आकाशका हाकिमले सर्वोच्चको ढोका ढक्ढ्क्याए

आकाशका हाकिमले सर्वोच्चको ढोका ढक्ढ्क्याए

चार वर्षका लागि महानिर्देशक बनाइए पनि ५८ वर्षे उमेर हदका कारण अवकाश लिएर घर फर्किनुपर्ने स्थितिमा पुगेका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले दायर गरेको रिटमाथि आज सुनुवाई हुँदैछ । क्षेत्रीको मुद्दा सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा सुनुवाई हुन लागेको हो ।

सरकारले क्षेत्रीलाई गत कात्तिक ८ गते प्राधिकरणको महानिर्देशकमा नियुक्त गरेको थियो । तर अढाई महिना नपुग्दै पुस २३ गते ५८ वर्ष उमेर हदको कारण क्षेत्री अवकास लिनुपर्ने अवस्थामा पुगेका हुन् ।

प्राधिकरण ऐनमा महानिर्देशकको कार्यकाल चार वर्षको हुने उल्लेख छ । ऐनमा उमेर हदसम्बन्धी कुनै व्यवस्था नभएकाले उनले सोहीबमोजम माग गर्दै सर्वोच्चको ढोका ढकढकाएका हुन् । क्षेत्रीले दायर गरेको रिटमा अस्ति शुक्रबार अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

सोही आदेशअनुसार उनी आजसम्म पनि महानिर्देशकको पदमा बहाल छन् । अदालतले आज छलफलका लागि दुबै पक्षलाई झिकाएको छ ।

ऐनमा उमेरसम्बन्धी कुनै पनि व्यवस्था उल्लेख नगरिएकाले प्राधिकरणको १२ औं तहका कर्मचारी क्षेत्रीले रिट हालेका हुन् । यसअघि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २२ महिना महाप्रबन्धक थिए ।

टिप्पणीहरू