भिडका देखाई कानुनमाथि भरमार

  •  कृष्मा अनमोल

जब मान्छे आफ्ना कुनै पनि कमजोरी बाहिरिने अवस्थामा पुग्छ तब अनेक किसिमका हतकण्डाको सहारा लिएर जोगिने दुष्प्रयास गर्छ । आफ्ना गल्तीको ढाकछोपका लागि केही मानिसको भावनासँग जोडिएर काम गरेपछि उनीहरूको साथ पाइन्छ र त्यसकै बलमा आफ्ना कर्तुत लुक्छन् भन्ने मानसिकता, प्रवृत्ति अहिलेको नेपाली पत्रकारितामा देखिएको छ । सीमित व्यक्ति र उसको प्रवृत्तिका कारण सिंगो नेपाली पत्रकारिता, सरकारको अर्धन्यायिक निकाय, प्रचलित संविधानमाथि हमला भएको छ । सञ्चारमाध्यममा जोडिएर सामाजिक सञ्जाललाई प्रयोग गरेर आफूलाई मन नपरेको व्यक्तिमाथि मनपरी रूपमा जाइलाग्ने कुसंस्कार फैलाउनु र भीडको बलमा शक्तिशालि बन्न खोज्नु मूर्खता हो ।

०७४ माघ २७ गते नुवाकोटका लक्ष्मण विकले प्रेस काउन्सिलमा न्युज २४ नामक टेलिभिजनमा प्रशारण हुने कार्यक्रम सीधा कुरा जनतासँग नामक कार्यक्रम र सो कार्यक्रमका प्रस्तोता रवि लामिछानेले गैरकानुनी रूपमा कार्यक्रम गरिरहेको तथा विना अनुमति व्यक्तिका कार्यकक्ष र निजी निवासमा प्रवेश गरेर आक्रामक शैलीमा भिडियो रेकर्ड गर्ने गरेको र त्यसले मानहानि भएको भन्दै उजुरी गरे । त्यसभन्दा अघि पनि सोहि टेलिभिजन, कार्यक्रम र प्रस्तोताका नाममा उजुरी परेपछि काउन्सिलले उजुरीबारे सम्बन्धित टेलिभिजन, कार्यक्रम र प्रस्तोतालाई तपार्इंको भनाइ के हो भन्ने अभिप्रायको पत्र काट्यो । स्मरणीय छ, कुनै पनि उजुरी गुनासा वा मुद्दाका विषयमा नियामक निकायले जसरी जवाफ माग गरेको त्यसरी नै सभ्य तरिकाले दिइनुपर्छ । तर, काउन्सिलले काटेको पत्रबारे न्युज २४ ले जवाफ दिएन बरु कार्यक्रम प्रस्तोता भनिएका रवि लामिछानेको जवाफ आयो त्यो पनि सामाजिक सञ्जाल फेसबुकको स्टाटसमार्फत । उनले प्रेस काउन्सिललाई पनि जवाफ पत्र पठाएका छन् तर निकै असोभनिय भाषासहितको ।

रविले प्रेस काउन्सिलमा उजुर परेपछि सामाजिक सञ्जालको सहारामा आफूलाई चोख्याउन वा जोगाउन खोजेका छन् । सामाजिक सञ्जाललाई आफू अनुकुल प्रयोग गरेर सरकार, न्यायीक निकाय र कानुन विपरीत उनी चल्न खोजेको प्रष्ट हुन्छ । सामाजिक सञ्जालको प्रयोगमार्फत नै उनी जोगिन खोजेपछि उनका पक्षधरहरूले पनि चरम दुरूपयोग गरि व्यक्तिको चरित्र हत्या र कुनै एक संस्थामाथि जाईलाग्ने काम भएको छ । कुनै अमुक टेलिभिजनको स्कृनमा देखीएर विभिन्न संस्था र संस्थाआबद्ध व्यक्तिमाथी अपशब्द प्रयोग गर्ने व्यक्तिका कारण अहिले सामाजिक मर्यादा, निति नियमको पालनाका विषय बहसमा आएका छन् ।

