कोरोना संक्रमण घर सँघारमा, काठमाडौँमा अब झन कठिन

कोरोना संक्रमण घर सँघारमा, काठमाडौँमा अब झन कठिन

केही सातायता लगातार घटिरहेको कोरोना संक्रमण फेरि उकालो लागेको छ । पछिल्ला दिन दैनिक तीन सयको हाराहारीमा रहेको संक्रमितको संख्या आज झण्डै हजारमा आइपुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभर नौ सय ६८ कोरोना संक्रमित भेटिएका छन् । १४ हजार नौ सय ७१ जनामा नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित भेटिएको हो । थपिएकामध्ये काठमाडौंमा मात्रै दुई सय ८४ जना छन् । त्यस्तै,भक्तपुरमा २३ र ललितपुरमा ६२ जना संक्रमित थपिएका छन् ।

यो अवधिमा दुई सय ६२ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९७ दशमलव ९ प्रतिशत रहेको छ । यो सँगै मुलुकभर अझै पाँच हजार सात सय ४१ जना सक्रिय संक्रमित छन् ।

कोरोनाबाट आजसम्म मृत्यु हुनेको संख्या ११ हजार छ सय दुई पुगेको मन्त्रालयले जनाएको छ । आज भने कोरोनाबाट कसैले पनि ज्यान गुमाउनुपरेको छैन ।

प्राप्त आँकडाअनुसार गत २४ घण्टामा थपिएका संक्रमितमध्ये १४९ जना युवायुवती छन् भने ५६ जना किशोर किशोरी रहेका छन् । त्यस्तै, ११ वर्षमुनिका १३ जना संक्रमित थपिएका छन् । ३३ जना बृध्दबृद्धामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा अझै एक हजार चार सय ५४ जना सक्रिय संक्रमित छन् । त्यसैगरी भक्तपुरमा पाँच सय ६२ र ललितपुरमा छ सय ६४ जना संक्रमित छन् ।

आज थप २४ जनामा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन देखिएको छ । पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएका सबै २४ वटा नमूनामा ओमिक्रोन पुष्टि भएको हो ।

टिप्पणीहरू