बागमती प्रदेशका सर्वसाधारणलाई काठमाडौंबाटै राष्ट्रिय परिचयपत्रको सुविधा

बागमती प्रदेशका सर्वसाधारणलाई काठमाडौंबाटै राष्ट्रिय परिचयपत्रको सुविधा

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउने कार्यक्रमलाई थप व्यवस्थित र मर्यादित बनाएको छ । राष्ट्रिय परिचयपत्र बनाउन आउनेलाई छिटोछरितो सेवा दिन प्रशासनले भोलिदेखि आवश्यक कागजात लिइ आउने बागमती प्रदेशका सबैलाई उक्त सुविधा दिन लागेको हो ।

प्रशासनले स्पष्ट मिति, समय र स्थान खुलेको राष्ट्रिय परिचयपत्रको अनलाइन आवेदन फाराम, नागरिकताको सक्कल प्रमाणपत्र, विवाहितको हकमा विवाह दर्ताको सक्कल प्रमाणपत्र, एकल तथा सम्बन्ध विच्छेदको हकमा सो खुल्ने सक्कल प्रमाणपत्र, जन्ममिति नखुलेको नागरिकता प्रमाणपत्र भएमा उमेर खुल्ने सरकारी अन्य कागजात वा सक्कल शैक्षिक प्रमाणपत्र लिएर जानुपर्ने छ ।

त्यसैगरी, बसार्इंसराई गरी आएकाको हकमा सोको सक्कल दर्ता प्रमाणपत्र, बसाईं सरेर काठमाडौं आएकाको हकमा नागरिकता प्रमाणपत्र जारी भएको जिल्लाबाट नागरिकताको अभिलेख प्रमाणित गरेको हुनुपर्ने प्रशासनले जनाएको छ ।

यसअघि राहदानी जारी भइसकेको भए सोको सक्कल कपीसमेत मागिएको छ । आवेदन फाराममा तोकिएको मितिभन्दा अगाडि फाराम स्वीकृत नगरिने प्रशासनले स्पष्ट पारेको हो ।

यो सुविधा उपत्यकाका ललितपुर र भक्तपुरबाहेक बागमती प्रदेशका दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर र काठमाडौंका सबैलाई दिइने छ ।

मधेश प्रदेशको हकमा भने धनुषा र पर्सा जिल्लाबाट उक्त सुविधा प्राप्त गर्न सकिने जानकारी दिइएको छ । यसअघि व्यवस्था गरिएको टोकन प्रणाली खारेज गरिएको छ ।

टिप्पणीहरू