सेनालाई यौन काण्डले समस्या

सेनालाई यौन काण्डले समस्या

सेनाका हाकिमहरू, कोही अफिसर मेसमै गति छाड्ने त कोही ‘आमा’ भन्नुपर्नेलाई पनि जथाभावी गरिदिने ! जंगीअड्डाभित्र बेलाबेला चर्चा हुने घटना हुन् यी । भट्टराई थरका एकजना मेजरकी प्रेमिका थिइन्, गणेश दलकी क्याप्टेन । तनहुँ घर भएका, अधिकारी थरका अर्का अफिसरले पनि उनैलाई आँखा लगाएका ।

एकदिन नगरकोट तालिम गर्दागर्दै क्याप्टेनको घरमा पर्खाल नाघेर अधिकारी पुगे । हुँदाहुँदा गणेश दलको अफिसर मेसमै अनेकथोक गरिहेको अवस्थामा सेन्ट्रीले मोबाइलमा खिच्न भ्याए । हाकिमहरूले मेसमै बसेर नानाभाँती गरेको सह्य भएन, बुझाइदिए भिडियो रेकर्ड । अहिले सैनिक प्रवक्ता (डिपिआर प्रमुख) सन्तोषबल्लभ पौडेल त्यसबेला त्यहाँका गणपति । सैनिक अदालतले मेसमा आपत्तिजनक क्रियाकलाप गर्ने दुबैलाई सेवाबाट बर्खास्त ग¥यो ।

तर, पछि विशेष अदालतको आदेशले उनीहरू जागिरमा फर्किए । अर्को अफिसरसँग त्यसरी काण्डमा परेको भनेर प्रेमी तथा मेजर भट्टराईले प्रेमिकाको साथ छाडेनन् । ‘अबदेखि यस्तो नगर है’ भने, अनि विवाह पनि गरे । अहिले उनीहरूको गृहस्थी राम्रोसँग चलेको छ ।

केही वर्ष पहिल्यै यस्तै घटना भयो, भक्तपुरस्थित खरिपाटी शिक्षालयमा । जर्नेल रघुचन्द्रबहादुर सिंह महासेनानी हुँदा भतिज मेजर थिए, महेन्द्रबहादुर सिंह । पूर्वप्रधानसेनापति गौरवसमशेर राणाकै व्याची, १० बेसिकका । पढाई, सैन्य अभ्यासदेखि हरेक कुरामा अब्बल ।

उनलाई भावी प्रधानसेनापतिका रुपमा पनि हेरिन्थ्यो । तर, काका शिक्षालयमा व्यस्त भएको मौका पारेर एकदिन काकीमाथि जथाभावी गर्न घरै पुगे । काकीले छोरोसमान भतिजोको दुव्र्यवहार सहने कुरै थिएन । पतिलाई भनिन् । यही काण्ड लागेर महेन्द्र बर्खास्तीमा परे । काका–काकी साथै रहे ।

प्रमुख सेनानी दर्जाका कमल रावल राष्ट्रपति कार्यालयमा थिए । भाइटीका लगाएकी युवतीलाई घरमै अनुचित व्यवहार गरेको दृश्य श्रीमतीले नै फेला पारिन्, रंगेहात । यो घटनाले जागिर त तलमाथि भएन, तर पत्नीले दुःखमा साथ छाडिनन् ।

अर्कातिर, सेनामा जागिर जानलाई कुनै उजुरबाजुर पनि नचाहिने स्थिति छ । जर्नेल पंकज कार्की सुडान मिशनमा हुँदा उनीमाथि विभिन्न आरोप लाग्यो, लिखित हैन, गाइँगुइँ । त्यसपछि जंगी अड्डाले मोबाइल छानवीन ग¥यो । शंकास्पद देखिएर केही महिनाअघि बर्खास्त भए । कसैको उजुरी पनि थिएन, तर जागिर गयो । उनले पुनर्वहालीका लागि विशेष अदालतमा रिट हाले । तर, सेनाकै कलेजमा एमबिबिएस पढ्ने छोरालाई मनोवैज्ञानिक तनाव नहोस् भनेर बाबुले पुनर्वहालीको रिट फिर्ता लिइदिए ।

टिप्पणीहरू