ट्रिय राजमार्ग र सहायक राजमार्गमा सार्वजनिक यातायातका साधनको आवागमनको उपयुक्त व्यवस्था मिलाउने र मतदानको दिन कसैले निर्देशनविपरीत सवारीसाधन प्रयोग गरेको पाइएमा सुरक्षा निकायबाट जफत गरी मतदान सम्पन्न भएपश्चात मात्र फिर्ता दिने व्यवस्था गरिने पनि आयोगले जनाएको छ । 

इलामको निर्वाचन क्षेत्र नम्बर २ र बझाङको निर्वाचन क्षेत्र नम्बर १ (१) मा भोलि उपनिर्वाचन हुँदै छ ।
 

टिप्पणीहरू