कञ्चनपुरमा जंगली हात्तीको वितण्डा

कञ्चनपुरमा जंगली हात्तीको वितण्डा

जंगली हात्तीले गत शनिबार राति एक जनाको ज्यान लिएपछि कञ्चनपुर ढक्काका आरक्ष विस्थापित परिवार त्रसित बनेका छन् । जंगली हात्तीले झुपडी भत्काएर वितण्डा मच्चाउन थालेपछि शिविरमा बस्दै आएकाहरु आतंकित भएका हुन् ।

दैनिकजसो झुपडीमा जंगली हात्ती छिर्न थालेपछि शिविरमा बसोवास गर्ने परिवारले आफ्नो जीउधनको सुरक्षाको माग गरेका छन् । आफ्नो बाँच्न पाउने मौलिक अधिकारको सुनिश्चितताका लागि उनीहरुले सरकारसँग माग राखेका छन् । शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा विस्थापनमा परेका परिवारहरु पुनःस्थापनाको माग गर्दै ढक्कामा शिविर बनाएर बस्दै आएका छन् ।

आरक्ष छेउछाउ बस्दा जंगली हात्तीले दुःख दिन थालेपछि जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरले सबै कुराको जानकारी गराउँदै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । जंगली जनावरको आक्रमणबाट हुने क्षति रोक्न आवश्यक उपाय अवलम्बन गर्न समेत आग्रह गरिएको छ ।

रातको समयमा हात्तीले सताउन थालेपछि शिविरमा बस्दै आएका विस्थापित परिवार राति अन्यत्र सुत्न जान थालेका छन् । यसैबीच हिजो प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयलगायतको टोलीले हात्तीले मानवीय क्षति पुर्याएको ढक्का शिविर र बेलडाँडी क्षेत्रको अनुगमन गरेको छ ।

टिप्पणीहरू