केपीलाई प्रकाशमानको जवाफ : १३९ नम्बरको बुँदामा छ !

केपीलाई प्रकाशमानको जवाफ : १३९ नम्बरको बुँदामा छ !

नेपाली काँग्रेसका सांसद प्रकाशमान सिंहले संघीय संसदमा प्रस्तुत सरकारको वार्षिक नीति तथा कार्यक्रममा सीमा विवाद समाधानका लागि पहल गर्ने उल्लेख रहेको बताउनुभएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रममा भारतद्वारा अतिक्रमित भूभाग कालापानी–लिपुलेक–लिम्पियाधुरा फिर्ता ल्याउने प्रतिबद्धता नरहेको भन्दै आलोचना गरेपछि त्यसको जवाफमा सांसद सिंहले यस्तो बताउनुभएको हो ।

नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्नेक्रममा उहाँले १३९औँ बुँदामा छिमेकी राष्ट्रसँगको सीमा विवाद समाधान गर्ने उल्लेख रहेको कुरा ओलीलाई सुनाउनुभएको हो ।

ओलीले भारतीय अतिक्रमणमा परेका भूभाग फिर्ता ल्याउनेबारे नीति तथा कार्यक्रम मौन रहेको आरोप लगाएपछि त्यसैलाई लिएर एमालेका सांसदहरूले सरकारको आलोचना गरेका थिए ।

यसपछि छलफलमा सहभागी हुनुभएका सांसद सिंहले नीति तथा कार्यक्रममा सीमा विवाद समाधान गर्ने समेटिएको दाबी गर्नुभएको हो । ‘नीति तथा कार्यक्रमको १३९औँ बुँदामा ऐतिहासिक सन्धि, नक्सा, तथ्यका आधारमा कूटनीतिक माध्यमबाट सीमा सम्बन्धमा बाँकी रहेका विषयमा समाधान गरिनेछ उल्लेख छ,’ उहाँले भन्नुभयो ।

टिप्पणीहरू