कर्णालीका कार्यकर्तालाई एमसीसीबारे प्रचण्डको एक घण्टे प्रशिक्षण

कर्णालीका कार्यकर्तालाई एमसीसीबारे प्रचण्डको एक घण्टे प्रशिक्षण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पारित गर्नु पर्नाको कारणसहित त्यसबारे कार्यकर्तामाझ सविस्तार वर्णन गर्नुभएको छ । झन्डै एक घण्टा एमसीसीबारे बोल्नुभएका प्रचण्डले देश अस्थिरतामा जाने र प्राप्त उपलब्धि गुम्ने खतरा पैदा भएपछि अन्तिम अवस्थामा आफू एमसीसी अनुमोदन गराउन सहमत भएको दाबी गर्नुभयो ।

कार्यकर्ता प्रशिक्षणका लागि आज कर्णाली प्रदेशको राजधानी सुर्खेत पुग्नुभएका उहाँले एमसीसी परियोजना माओवादी नेतृत्वको सरकारका बेला सम्झौता भएको र त्यो बेला बाबुराम भट्टराई प्रधानमन्त्री भएपनि त्यसबारे पार्टीलाई कुनै जानकारी नगराएको बताउनुभयो । एमसीसी पारित गर्ने विषयमा अहिले गठबन्धन सहमत भए पनि त्यहाँ रहेका केही बुँदा सच्याउनुपर्ने अवस्था आएको प्रचण्डको भनाई छ । ‘हामी सबै एमसीसी पास गर्ने पक्षमा थियौं,’उहाँले भन्नुभयो, ‘त्यो सम्झौतामा भएको केही बुँदा सच्याउनु पर्छ भन्ने हाम्रो भनाई हो । अहिले व्याख्यात्मक टिप्पणीसहित एमसीसी सच्याइएको छ ।’

त्यस्तै,पार्टीको केन्द्रीय महाधिवेशन भएको लामो समयसम्म पदाधिकारी चयन गर्न नसकेको अवस्थामा प्रचण्डले एकल नेतृत्व गर्ने कार्यकर्तालाई संकेत दिनुभएको छ ।

प्रचण्डमाथि ढुङ्गा प्रहार भएको समाचार भ्रामक

जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रचण्डमाथि ढुङ्गामुढा प्रहार भएको समाचार गलत भएको जनाएको छ । सामाजिक सञ्जाल फेसबुकमा ‘प्रचण्डमाथि सुर्खेतमा ढुंङ्गा प्रहार, अवस्था गम्भीर’ भन्ने स्ट्याटस सार्वजनिक भएपछि खण्डन गर्दै कार्यालय भ्रममा नपर्न भनेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले आफ्नो फेसबुकमा लेखेको छ, ‘आज मिति २०७८ साल फागुन २७ गतेको दिन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिको आयोजनामा सञ्चालित राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न सुर्खेत आउनु भएकोमा हाल सामाजिक सञ्जालमा उहाँमाथि ढुङ्गा मुढा प्रहार भएको भनी समाचार तथा सूचना केही व्यक्ति तथा मिडियाले अनर्गल तथा आधा रहिन रूपमा सम्प्रेषण गरेको पाइएकोले यसमा कुनै पनि सत्यता नभएको ब्यहोरा अनुरोध गरिन्छ ।‘

साथै यस प्रकारका झुटा,भ्रमपूर्ण र शान्तिसुरक्षाको दृष्टिकोणले गम्भीर प्रकृतिका सूचनाहरू सम्प्रेषण गरिएको पाइएमा विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाही हुने प्रहरीले चेतावनीसमेत दिएको छ ।

टिप्पणीहरू