काँग्रेस नेतालाई पेस्तोल ताकेको आरोपमा एसपीमाथि कारवाहीको माग

काँग्रेस नेतालाई पेस्तोल ताकेको आरोपमा एसपीमाथि कारवाहीको माग

नेपाली काँग्रेस सिरहाले जिल्ला प्रहरी कार्यालय सिरहाका तत्कालीन प्रमुख प्रहरी उपरीक्षक (एसपी) हिराबहादुर पाण्डेलाई फौजदारी अभियोगमा कारबाही गर्न सरकारसँग माग गरेको छ ।

काँग्रेस जिल्ला सभापति रामचन्द्र यादवको धनगढीमाई नगरपालिका–९, जिरोमाइलस्थित घरमै अस्ति मध्यराति पुगेर एसपी पाण्डेले अमर्यादित गालीगलौज गर्दै गोली प्रहार गरी हत्या गर्ने धम्की दिएको भन्दै उनलाई कारबाही गर्न काँग्रेसले माग गरेको हो ।

जिल्ला कार्यसमितिका सभापति रामचन्द्र यादव र सचिव उपेन्द्रकुमार यादवको संयुक्त हस्ताक्षरमा जारी गरिएको विज्ञप्तिमा एसपी पाण्डेले सभापति यादवलाई ‘तिमीले मलाई सरुवा गरायौ, म तिमीलाई गोली ठोकेर मारिदिन्छु’ भन्दै पटक पटक पेस्तोल तेर्साएको उल्लेख छ ।

मादक पदार्थसमेत सेवन गरेर ज्यान मार्ने धम्की दिएका एसपी पाण्डेलाई प्रहरीहरूले नै गाडीमा हालेर लगेको विज्ञप्तिमा भनिएको छ ।

प्रहरीले कात्तिक ११ गते किसन धामीलाई गोली हानी हत्या गरेको अभियोगमा केही दिनअघि सुशील यादव र प्रमोद यादवलाई पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरूलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

एसपी पाण्डेले भने अभियुक्तलाई समातेपछि यादवले छोड्न आफूलाई दबाब दिएको बताए । तर, सरुवाको विषयलाई लिएर आफू यादवको घरमा नपुगेको उनको दाबी छ ।

टिप्पणीहरू