कलाकारका नाममा कति होलान् यस्ता कलंक

कलाकारका नाममा कति होलान् यस्ता कलंक

जो अगुवा उही बाटो …. शैलीमा अगुवाहरुले नै बाटो बीराउँदै हिँडेपछि दुनियाँले तिनलाई थुक्ने नै भए । समाजले मानेका एक अग्रज कलाकर्मीले एक चेलीको जिन्दगी लुटेरे घर न घाटको बनाइदिएका छन् ।

सरस्वतीको कृपाले गीतकार/गायक/संगीतकार बनेका समाजका ‘आदर्श’ कहलिएकाहरुको भित्री पाटो हो । जसले अरुका घरमा डढेलो सल्काए । रस आउन्जेल चुसे र रस निख्रिएपछि कागती झैं निचोरेर दोबाटोमा फालिदिए । हामीकहाँ त कलाकारका नाममा यस्ता कलंकहरु कति होलान्, कति ।

कला र साहित्यको विद्यार्थी हुँ । पुतलीसडस्थित एउटा गल्र्स होस्टलमा बस्दै आएको छु । एक जना अग्रज कलाकार छन् दोहोरो परिचय भएका । एक भेटमा उनैले प्रस्ताव गरे ‘मेरो एउटा बहिनीलाई पनि होस्टलमा राख्ने व्यवस्था मिलाइदेऊ न ।’ आदर्श मानिएका गीतकार, गायक वा गुरुकै हैसियतमा राखेका व्यक्तिले यति सानो कामका लागि प्रस्ताव गरेपछि नाइँनास्ती गर्न सकिन । आफूसँगै ती गायककी ‘बहिनी’लाई होस्टेलमा राख्ने व्यवस्था मिलाएँ । उनकी बहिनीलाई मैले पनि बहिनीकै नाता लगाएँ । हामी रुममेट भयौं ।

एक दिन, दुई दिन हुँदै हप्ता, महिना बिते । समय जसरी बित्दै गए । ती गीतकार र मेरो रुममेट प्रायश : जतिबेलै सामाजिक सञ्जालमा गफिरहेका, इतरिरहेका हुन्थें । म सोच्थें, एउटा दाइसँग जतिबेलै पनि सामाजिक सञ्जालमा लठारिनुपर्ने बाध्यता के होला ? साथीभाइ, आफन्तका अगाडि बहिनी नाता लगाइएकी महिला फेसबुकमा ‘हरियो’मा देख्ने बित्तिकै भिडियो कल हान्नुपर्ने वा गफिनुपर्ने ती गीतकार दाइको रहर होला कि बाध्यता ? अब यी प्रश्नले मेरा दिमाग रन्थनिँदै थिए । मनमा लाग्थ्यो, दाइ र बहिनी भन्ने त साथीभाइ, आफन्तहरुको बीचमा लगाउने साइनो मात्रै हो कि ? यी प्रश्न मनमा उठ्थे, मनमै बिलाउँथे ।

जब एक अर्काेमा खुल्न थाल्यौं । कुराकानी शेयर हुन थाल्यो उनी ती गीतकार विना जिउनै नसक्ने कुरा गर्न थालिन् । सदैव आफ्नै अगाडि यसरी लठारिएको मलाईचाहिँ पाच्य भएन । म आफैं पनि गीतकार, गीत लेखनका क्रममा, सिक्ने सिलसिलामा दर्जनौं पटक पुगेको छु ती गीतकारको घरमा । यो पल मैले बारम्बार सम्झिरहन्थें निर्दाेष भाउजूको अनुहार र स्नातक तह पढ्दै गरेका तिनका छोराको मुहार ।

उनी हरेक कोणबाट मभन्दा सिनियर । म त एउटा सिकारु, गीतकार, गायक । बामे सर्दै गरेको । केही बोलौं बोल्न अप्ठ्यारो, सहुँ सहनै सक्ने स्थिती मेरो थिएन । यस्तो बिलबिखन्दमा परेँ कि नभनौं भने पनि नहुने भनौं भने भन्न नसक्ने । उनी मसँगै होष्टलमा रहिन् करिब ६ महिना । होष्टलको नियम कडा हुन्थ्यो, मान्नेका लागि । आखिर नियम कानुन भन्ने चिज त जहाँ पनि मान्नेकै लागि न रहेछ !

उनी हरेक शुक्रवार हराउँथिन र शनिवार अबेर मात्रै कोठामा झुल्किन्थिन् । घर गएको भन्थिन् । हामी त्यहाँ रहँदा एउटा सहमति बनेको थियो कि दैनिकी डायरीमा उतार्ने र पछि एक अर्काेमा डायरी साटासाट गर्ने । ६ महिनापछि मलेसियाको भिषा लाग्यो । डायरी कोठामै छुटेछ । त्यही डायरीका पाना पढेर थाहा पाएकी हुँ ती गायकसँगको ‘रिलेशन ।’

पहिला आफ्नै घरमा डेरा गरी बस्ने केटासँग विवाह भएको रहेछ रुम मेट साथी विनिताको । नवलपरासी माइती भएकी उनी अलि महत्वकाँक्षी थिइन् । हुन त केपी ओलीदेखि ज्ञानेन्द्र शाहसम्म त्यही महत्वकाँक्षाका कारण ओरालोतिर लागेका छन् । उनको जिन्दगी पनि तहस नहस भएको हो त्यही उच्च महत्वकाँक्षाले । मान्छेलाई खाने र डढाउने यही महत्कांक्षा नै रहेछ ।

