बिराटनगरमा काँग्रेसकाे चुनावी भिडन्तको तयारी

बिराटनगरमा काँग्रेसकाे चुनावी भिडन्तको तयारी

-पूजा लम्साल

आजदेखि प्रदेश १ मा नेपाली काँग्रेसको प्रदेशस्तरीय अधिवेशन हुँदैछ । बिराटनगरमा दिउँसो २ बजे नेता कृष्ण सिटौलाले अधिवेशनको उद्घाटन गर्दैछन् । भोलि मनोनयन दर्ता र शनिबार निर्वाचन कार्यक्रम छ ।

एक हजार सात सय प्रदेश प्रतिनिधिसहित शुभेच्छुक संस्थाबाट १७ र भ्रातृ संगठनका १३ जना प्रतिनिधिले मतदान गर्ने प्रदेश १ को सभापतिमा संस्थापन र इतरपक्षबीच चुनावी प्रतिस्पर्धा चर्को हुने देखिएको छ ।

संस्थापन पक्षबाट झापाका उद्धव थापा सभापतिका दाबेदार छन् । उनलाई कृष्ण सिटौला समूहले पनि सर्मथन दिएको छ । सहमतिअनुसार बाग्मती प्रदेश सभापति देउवा पक्षले पाएमा प्रदेश १ मा सिटौला पक्षका थापा नै संस्थापन पक्षबाट सभापति पदका लागि एकल उम्मेदवार हुने बताइएको छ ।

उता इतरपक्ष पौडेल–कोइराला समूहबाट सुनसरीका राजीव कोइराला र मोरङका गुरुराज घिमिरेले सभापतिमा उम्मेदबारी घोषणा गरेका छन् । दुईमध्ये एक जनलाई मात्र उम्मेदवार बनाउन इतरपक्ष छलफलमा जुटेको छ । सकभर सुनसरीका पूर्वसभापति र प्रदेश १ संसदीय दलका नेता समेत रहेका राजीव कोइरालालाई केन्द्रीय सदस्य बनाएर नेविसंघका पूर्वसभापति गुरुराजलाई नै प्रदेश १ को सभापति बनाउने तयारी उक्त समूहको छ ।

यद्यपि देउवा समूहबाट मोरङका अमृत अर्याल र सिटौला समूहबाट शंखुवासभाका तारामान गुरुङ पनि सभापतिको आकांक्षी देखिएका छन् । तर उनीहरुको दाबीलाई रणनीतिका रुपमा मात्र बुझिएको छ ।

प्रदेश १ मा कति पदाधिकारी निर्वाचित ?

काँग्रेसको प्रदेश १ कार्यसमितिमा एक सभापति, २ उपसभापति, २ महामन्त्री, ३ सह–महामन्त्री (एक महिलासहित), हरेक जिल्लाबाट महिला १४ र खुला १४ सदस्य, प्रत्येक निर्वाचन क्षेत्रबाट ६ महिला र १३ खुला सदस्य, खसआर्यबाट महिला ७ र खुला ५, जनजातिमा महिला ७ र खुला ८, मधेशी महिला १ र खुला १, दलित महिला १ र खुला २, थारुतर्फ महिला १ र खुला १, मुस्लिममा खुला १, अल्पसंख्यक र अपांगमा १ जना सदस्य पदका लागि निर्वाचित हुनेछ ।

कुन जिल्लामा कुन गुटका सभापति विजयी ?

हालसम्म प्रदेश १ का १४ जिल्लामध्ये ७ जिल्लामा सस्थापन पक्ष, ६ जिल्लामा पौडेल–कोइराला पक्ष र एक जिल्लामा सिटौला पक्षका सभापति विजयी भएका छन् ।

प्रदेश १ मा देउवा गुटबाट उदयपुरमा हिमाल कार्की, गजेन्द्र तुम्याहाङ ताप्लेजुङ, रूपनारायण जबेगु पाँचथर, तेजेन्द्र खनाल ओखलढुङ्गा र डम्बर खड्का इलाम, दिनेश राई धनकुटा र नाम्गेल जाङबु शेर्पा सोलुखुम्बुको सभापतिमा निर्वाचित भएका छन् ।

वरिष्ठ नेता पौडेल र शेखर कोइराला पक्षबाट डिकबहादुर लिम्बु मोरङ, दीपक खड्का संखुवासभा, अर्जुनबहादुर तुम्बाहाम्फे तेह्रथुम, विष्णु राई खोटाङ र विनोद बान्तवा भोजपुर एवम् केदार भण्डारी सुनसरीको सभापतिमा विजयी भएका छन् । झापा सभापतिमा निर्वाचित देउमान थेवे सिटौला समूहका हुन् ।

को को छन् प्रदेश १ मा केन्द्रीय नेता ?

संस्थापन पक्षका केन्द्रीय नेताहरुमा पार्टी प्रवक्तासमेत रहेका झापाका विश्वप्रकाश शर्मा, भोजपुरका ज्ञानेन्द्रबाहदुर कार्की, उदयपुरका नारायण खड्का, मोरङका अमृत अर्याल, ओखलढुंगाका रामहरि खतिवडा, पाँचथरका भीष्मराज आङ्दम्बे देउवा निकट नेताहरु हुन् । संस्थापन इतरपक्षमा रहेका केन्द्रीय नेताहरु डा. शेखर कोइराला, मिनेन्द्र रिजाल, महेश आचार्य, सुजाता कोइराला, गुरुराज घिमिरे पनि प्रदेश १ कै हुन् । झापाका सिटौला अलग्गै समूहमा भए पनि उनी यस पटक संस्थापन पक्षमा प्याक हुँदै आएका छन् ।

टिप्पणीहरू