सुन्दरीको जालमा, केही छैन थालमा

राम्री केटी देख्दा मन पग्लिनेहरुले ख्याल गर्नुपर्ने भएको छ, मीठो बोलेर ठगिएको चालै नपाइने हुन सक्छ । सेनाका एकजना भूपू जम्दार सुन्दरीबाट त्यसरी नै ठगिएपछि रुवाबासी गर्दै हिँडेका छन् । 

काभ्रे घर भएका भूपू जम्दार नरेन्द्र कार्की पहिला केटीको लोभमा परे । भेट भयो । खाजापानी चल्यो । त्यसबीचमा सुष्मिता पौडेलले जम्दारको बानी बुझिन्, के भन्दा र कसरी भन्दा फसाउन सकिन्छ भनेर । भनिन्, ‘०७२ सालको भूकम्पमा पुरिँदा घरबाट भेटेको र धनी मरिसकेको सुन मसँग छ ।’ जम्दारले सोधे, ‘कति छ ?’ सुष्मिताले भनिन्, ‘एक किलो ।’ जम्दार झस्किए, ‘त्यत्रो सुन हामीजस्ताले कहाँ किन्न सक्छौँ ?’ तर, उनले ‘एकैचोटि पैसा दिनुपर्दैन’ भन्दै फकाइन् । जहिले दिनुपर्ने भए पनि आफूसँग पाँच÷सात लाखभन्दा नभएको उनले सुनाए । सुष्मिताले सात लाख रुपैयाँ तुरुन्तै दिनसक्ने भए एक किलो सुन पनि आफूले तुरुन्तै दिने बताइन् । जम्दार मख्ख परे । बैंकबाट पैसा झिकेर सात लाख देखाए । सुष्मिताले पनि आफूसँगै रहेको सुनको पोको देखाइन् । लेनदेन भयो । सुनारेकहाँ जाँच्न सँगै गए । माथिपट्टि अलिकति सक्कली सुन रहेछ, पुन नपुग एक तोला । यसबीच सुष्मिताले जम्दारलाई तर्साइसकेकी थिइन्, ‘यो पोका खोल्यो भने पुलिसले समाउँछ’ भन्दै । सुनारेले जाँचेर सक्कली भनिसकेपछि पत्याउनै प¥यो भन्दै खुशी भएर जम्दार घरतिर लागे । घर पुगेर हेर्दा फलामको डल्लोमा सुनको जलप लगाइएको, थोरै सुन सक्कली । ‘बर्बाद भयो’ भन्दै केटी खोज्न थाले । पेशा नै ठगी भएकी सुष्मिता पैसा पाएपछि बेपत्ता । 

अहिले उनै जम्दार प्रहरीकहाँ पुगेका छन्, ठगीको उजुरी लिएर । सुष्मितालाई प्रहरीले यसअघि पनि ठगीकै अभियोगमा पक्राउ गरेर थुनेको थियो । जम्दारको उजुरी परेपछि थप चार जनाले उजुरी दिएका छन्, सुन देखाएरै ठगेको भन्दै । ठग्नका लागि सबैलाई भन्ने कुरा एउटै, ‘भूकम्पमा पुरिएको । सुनधनी मरिसक्यो ।’ 

उता, रिङरोड विस्तार काम गरिरहेका एकजना चिनियाँ व्यवसायीलाई आफ्नै देशको ठगले सताएपछि हैरान भएका छन् । छिंघाइ घर भएका उनलाई राहदानी नं. ई ८७४०७७३३  भएका झिङजिन युनले पहिलो भेटमा स्काभेटर चलाउने काम मागे । ‘आउँदै गर्नु, काम विस्तारै मिलाइदिउँला’ भनेर व्यवसायीले पठाए । केही दिनमै आफूसँग करिव सय वर्षअगाडिको बहुमूल्य धातु रहेको भने । काम खोज्न आएको, आफ्नै देशको नागरिकले पक्कै ठगेन होला भन्ठानी उनले पत्याए । उक्त सामान तीन करोड पर्ने भने । तर, रकममा कुरा मिलेन । पछि डेढ करोडमा लेनदेन हुने सहमति भयो । सुनको टुक्राजस्तो २० थान सामान दिए । चाङले त्यसबापत पहिलो किस्ताको भुक्तानी गरे, ९० लाख रुपैयाँ । तर, न झिङले दिएको सामान कुनै बहुमूल्य धातु रहेछ, न त्यो टुक्राटाक्रिको कुनै प्रयोजन नै हुने । यसपछि चाङ आफू ठगिएको महसूस गरी प्रहरीमा पुग्नासाथ मध्यरातिको उडानबाट झिङ अस्ति विमानस्थलबाट पक्राउ परेका छन्  ।

टिप्पणीहरू