कुनै पनि व्यक्ति लाई अनाहकमा सार्वजनिक रूपमा गाली बेइज्जती गर्नु कानुनी भाषामा अपराध हो । मौलाउँदै गएको सामाजिक सञ्जाल प्रयोगमार्फत व्यक्तिलाई खुइल्याउने प्रवृत्ति कुनै पनि हालतमा सह्य हुँदैन् । कुनै पनि संघ संस्था, सरकारी निकाय, अड्डा अदालत प्रहरी कार्यालय वा विषयगत समितिले मागेको जवाफ निर्धारित मितिभित्र सभ्य भाषामा चित्त बुझ्ने गरी नआएको खण्डमा कारबाही प्रक्रिया थाल्ने अधिकार सम्बन्धित निकायमा निहित हुन्छ । सामाजिक सञ्जालको सहारामा प्रेस काउन्सिल नेपालमाथि अनावश्यक आरोप लगाएर फेसबुकमा लाइभ गरेका कारण अनेकांैले काउन्सिमाथि धावा बोल्दै र काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठलाई मार्नेसम्मको धम्की दिएका छन् । कुनै संस्थाको कामकारबाहीप्रति चित्त नबुझाउन सकिन्छ । तर, सामाजिक र सार्वजनिक रूपमा आरोप लगाएर भीडको बलमा अगाडी बढ्न खोज्नु मुर्खताबाहेक अरु केही हुन सक्दैन् । रवि लामिछाने गैरकानुनी रूपमा नेपालमा कार्यरत रहेको ब्यहोरा सम्बन्धीत विभाग र मन्त्रालयले काउन्सिललाई उपलब्ध गराएपछि उनले त्यसको बचाउ गर्न सामाजिक सञ्जालमै लाईभ गरे । सञ्जालका प्रयोगकर्तामा मनोवैज्ञानिक रूपमा प्रभाव पारेर साथ लिन खोजे पनि कानुनले लिखित प्रमाण नै खोज्छ । काउन्सिलले पटक–पटक सचेत गराएकै कारण रवि गैरनेपालीबाट नेपाली नागरिक हुने प्रक्रिया थालेको कुरा ढाकछोप गरेर हुँदैन ।

रवि आफैले सामाजिक सञ्जालबाट कसैलाई नछोड्ने चेतावनी दिएपछि उनका समर्थकले अहिले काउन्सिलका विभिन्न पदाधीकारि र अन्य पत्रकारलाई मार्ने धम्की दिएका छन् । सामाजिक सञ्जालमा अपशब्द प्रयोग गरेर व्यक्तिगत इज्जतमाथि दाग लगाएका छन् र आफंै पनि सुरक्षाको चर्को निगरानीमा परेका छन् । रविलाई समर्थन गर्ने नाउँमा काउन्सिल र त्यसका पदाधिकारीलाई धम्क्याउने दुई जना प्रहरीले पक्राउ पनि ग¥यो ।

सजाय भोग्न तयार हुनुप¥यो 

यदि, सामाजिक सञ्जालको प्रयोग गर्ने हो भने अब असामाजिक बन्ने छुट छैन । मन नपरेको मान्छेलाई अथवा कसैको बहकाउमा लागेर जीवित व्यक्तिलाई मृत्युको घोषणा गर्ने, मार्छु काट्छु भनेर धम्की दिने, बलात्कारी हत्याराजस्ता आरोप लगाउने सामाजिक सञ्जाल प्रयोगकर्तालाई विद्युतीय कारोबार ऐनले जेल र जरिवाना दुवै भराउन सक्छ । त्यसैले अब कि त सामाजिक सञ्जाल प्रयोग गर्दा संयमित हुनुप¥यो कि त सजाय भोग्न तयार हुनुप¥यो । केही दिनदेखि सामाजिक सञ्जाल फेसबुक, ट्विटरमा नक्कली परिचय कायम गरेर मन नपरेको व्यक्तिलाई सराप्ने, गाली गर्ने र उसको पारिवारका सदस्यको समेत मानहानि हुने काम भइरहेका छन् । काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको तस्बिरमा हार्दिक श्रद्धाञ्जली लेखेर पोस्ट गरियो, पत्रकार रामकुमार एलनलाई मार्ने धम्की दिइयो, पत्रकार जी भट्टलाई खैरियत नरहने भनेर धम्क्याइयो, महिला पत्रकारलाई अपशब्द प्रयोग गरी धम्क्याइएको छ । जो यहाँ उल्लेख गरेर साध्य हुँदैन । यस्तै अनेकांै अनेक हतकण्डा छन् । प्रेस काउन्सिलले माग गरेको जवाफमा म पत्रकार होइन । प्रेस पास लिएर पत्रकार हुनुभन्दा जुत्ता पालिस गरेर बस्छु भन्ने रवि लामिछानेका समर्थकले उनकै स्टाटस र लाइभ भिडियोमा काउन्सिलसम्बद्ध पदाधिकारीलाई मार्ने धम्की दिँदा रवि चुपचाप छन् । यसबाट उनी सायद खुसी छन् कि उनलाई जोगाउन उनका समर्थक छन् । उनको तस्बिर प्रोफाइल राखेर समर्थक जनाउँदै अरूलाई मार्ने काट्ने धम्कीविरुद्ध रवि लामिछाने लागेनन् भने पछि उनी आफंैलाई अप्ठ्यारो पर्नेछ । उनको समर्थनमा खोलिएका पेजबाट धम्कीपूर्ण सन्देश प्रवाह हुनु उनकै लागि खतराको सूचक हो यो उनले कहिले बुझ्ने ?

