रक्तचन्दनको तेल ३३ लिटरको डेढ करोडबढी

रक्तचन्दनको तेल ३३ लिटरको डेढ करोडबढी

प्रहरीले ३३ लिटर रक्तचन्दनको तेल डेढ करोड रुपैयाँभन्दा बढीमा किनबेच गरिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्रेको छ ।

प्रहरीको अपराध महाशाखाबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रतिलिटर ५ लाख रुपैयाँको दरले ३३ लिटर रक्तचन्दनको तेल किनबेच गरिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सिन्धुली हरिहरपुर गाउँपालिका ४ घर भई काठमाडौंको बानियाटार बस्ने ५० वर्षका हेमकुमार श्रेष्ठ, मकवानपुर गढी गाउँपालिका १ घर भई हाल ललितपुर सानुगाउँ बस्ने वर्ष ३९ का नवीन भन्ने मंगलसिंह लो, काठमाडौं टोखा नगरपालिका ४ घर भएका वर्ष ३७ को इक्रम श्रेष्ठ र काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ४ घर भई भक्तपुर दुवाकोट बस्ने ३१ वर्षका कार्साङ्ग लामा रहेका छन् ।

त्यसैगरी खोटाङ हलेसी नगरपालिका ६ घर भई हाल काठमाण्डौ महाराजगञ्ज बस्ने वर्ष २३ का घनश्याम आलेमगर, काठमाडौं तिलगंगाका वर्ष ५१ को मदन पोडे, खोटाङ हलेसी नगरपालिका ९ घर भई काठमाण्डौ चाबहिल बस्ने वर्ष २० को जीवन थापा, तनहुँको भानु नगरपालिका ६ घर भई हाल काठमाडांै सामाखुसी बस्ने वर्ष २५ को सुदिप ठडराई, काठमाडौं छाउनीका वर्ष ५३ का अनिलचरण श्रेष्ठ र सोही स्थानका वर्ष ५१ का अनुपकुमार श्रेष्ठलाई पनि प्रहरीले पक्रेको छ ।उनीहरुलाई आवश्यक कारवाहीको लागि वन डिभिजन कार्यालय, हात्तीसार काठमाडौं पठाइएको छ । अनुसन्धानबाट पक्राउ परेका अधिकांश युवाहरु भरियाको रुपमा प्रयोग हुँदै आएको खुलेको छ । एकै पटक पक्राउ परेका युवाहरूले एकले अर्कोलाई चिनेका छैनन् ।

पक्राउ परेका अधिकांशले रक्तचन्दनको तेल बिक्री गर्ने मुख्य योजनाकारहरुको नाम लिएका छन् । त्यसमा राजनीतिक दलका भातृ संगठनको जिम्मेवार युवा नेताहरू रहेको बताइएको छ । प्रहरीले सम्पर्क गरेका उनीहरुको फोन समेत अफ रहेको पाइएको छ ।

प्रहरीले भने अनुसन्धानकै क्रममा रहेकाले मुख्य योजनाकारहरुको नाम हाललाई गोप्य राखिएको बताएको छ । स्रोतका अनुसार मुख्य योजनाकारले रक्तचन्दन, सुन, यार्चागुम्बुलगायत गैरकानुनी वस्तुको तस्करी गर्दै आइरहेको छ ।

पक्राउ परेकालाई तत्काल छुटाउन विभिन्न दलका नेता, कार्यकर्तादेखि सुरक्षा निकायका उच्च अधिकारीहरुको समेत चर्को दबाब आएको स्रोतले बताएको छ ।

टिप्पणीहरू