मियाँको हत्याको गुत्थी सुल्झियो, आरोपित पाँच पक्राउ

मियाँको हत्याको गुत्थी सुल्झियो, आरोपित पाँच पक्राउ

मान्छे मारेर सेफ्टिट्याङ्कीमा लुकाएको आरोपमा झापा प्रहरीले गौरादह नगरपालिका ५ का पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने आरोपितहरुमा ३१ वर्षीय महम्मद सद्दाम, सद्दामकी श्रीमती २८ वर्षीया सुमेरन खातुन, २६ वर्षीय मोहम्मद सुलेमान, सुलेमानकी श्रीमती २२ वर्षीया रुक्सार खातुन र ३८ वर्षीया कुर्समान खातुन छन् ।

उनीहरुलाई झापा, गौरादह नगरपालिका ५ का ४६ वर्षीय मबेसिर हुसेन मियाँको हत्या गरेको आरोप लागेको छ । हुसेनकी श्रीमती नुरजहाँ खातुनले कात्तिक ११ गते बिहान ११ बजेदेखि मबेसिर हुसेन मियाँ हराएकाले खोजतलास गर्न प्रहरीमा जाहेरी दिएकी थिइन् । उनको जाहेरीपछि प्रहरी मियाँको खोजतलासी गरेको थियो ।

खोजीकै क्रममा कात्तिक २६ गते मोहम्मद सद्दामको घरका कोठाको झ्यालको पल्ला तथा ग्रीलहरुमा रगत जस्तो रातो छिटाहरु प्रहरीले देखेपछि त्यहिँबाट अनुसन्धान मोडिएको बताइन्छ । त्यही सुराकीको आधारमा हुसेनको हत्या गरेको हुन सक्ने आशंकामा सद्दामको घर खानतलासी गर्दा सेफ्टी ट्याङ्कीभित्र हुसेनको शव दुर्गन्धित अवस्थामा फेला परेको हो ।

उनलाई आरोपितहरुले दाउ, छुरी र घन (मार्तोल) ले कुटेर मारेको प्रहरीले आशंका गरेको छ । हत्यामा प्रयोग भएका तीलगायतका प्रमाणयोग्य सामग्री थप फेला पारेको छ । आरोपित पाँचै जनालाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

टिप्पणीहरू