रवि लामिछानेले अनुमतिबिना भीडको बलमा सार्वजनिक निकाय र व्यक्तिमाथि धावा बोलिरहेका छन् । प्रवेशाज्ञाबिना कुनै पनि निकायमा प्रवेश गरेर सूचना माग गर्ने अधिकार कसैलाई छैन । नेपाली नागरिकले पनि नागरिकताको प्रतिलिपि बुझाउनुपर्छ । तर, उनी नेपाली नागरिक होइनन् । भीडको दम्भ देखाउने उनीसँग केही निकायले महŒवपूर्ण सूचना चुहाएका छन् । जुन राष्ट्रिय सार्वभौमिकता र सुरक्षा दृष्टिले खतरापूर्ण हो ।

उनले वर्षौं पहिलेका विभिन्न मुद्दा उछालेर पनि सर्वसाधारणको साथ पाउने कुचेष्टा गरेका छन् । सर्वोच्च अदालतले निर्दोष भनेर टुंग्याइसकेको विषयमा उनले सार्वजनिक कार्यक्रम र सामाजिक सञ्जालमा वक्तव्य दिँदै कारबाही माग गरेका छन् । अदालतमा मुद्दा खेपिरहेका सर्वसाधारण र राज्यलाई समेत कर छली गरी सजाय भोगेका व्यक्तिलाई बहसमा उभ्याएर आफ्नो पक्षमा ल्याउन खोजेका छन् । जुन काम राज्यले निर्दिष्ट गरेको कानुनविपरीत हो । पत्रकारिताको सिद्धान्त धर्म र मर्मविपरीत हो । सामाजिक सञ्जालबाट उनले पटक–पटक म पत्रकार होइन, कार्यक्रम सञ्चालक हुँ भनी वक्तव्यबाजी गरिरहेका छन् । हेक्का रहोस् उनको कर्म सञ्चारमाध्यममा जोडिएको छ र त्यो पत्रकारिताभित्र पर्छ । 
सामाजिक सञ्जालमा उनको नाम लिएर भइरहेका अवाञ्छित गतिविधिप्रति उनको मौन स्वीकृति भयानक छ । उनको तस्बिर सज्जित आइडीबाट सार्वजनिक रूपमा सरकारको अर्धन्यायिक निकाय र त्यसका पदाधिकारीमाथि आक्रमण भइरहेको छ । कतिसम्म भने उनका समर्थकको सञ्जालबाटै काउन्सिलका कावा अध्यक्ष श्रेष्ठको नाममा नक्कली एकाउन्ट खोली अत्यन्त घृणित काम भइरहेको छ । सार्वजनिक पद धारण गरेको व्यक्ति इज्जत प्रतिष्ठामा आँच आउने गरी उनले गरेका काम, व्यक्तिगत चरित्रहत्यामा उनको संलग्नतालाई कानुनले पक्कै छाड्दैन । सरकार र कानुनभन्दा माथि रहन खोज्ने उनको प्रवृत्ति रोकिनुपर्छ । उनले सामाजिक सञ्जालको सहारामा आफूलाई सर्वेसर्वा ठानिरहेका छन् । उनले त्यस्ता कामलाई रोक्न त सकेनन् सकेनन् बरु पटक–पटक अनावश्यक बखेडालाई प्राथमिकता दिँदै उल्टै प्रश्रय दिइरहेका छन् । यसअर्थमा उनी दोषी छन् । एउटा कुशल वक्ता निडर मात्र होइन, लिडर बन्न सक्नुपथ्र्यो । तर, उनी अनियन्त्रित भीडको सहारामा उत्रिन खोजिरहेका छन् ।

टिप्पणीहरू