योगेशको जिल्लामा पनि ‘१० भाइ’ समूह चिप्लियो

योगेशको जिल्लामा पनि ‘१० भाइ’ समूह चिप्लियो

नेकपा एमालेमा ‘१० भाइ’ समूह भनेर चिनिएको पूर्वमाधव नेपाल समूहलाई जिल्ला नेतृत्व चयनमा किनारा लगाइएको छ । एमालेको जारी जिल्ला अधिवेशनहरुले अध्यक्ष केपी शर्मा ओली निकटहरुलाई नै अध्यक्षमा निर्वाचित गरेपछि सो समूह कर्नरमा परेको हो ।

अधिवेशन भएका ६१ मध्ये अधिकांश जिल्लाको नेतृत्व चयन सम्पन हुँदा ’१० भाइ’ समूहलाई सबैतिरबाट कर्नरमा पारिएको छ । मुश्किलले दुई जिल्लामा मात्र १० भाइ समूहकोतर्फबाट अध्यक्ष निर्वाचित भएका छन् । यसैबीच पूर्वमन्त्री तथा केन्द्रीय सचिव योगेश भट्टराईको गृहजिल्ला ताप्लेजुङमा उनी निकट उम्मेदवार अध्यक्षमा नै पराजित भएका छन् ।

सहमतिबाटै नेतृत्व छान्ने प्रयास असफल भएपछि त्यहाँ निर्वाचन भएको थियो । निर्वाचनको परिणाम भट्टराईको विपक्षमा आएको छ । उनको समर्थन पाएका निवर्तमान अध्यक्ष बलबहादुर साम्सोहाङ संस्थापनका भुपेन्द्र थेबेसँग पराजित भएका हुन् ।

प्यानल नै बनाएर भएको निर्वाचनमा उपाध्यक्ष सन्तोष खतिवडा र उपसचिव दिपेन्द्र पोमुले थेबे टिमबाट निर्वाचित हुँदा साम्सोहाङको टिमका सचिव केशर मेन्याङ्बो र उपसचिव मणि पोमुले जितेका छन् ।

नेकपा विभाजनपछि योगेशसँगै साम्सोहाङ पनि प्रचण्ड–माधव समूहमा गएका थिए । त्यसपछि केपी ओली पक्षले थेबेलाई अध्यक्ष बनाएको थियो । १० बुँदे सहमतिपछि योगेशसहित तत्कालीन स्थायी कमिटीका १० भाइ एमालेमै बसेपछि साम्सोहाङलाई संयोजक र थेबेलाई सहसंयोजक बनाएर जिल्ला अधिवेशन आयोजक कमिटी गठन भएको थियो ।

टिप्पणीहरू