​सर्प र लठ्ठी दुवै सकुशल

सञ्चारमाध्यममा रक्सी, चुरोटको विज्ञापन पूर्णतः वर्जित छ । तर, प्रदीपकुमार उदयहरूलाई यस्ता कानुनले छुन सकेको छैन । उनी तीन वर्षदेखि रुस्लान नामक भोड्काका नाममा रुस्लान एफएम चलाउँदैछन् । तत्कालीन सञ्चारमन्त्री मीनेन्द्र रिजाललाई रिझाएर रक्सीको नाममा एफएम चलाउने इजाजत पाएका प्रदीप चलचित्र क्षेत्रमा चालबाज मानिन्छन् । हालै मात्र अर्काे चतु¥याइँ देखाएका छन् । 

अहिले चलचित्र संघ र चलचित्र निर्माता संघबीच जुहारी सुरु हुन थालेको छ । प्रदीपकुमार उदयहरू जसरी पनि बक्स अफिस रोक्न तल्लीन छन् । तर, आफ्नो बाहुबलले बक्स अफिस नरोकिने भएपछि संघबाट बाहिरिएका छन् । उपाध्यक्ष वीरेन्द्रनारायण श्रेष्ठलाई कार्यवाहक अध्यक्ष जिम्मा दिएर एक महिना बिदामा बसेका हुन् । चलचित्र विकास बोर्डको अध्यक्ष निकिता पौडेल जसरी पनि बक्स अफिस लागू गर्ने तयारीमा रहनु, निर्माता संघले समेत बक्स अफिस लागू गर्न जोड दिएपछि र चलचित्र संघकै केही पदाधिकारी खनिन थालेसँगै प्रदीप भने बिदामा बस्न थालेका छन् । प्रदीपको यो चालप्रति चलचित्रकर्मीले पानीमाथिको ओभानो बन्न खोजेको आरोप लगाएका छन् । एक चलचित्रकर्मीले जनआस्थासँग सुनाए, ‘सर्प मर्ने र लठ्ठी पनि नभाँचिने प्रदीपको यो चाललाई मान्नै पर्छ ।’ 

फुर्सदमा मनभित्र कुरा फुर्दा
जागिरे जीवनका बीच समय निकालेर कविता कोर्दै आएका युवराज अधिकारीको पहिलो गीति संग्रह ‘देउरालीको फूल’ तयार भएको छ । तीनवटा गीतको त भिडियोसमेत बनेको छ । एल्बमको एउटा गीतमा म्युजिक भिडियो वरिष्ठ सञ्चारकर्मी एवं निर्देशक भुषण दाहालले तयार पारेका हुन् । चर्चित कलाकर्मी सुरेश अधिकारीको एकल संगीत रहेको एल्बममा दीप श्रेष्ठ, रामकृष्ण ढकाल, स्वरुपराज आचार्य, प्रमोद खरेल र मीना निरौलाको स्वर समेटिएको छ । अधिकारीले साहित्यिक पत्रकार संघको प्रकाशन सिर्जना द्वैमासिकको समेत केही समय सम्पादन गरेका थिए ।

टिप्पणीहरू