निलम्बित प्रधानन्यायाधीशको कागजात झिकाउन सर्वोच्चको आदेश

निलम्बित प्रधानन्यायाधीशको कागजात झिकाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणविरुद्धको महाअभियोग प्रस्तावसँग सम्बन्धित कागजातहरू झिकाउन आदेश दिएको छ । महाभियोगविरुद्ध परेको रिटउपर प्रारम्भिक सुनुवाई गरेपछि सर्वोच्चको संवैधानिक इजलासले कागजात मागेको हो ।

राणामाथि संसदमा पेश भएको महाअभियोग प्रस्तावसँग सम्बन्धित सम्पूर्ण कागजातहरू संघीय संसद सचिवालयबाट झिकाउने आदेश गरिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

गत फागुन १ गते राणाविरूद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता गरिएको थियो । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९८ जना सांसदले हस्ताक्षर गरेर संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएका हुन् ।

त्यसविरुद्ध अधिवक्ताहरू डा. पुण्यप्रसाद खतिवडा र दीपकविक्रम मिश्रले फागुन ११ गते सर्वोच्चमा रिट दायर गरेका थिए । महाअभियोग प्रस्तावविरुद्ध अन्तरिम आदेश जारी गर्दै बदर गराई पाउँ भन्दै उनीहरूले दायर गरेको रिटमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की नेतृत्वको संवैधानिक इजलासमा आज प्रारम्भिक सुनुवाइ भएको हो ।

टिप्पणीहरू