​बाउको त विश्वास छैन, कसलाई बताउनु

  • वैकुण्ठ ढकाल

आफ्नी छोरी, बहिनीसहित श्रीमतीको गर्भपतनका लागि एक अधबैंसे डाक्टरकोमा पुग्छन् । महिला डाक्टर छोरीलाई जन्म नदिन गर्भपतन गर्न आएको भन्दै झर्किन्छन् । महिलाले के गर्न सक्दैनन् भन्ने आशयका प्रश्नहरू गर्छिन् । बरु पुरुष(छोरा)ले बलात्कार गर्छन् भन्ने दलिल पेश गर्छिन् । 

त्यति नै बेला गर्भपतन गराउन गएका पुरुष बोल्छन्– हो, त्यही भएरै म गर्भपतन गराउन आएको । मेरो छोरा नजन्मोस् र कुनै पनि छोरी मान्छेलाई बलात्कार नगरोस् । 

यो जवाफ सुनेपछि महिला डाक्टर नाजवाफ हुन्छिन् । यो सानो भिडियो क्लिप सामाजिक सञ्जालमा भेटिन्छ । यसको सन्देश के होला ?

०००
वार्षिक परीक्षा सकिएकै दिन मामाघर हान्निएँ । घर नजिकै भए पनि मामाघर भनेको मामाघरै हो नि ! मामा मभन्दा केही वर्ष मात्रै जेठा । त्यही दिन उहाँका साथीहरू पनि भेला भएका रहेछन् । परीक्षा सकिएको उपलक्ष्यमा रमाउने उद्देश्य रहेछ । भीडभाड थियो । मैले पनि मामाहरू सुत्ने कोठामै सुत्नुपर्ने भयो । मामा साथीहरूसँग अश्लील चलचित्र हेरिरहेका थिए । म निदाएको थिइनँ, निदाएको बहाना गरिरहेकी थिएँ । मामा म सुतेकै खाटमा आएर सुते । मेरा संवेदनशील अंगमा समेत छोए । मेरो शरीरलाई मात्रै हैन, मनमा पनि ठूलो चोट लाग्यो । बिदाभरी मामाघरै बस्ने भनेर गएकी भोलिपल्ट बिहानै घर पुगें । आमाले किन फर्किहालेकी भन्ने प्रश्नको सही जवाफ दिन सकिनँ । जवाफ नदिई उम्कन पनि पाउने थिइनँ । भन्दिएँ, बस्न मन लागेन फर्किएँ । 

०००
म राम्रै पढ्ने विद्यार्थी । अक्षर राम्रो । राम्रो पढ्ने भएपछि सरले पनि माया गर्ने । सरहरूले काखमै लिन्थे, गालामा छुन्थे, पिठ्यूँमा मुसार्थे । तिघ्रामा पनि हात पु¥याउँथे । लाग्थ्यो माया भनेको यही होला । आमाले गाला मुसार्नुहुन्थ्यो, बाले पनि त त्यसै गर्नुहुन्थ्यो । आखिर शिक्षक पनि बा पछिका बा त हुन् । अघिल्लो कक्षामा पनि शिक्षकले त्यसै गर्न थालेपछि त्यो माया हैन, भन्ने लाग्न थाल्यो । धेरै पछि मात्रै बुझें त्यो त यौन हिंसा रहेछ । 

०००
बाल्यकालमा के के भयो, के के भएन सबै भन्न सक्दिनँ । अहिले २५ देखि ३० वर्षको उमेर बीचमा छु । एक्लो केटा मान्छेसँग डराउँछु । अँध्यारोमा त झन् डर लाग्ने नै भयो । बस चढ्दा पनि महिला आरक्षण सिट खाली छ भने मात्रै । तर, मेरा केटासाथीहरू नै धेरै छन् । अप्रत्यक्ष रूपमा धेरै कुरा गर्न सक्छु । तर, एक्लाएक्लै प्रत्यक्ष भेटेर लामो समय कुरा गर्ने सोच्दा पनि डर लाग्छ । घरमा बाबा र म मात्रै हुँदा त्यो दिन निकै सकसपूर्ण हुन्छ । तर ‘सेयरिङ’ र ‘केयरिङ’का कुरा आमासँग भन्दा बाबासँग बढी हुन्छ । आफूभित्रै यस्तो विरोधाभाष देखेर आफैं चकित छु । समाधान भेटेको छैन । 

०००
अहिले नेपाली मिडियाका बलात्कारमा समाचार धेरै आइरहेका छन् । संघीय राजधानी रहेको काठमाडौं, छिमेकी जिल्ला भक्तपुर र ललितपुरमै बलात्कार भएका छन् । बलात्कार मात्रै हैन, सामुहिक बलात्कार । बाउले छोरी, काकाले भतिजी । बलिया बांगाले अशक्त, सुस्त मनस्थितिका बालिका । 

