जति मिलाउन खोज्दा पनि जेलिएको यौन दुर्व्यवहार

जति मिलाउन खोज्दा पनि जेलिएको यौन दुर्व्यवहार

शिक्षकबाटै विद्यार्थी असुरक्षित भएको घटना सार्वजनिक भएपछि मकवानपुरको बागमती गाउँपालिका–८ फापरबारीस्थित जनता माध्यमिक विद्यालयका विद्यार्थीले आन्दोलन र तोडफोड गरे । केही दिनअघि विद्यालयमा तोडफोड र आन्दोलन भइरहँदा यौन दुर्व्यवहारको आरोप लागेका तीन जना शिक्षक भने फरार थिए । विद्यालय प्रशासनले भनेको थियो–‘उहाँहरू बिदामा बस्नुभएको छ ।’

विद्यालय प्रशासनमा पटक–पटक ती शिक्षकविरुद्ध उजुर गरिए पनि कुनै चासो नभएपछि विद्यार्थीले आन्दोलनमा उत्रनुपरेको हो । आरोप लागेका शिक्षक लोकबहादुर बिक, रुद्रबहादुर बिक र हेमबहादुर बिकले कक्षा ४ देखि ८ कक्षासम्म पढ्ने छात्रालाई घुमाउन लैजाने भन्ने प्रलोभन देखाउने, संवेदनशील अंग छुने, यौनजन्य आशय प्रस्तुत गर्ने गरेका घटना विद्यार्थीले सार्वजनिक गरेका थिए । त्यस्ता कुरा अरूलाई भनिएमा ‘ठीक’ नहुने भन्दै तीन जना शिक्षकले निरन्तर १५ जना छात्रालाई केही समयदेखि दुर्व्यवहार गर्दै आएको आरोप लागेको छ ।

यसरी विद्यालय नै तोडफोड गर्नेगरी भएको घटनालाई गाउँमै मिलाउने प्रयत्न भएको र विद्यालय प्रशासन पनि दोषीलाई कारबाही गर्न अनिच्छुकजस्तो देखिएपछि कानुनी दायरामा ल्याइएको छ । बालबालिकाको क्षेत्रमा कार्यरत सिविन बाल हेल्पलाइन, राडो नेपाललगायत गैरसरकारी संस्था र नागरिक समाजको साथ–सहयोगपछि कानुनी प्रक्रियामा मुद्दा अघि बढाउन थप बल पुगेको छ ।

सोहीअनुरूप अभिभावकले चैत २४ गते प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएपछि प्रक्रिया अघि बढेको हो । बिदामा बसेका र फरार भनिएका तीनै जना शिक्षक जाहेरी दर्तापछि इलाका प्रहरी कार्यालय फापरबारीको सम्पर्कमा आउनासाथ हिरासतमा राखी अनुसन्धान प्रक्रिया अघि बढेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू