अमेरिकी राजदूत ११ जनाको टोलीसहित जोमसोममा, भारतीय कार्यवाहक राजदूत पोखरामा

अमेरिकी राजदूत ११ जनाको टोलीसहित जोमसोममा, भारतीय कार्यवाहक राजदूत पोखरामा

अमेरिकी राजदूत रेण्डी बेरी ११ जनाको टोली लिएर मुस्ताङको जोमसोम पुग्नुभएको छ । उहाँ तारा एअरको उडानमा सोमबार बिहान पोखराबाट त्यहाँ जानुभएको हो । हिजो भारतीय दूतावासका कार्यवाहक राजदूत नामग्या सी खम्पा यति एअरलाइन्सको उडानमा बिहान ११ बजे पोखरा जानुभएको हो ।

सोमबार बिहान अल्टिच्युड एअरको हेलिकप्टरमा पर्यटन तथा संस्कृतिमन्त्री प्रेमबहादुर आले मगर पाँच जनाको टोली लिएर लुक्ला जानुभएको थियो । उता जापानबाट पूर्वाधार मन्त्रालयका तीन सदस्यीय प्रतिनिधिमण्डल सोमबार काठमाडौं आएको छ । हिरोयुकी फुकुओकाको नेतृत्वमा आएको प्रतिनिधिमण्डल सोमबार दिउँसो नेपाल वायुसेवाको उडानमा नारिताबाट आएको हो ।

त्यहि दिन साँझ कतार एअरवेजको उडानमा दोहाबाट नेपाली सेनाका बलाध्यक्ष रथी सरोज प्रताप राणा स्वदेश फर्किएको विमानस्थल स्रोतले बताएको छ । उक्त उडानमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एक नारायण अर्यालसहितको चार सदस्यीय टोली पनि स्वदेश फर्केको हो ।

दुबईबाट फ्लाई दुबईको उडानमा नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूतका छोरा डा. सलिम अल सलिम पनि काठमाडौंमा उत्रिएका हुन् । हिजो नेपाली सेनाको हेलिकप्टर एमआई १७ एनए ०५६ को उडानमा काठमाडौंबाट उपरथी प्रदिपजंग केसीसहित १० जना यात्रु, चार जना चालक दलका सदस्य र झण्डै १५ सय केजी कार्गो बिहान सबेरै सोलुखुम्बु लगिएको छ । पछि उक्त हेलिकप्टर पौने १० बजे राजधानी फर्केको थियो ।

टिप्पणीहरू