०००
यही शहर हो, जहाँ बलात्कारीको उजुरीमा जेल हाल्ने र आफैं जेलमा खाना पु¥याउन जाने महिला पनि भेटिए । पीडकलाई खाना पु¥याउन जाने बलात्कारको सिकार भएकी पीडित महिला । तिनै महिला अब उजुरी फिर्ता लिएर उनैले पीडक भनेकी पुरुषसँग विवाह गर्ने योजना सुनाउँछिन् । 

०००
एक दिन दिउँसो कलंकीको होटलमा काम विशेषले पुगेको थिएँ । एक महिला निस्किइन्, होटल साहुले …. खोइ त भनेर सोधे । सुतिरहेको छ भन्दै होटलबाट बाहिरिइन् । अर्को फोन आएको भन्दै । होटल साहुसँग सोधखोज गरें । विवाहित महिला नै हुन्, श्रीमान् दिउँसो कार्यालय जाँदा रहेछन् । ती महिला दिउँसो कन्ट्याक्टमा हिँड्दी रहिछन् । मैले होटल साहुलाई सोधें– यसरी हिंडेको लोग्नेले थाहा पाउँदैनन् ? जवाफ आयो –छाप लागेको हुन्छ र ? म ट्वाँ । त्यही दिन २०/२० केही जोडी बाहिरिए, त्यही होटलबाट । 

०००
कहिलेकाहीं साँझको समय रत्नपार्क आसपासको आकाशेपुल भएर हिँड्नुपर्छ । अनेकौं दृश्य देखिन्छ । केही समयमै ‘डिल’ हुन्छ, वर्षौंदेखिको चिनजानका जोडी छैन अँगालो मारेर गन्तव्यमा लाग्छन् । सायद सुन्धाराका होटल भर्छन् । केहीबेर मच्चिन्छन्, पोखिन्छन् । स्वाद फेर्न भोलि फेरि रत्नपार्कमा भेला हुन्छन् । 

माथिका प्रतिनिधि घटनाले सन्तान, सम्भोग, बलात्कार, यौनहिंसाले पार्ने दीर्घकालीन असर देखाउँछ । बलात्कार र यौन हिंसाका घटना मसिनो गरी हेर्ने हो भने ‘नजिक’काले र ‘नजिक’ भएकाहरूले गरिरहेका छन् । यौन हिंसाका घटना चिनजानका, आफन्त, शिक्षक वा परिवारकै सदस्यबाट भएको देखिन्छ । लामो समयको चिनजान, लिभिङ टुगेदरका परिणाम पनि भएका छन् । कतिपय घटना सामाजिक सञ्जालबाट पनि भएका छन् । 

महिला पुनःस्थापना केन्द्र (ओरेक) मा गत वर्ष दर्ता भएका बलात्कारसम्बन्धी १४४ वटा घटनाका पीडितमध्ये १६ वर्षमुनिका किशोरी ७३ जना थिए, जसमध्ये ६६ प्रतिशत बालिकामाथि झम्टने त आफन्तजन नै थिए । नेपाल प्रहरीसँग रहेको देशभरिका ७ वर्ष (०६७ फागुन ३ देखि २०७४ साउन २ गते सम्म) को बलात्कारसम्बन्धी ९९७ वटा रिपोर्टमा समेटिएका यौन दुव्र्यवहार गर्ने अभियुक्तहरू आफन्त मात्र छैनन् कतिपयका दुव्र्यवहार अप्राकृतिक र हिंस्रक पनि देखिन्छन् । अहिले त्यसको संख्या निकै बढेको छ । 

ओरेक र प्रहरी रेकर्डले सामाजिक संरचनाले संरक्षक ठान्ने पिता, पति, प्रेमी, दाजु–भाइ, शिक्षक र साथीबाटै महिला बलात्कृत भएको देखाउँछन् । हजारौं वर्षदेखि नीति–नियम र दण्ड संहिताले बाँध्दाबाँध्दै पनि महिलाहरू आफन्तबाटै झन् बढी किन असुरक्षित हुँदै गएका हुन् ? यसरी कामातुर बनाउने कारकतत्व के–के हुन् ? यसको खोजी गर्न ढिलो गर्न हुँदैन । यौनलाई दबाउन खोज्दा पो झन यसको भयावह अवस्था आएको हो कि ? हुन त यौन खुला भएका देशमा पनि बलात्कार र हिंसाका घटना भइरहेका समाचार आइरहेका छन् । तर, त्यो नेपालमा भन्दा कम छन् कि ? 