उनले डायरीमा उल्लेख गरेअनुसार, अरु केटीसँग आफ्नो लोग्ने हिँड्ने गरेको, कमाएको पैसा सबै सकाएको आरोपमा श्रीमानसँग सम्बन्ध विच्छेद भएको । सम्बन्ध विच्छेद गर्दा काखमा पाँच वर्षको छोरी थिइन् । अहिले छोरी नै दश बर्ष पूरा भइसकेकी छिन् । काखे छोरीलाई माइतीकै जिम्मा लगाएर उनी काठमाडौं आइन् र दिदीको शरणमा परिन् । काम केही थिएन । चञ्चले मन र वंैशले काउकुती लगाइरहन्थ्यो सायद । एक दिन फेसबुकबाट उनको फ्रेण्ड रिक्वेस्ट पठाइन् तिनै गायकलाइ ।

विनिताको नियति बत्तिको अगाडि पर्न गएको पुतलीकोझैं बनाइदिए गायकले । यहीँबाट सुरु भयो यो जोडीको रामकहानी । च्याटमा दिनरातै दुबै मस्त । फेसबुकमा उनले आफू ‘डाइहाई’ फ्यान भएकोले भेट्न मन लागेको सुनाइन् । भेट्नका लागि ‘भ्यालेन्टाइन डे’ प्रतिक्षा गर्नुप¥यो उनलाई । मनले खाएको गायक भेट्नका लागि दिदीको साथमा दरवारमार्गको एउटा रेष्टुराँमा पुगिन् ।

भ्यालेन्टाइन डे मा प्रेमी भेट्न पुगेको, त्यो पनि दिदीलाई साथ लगाएर । यही कारण चिढिए गायक । प्रेमिल भएन भ्यालेन्टाइन डे । तर पछिल्ला दिनहरुमा उनीहरुको भेटघाट बाक्लिँदै गयो । ती सेलिब्रेटी गायकको पुख्र्याैली घर भैरहवा हो । अहिले घरजम गरी बसेका छन् बालाजुतिर । साथमा छन् श्रीमती, व्याचलर पढ्दै गरेको छोरा ।

आफ्नो श्रीमतीप्रति विश्वासघात गर्ने, घरको हुँदाहुँदै बाहरवालीसँग सम्बन्ध राख्ने उनी अत्यन्त शंकालु स्वभावका । भेट भएको बेला प्रश्न गर्दा रहेछन् ‘तँैले अरु को को सँग कुरा गरिस् ? तेरो अरु को को बुङ्गासँग सम्बन्ध छ ?’ विनिता हृदयदेखि चाहन्थिन् ती गायकलाई । एक भेटमा गायकले प्रस्ताव गरे, यदि मलाई हृदयदेखि नै चोखो माया गर्छेस् र मबाहेक तेरो अरु कोही पुरुषसँग केही सम्बन्ध छैन, अरुलाई चाहन्नस् भने तेरो थाइमा मेरो नामको टाटु खोप् ।

उनी त हृदयदेखि चाहान्थिन्, भन्छन् नि पुरुषहरुले स्त्रीको हर क्षण, हर तरहबाट परीक्षण गरिरहेका हुन्छन् तर पुरुषको परीक्षण स्त्रीले कसरी गर्ने ? त्यही दिन उसले आफ्नो थाइमा गायकको नाम भएको टाटु बनाइन् त्यो पनि पर्मानेन्ट । शंकाको औषधि छैनन् भन्छन् नि । उनीप्रति अझैं विश्वास गरेनन् ती गायकले । जहाँ वा जहिले भेट्यो कि प्रश्न तेर्साइहाल्ने ‘तेरो को कोेसँग सम्बन्ध छ , को कोसँग कुरा गरेकी छेस् ?’ मोबाइल, एमएमएस, च्याट कन्भर्ससेसन हेर्ने । केही नभेटिए पनि किन डिलिट गरिस् भन्दै पिट्ने । यही बीचमा उनको मलेसियाको भिषा लाग्यो ।

त्यति धेरै शंका र अविश्वास गर्दा पनि उनी बारम्बार भन्थिन्, म म भएँभने उसैको हुन्छु नभए अब जीवन यत्तिकै कटाउँछु, एक्लै ।मलेसिया जाने समयमा यी दुईको सम्बन्ध पानी बाराबार भइसकेको थियो । अहिले दश वर्षको छोरीलाई माइतीमा छाडेर मलेसिया पुगेकी छे । दिन रात साझ बिहान नभनी काममा खटिन्छे । सुनेकी थिएँ महिलाहरु जसलाई प्रेम गर्दछन् उनीहरु आँखा चिम्लेर गर्दछन् अर्थात उसैमा सर्मपण हुन चाहन्छन । उनीहरु केवल मायाका भोका हुन्छन् ।

तर पुरुषहरु आँखा खोलेर प्यार गर्दछन् । उनीहरुको शरीरप्रति मात्रै हुन्छ । आज विनिताको जीवन कहानी नजिकबाट नियालिरहँदा मलाई लागिरहेको छ, नाम, दाम, समाजमा प्रतिष्ठा आर्जन गरेका यस्ता बोक्रे कलाकारहरु कति होलान् ? बाहिर एकाथरी र भित्री अर्कै थरी स्वरुप देखाउने राष्ट्रका गहना भनिएका यी कलाकार, कलाकार कम र कलंक बढी हुन् ।

भन्छन नि बोराको कुहिएको एउटा आलुले सिंगो बोराकै आलुलाई सडाउन वा कुहाउँन सक्छ । यस्तै कलाकारकै कारण हो, आज हामीजस्ता अनुजहरुलाई कलाकार हुँ भनेर हिंड्नसमेत लाज लाग्ने अवस्थामा पुगेको ।

-भावना शर्मा, गीतकार

टिप्पणीहरू