जसपा बैठकमा मुख्यमन्त्रीको उछित्तो,आगो बाल्ने यादव फालिए

जसपा बैठकमा मुख्यमन्त्रीको उछित्तो,आगो बाल्ने यादव फालिए

जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समितिको हिजो सम्पन्न बैठकमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीको चर्को आलोचना भएको छ । पार्टीका तर्फबाट प्रदेशका मन्त्री रामनरेश यादवलाई बर्खास्त गर्ने निर्णयको विरोधमा पूर्वराजपा पक्षधर नेताहरुले राउतको चर्को विरोध गरेका हुन् ।

बैठकमा सहभागी एक नेताका अनुसार पूर्वराजपाका नेताहरु महेन्द्र यादव,अमृता अग्रहरिलगायत मुख्यमन्त्री राउतको कार्यशैलीलाई लिएर चर्किएका थिए । बिना छलफल अपमानजनक ढंगले यादवलाई बर्खास्त गरिएको भन्दै उनीहरुले मुख्यमन्त्रीको राजीनामा मागेको चर्चासमेत चलेको छ । यद्यपि ती नेताले भने राजीनामा नमागिएको तर राउतविरुद्ध कडिकडाउ कुरा उठेको बताए ।

हिजोको बैठकले केन्द्रीय कार्यकारिणी समिति विस्तार गर्ने निर्णय पनि गरेको छ । विभिन्न पार्टीबाट आएका १२ जना नेतालाई कार्यकारिणी समितिमा मनोनित गर्ने निर्णय भएको ती नेताले जानकारी दिए । उनका अनुसार आवश्यक गृहकार्य गरेर आगामी बैठकले उनीहरुलाई मनोनित गर्नेछ ।

त्यसैगरी, संघीय सरकारको मन्त्री नपाएको झोकमा अध्यक्ष उपेन्द्र यादवको वीरगन्जतिर पुत्ला जलाउँदै हिँडेका नेता प्रदिप यादवलाई जसपाले केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको छ । उनको पार्टी सदस्यमात्र कायम राखेर बाँकी जिम्मेवारी खोसिएको बताइएको छ ।

टिप्पणीहरू