नेपालजस्तै विकासोन्मुख देशमा मात्रै हैन, विकसित देशमै पनि यौन हिंसाका घटना भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यौन हिंसा गरेको भनेर उजुरीहरू परिरहेका छन् । चिकित्सकबाट बलात्कार भएको उजुरी विकसित देशमा आएकै छन् । 

नेपाली समाज यौनका मामलामा निकै संकुचित छ भन्ने गरिन्छ । तर, इन्टरनेटको सुविधाले केचाहिँ दिएको छैन भन्ने प्रश्न गर्ने बेला भइसकेको छ । यौन खुला गर्नुपर्छ, रेडलाइट एरिया तोक्नुपर्छ भन्ने आवाज पनि जोडतोडले उठिरहेकै छ । यही समाज हो, केटीहरूले छोटो लुगा लगाएर बलात्कारका घटना बढेको भन्नेहरूको संख्या पनि उत्तिकै छ । 

कतिपय युट्युब च्यानलले पोर्न च्यानललाई माथ गर्ने गरी सामग्री राखेको छ । त्यसमै दर्शक झुत्तिएका छन् । भिडियोमा नभए पनि शब्दमा पोर्नेग्राफी चलाइरहेका छन् । को–कोसँग गर्नुभयो, कसरी गर्नुभयो, कस्तो भयो ? जस्ता प्रश्न र त्यसको व्याख्यासहितको जवाफ पोर्नोग्राफी नै हुन् । 

सन् २००७ देखि वेब संसारमा सेक्स भिडियोको व्यापार गरिरहेको र २३ अर्ब मान्छेले चहारेको विश्वको सबैभन्दा ठूलो पोर्न साइट दाबी गर्ने ‘पोर्नहब डटकम’ ले ‘पोर्न मुभी’ हेर्ने भ्युअरमाथि हरेक वर्ष गर्ने अध्ययनले चकित पार्ने परिणाम देखाउने गरेको छ । २०१६ मा विश्वभरबाट प्रत्येक दिन ६४ मिलियन र हरेक मिनेट ६५ हजार जनाले हेरेको यो साइटमा ती भ्यूअरहरूले कस्ता–कस्ता ‘पोर्न मुभी’ हेर्न खोजे भनेर टिमले अध्ययन गरेको थियो ।

२०१६ मा सबैभन्दा बढी खोजिएका शीर्ष ९ प्रकारका सेक्स भिडियो क्रमशः यसरी प्राथमिकतामा परेका थिए– लेस्बियन, सौतेनी आमा, आमा, टिन, सौतेनी बहिनी, आमा, कार्टुन ।

अमेरिकामा सौतेनी आमा र छोराबीचको सेक्स भिडियो खोज्ने भ्यूअरहरू नम्बर एकमा थिए भने बेलायतमा केटी–केटीबीच फिल्माइएका लेस्बियनका यौनक्रीडा हेर्न चाहनेहरू शीर्षमा थिए । पोर्नहब सर्फ गर्ने तेस्रो ठूलो देश भारतमा भने भाउजू र देवर, शिक्षक र विद्यार्थी, भारतीय कलाकार, आन्टी र तन्नेरी युवा तथा आमा छोराबीच फिल्माइएका भिडियो खोज्नेको संख्या बढी थियो ।

यी भिडियो चहार्नेमा १८ देखि २४ वर्ष उमेर समूहका सबैभन्दा बढी (३१ प्रतिशत) थिए भने २५ देखि ३४ वर्ष उमेर समूह दोश्रो (२९ प्रतिशत) नम्बरमा थिए । ३५ देखि ४४ वर्ष (१७ प्रतिशत) उमेर समूहका पनि उल्लेख्य संख्यामा थिए । पोर्नहब चहार्ने महिला (२६ प्रतिशत) को तुलनामा पुरुषको संख्या (७४ प्रतिशत) अत्यन्त ठूलो थियो ।

महिलाले सबैभन्दा बढी खोजेका भिडियो सूची पनि रोचक नै देखिन्छ । तिनले सबैभन्दा बढी लेस्बियन सेक्स खोजेका छन् भने त्यसपछि थ्रीसम (३ जनाबीच हुने यौनकर्म) हेर्न खोजेका छन् । ती महिलाले अश्वेतसँगको यौनक्रीडा, सौतेला बाउ र छोरीबीचको सेक्स र ग्रुप सेक्स पनि उत्तिकै प्राथमिकतासाथ सर्च गरेका छन् ।

तर यो प्रवृत्तिले दिएको प्रस्ट सन्देश के हो भने हाम्रा परम्परागत सामाजिक मान्यताको स्खलन सोचेभन्दा द्रुतगतिमा भइरहेको छ । करिब करिब हरेकको हातमा स्मार्टफोन, घर घरमा इन्टरनेटको पहुँच र विकसित देशसँग प्रत्यक्ष र भर्चुअल संवाद गरिरहेको नेपाली समाज यसबाट अछुतो रहला र ? भिडियो हेरेर सबैले त्यसै गरेर हिंड्लान् ? यो तर्क गर्ने हो भने त नेपाली चलचित्र हेर्ने जति सबै कलाकार हुनुपर्ने होइन र ? 
सोच्ने तौरतरिका फरक बनाउने र जे कुरालाई पनि ‘अति’को दृष्टिकोणबाट नहेर्ने हो भने समस्या कम हुँदै जानेछ । हरेक प्रश्नको सही जवाफ खोजियो भने विकृति कम हुँदै जानेछ ।

टिप्पणीहरू