हारेकालाई भित्र्याउने, जितेकाबाट अभिषेक लिने ओली रणनीति

हारेकालाई भित्र्याउने, जितेकाबाट अभिषेक लिने ओली रणनीति

एमाले अध्यक्ष केपी ओलीमाथि लागेको मधेशविरोधी नेताको आरोप अद्यापि छ । संघीयता र समानुपातिक समावेशीजस्ता मधेश आन्दोलनले स्थापित गरेका मुद्दामा अनुदार रहेको भन्दै तराई–मधेशमा ओलीको चर्को आलोचना हुने गर्छ । मधेस आन्दोलनमा मारिएका मान्छेमाथि ओलीले गरेको टिप्पणीलाई लिएर त्यतिबेला उहाँको चर्को बिरोध पनि भएको थियो ।

तर, पछिल्लो समय केही मधेसवादी नेताहरु नै ओलीलाई मधेशमा बलियो बनाउन ज्यान फालेर लागेका छन् । मधेसी, आदिवासीलाई अपमान गरेको, संविधान संशोधनमा कठोर बनेको, संघीयताको विरोध गरेको जस्ता आरोप लगाइएका ओलीसँग कट्टर मधेशवादी भनिएका महन्थ ठाकुर र राजेन्द्र महतोको अघोषित गठबन्धन नै बनेको छ । उनीहरुले केही पहिले ओलीको सत्ता जोगाउन खुलेरै लागेका पनि हुन् ।

त्यसो त, महन्थ–राजेन्द्रको साथलाई ओलीले पनि मधेशमा गुमेको आफ्नो छबि सुधार्ने महत्वपूर्ण अवसरका रुपमा लिएको देखिन्छ । अन्तर्यमा आफ्नो सत्ता जोगाउने उद्देश्य भए पनि त्यतिबेला नागरिकता विधेयक ल्याएर मधेशको सहानुभूति लिने प्रयास गरिएको थियो । प्रतिनिधिसभा विघटनविरुद्ध बनेको पाँच दलीय गठबन्धन एकातिर हुँदा राष्ट्रिय राजनीतिबाट एक्लिएका ओली अहिले पनि मधेशी जनमत तान्ने प्रयासमा देखिन्छन् ।

एमालेले तराई–मधेसमा संगठन बलियो बनाउने अभियान नै थालेको छ । त्यसका लागि पार्टी प्रवेश कार्यक्रम चलिरहेका छन् । केही समय अगाडि एमालेको सांगठनिक धरातल कमजोर मानिएको बाँकेमा सूर्य चिन्हधारी एक समूह एमालेमा भित्रिएको थियो । आज फेरि कपिलवस्तुमा जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य मंगल गुप्तालाई एमाले प्रवेश गराइएको छ । उनलाई स्वागत गर्न ओली आफैँ मधेश झर्नुभएको हो ।

काँग्रेसबाट राजनीति शुरु गरेका गुप्तालाई गत २०७४ सालको निर्वाचनमा जसपाले कपिलवस्तु–३ बाट उम्मेदवार बनाएको थियो । तर, उनी काँग्रेसका उम्मेदवार अभिषेक प्रताप शाहसँग पराजित भएका थिए । त्यहाँ एमालेले भने स्वतन्त्र राजनीतिक समूहका नेता ईश्वरदयाल मिश्रलाई सूर्य चिन्हबाट भिडाएको थियो ।

रमाइलो कुरा के हो भने गत चुनावमा जसले गुप्तालाई हराएको थियो, उसैले ओलीलाई अभिनन्दन समेत गरेका छन् । चुनाव हारेका अर्का पार्टीका सांसदलाई एमाले प्रवेश गराउने र जितेका काँग्रेस सांसद अभिषेकबाट आफ्नो अभिनन्दन गराउने कार्यक्रम लिएर उहाँ आज कपिलवस्तु पुग्नुभएको हो ।

टिप्पणीहरू