परिवारै भ्रष्टको पैसामा रमाएपछि...

परिवारै भ्रष्टको पैसामा रमाएपछि...
सुन्नुहोस्

ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन (सन् २०२२) अनुसार विश्वमा डेनमार्क कम भ्रष्टाचार हुने मुलुक थियो । त्यसपछि क्रमश : न्युजिल्याण्ड, फिनल्याण्ड, नर्वे, सिंगापुर, स्वीडेन, स्वीजरल्याण्ड, नेदरल्याण्ड, जर्मनी र लक्जेम्वर्ग रहे । एक सय असी मुलुकमा गरिएको अध्ययनअनुसार बढी भ्रष्टाचार हुने सूचीमा क्रमशः सोमालिया, साउथ सुडान, सिरिया, भेनेजुयला, यमन, बुरुण्डी, गिनी, हाइटी, उत्तरकोरिया र लिबिया रहेका थिए । संयुक्त राज्य अमेरिका २४ औँ, भारत ८५ औँ, चीन ६५ औँ र पाकिस्तान १४० औँ स्थानमा रहे । नेपाल भने विश्वको बढी भ्रष्ट मुलुकको सूचीमध्ये ११० औँ स्थानमा रहेको थियो । ट्रान्सपरेन्सी इन्टरनेशनलले सन् १९९५ देखि भ्रष्टाचारको विश्वव्यापी सूची प्रकाशित गर्दै आएको छ । विश्व बैंकले पनि त्यस्तो सुची प्रकाशन गर्ने गरेको देखिन्छ । विश्वव्यापी प्रतिवेदनअनुसार सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकहरूको सूचीमा अधिकांश युरोपेली मुलुकहरू छन् ।

तत्कालीन गृहमन्त्री खुमबहादुर खड्का भ्रष्टाचारमा जेल काटेर निस्कँदा गलामा फूलका माला लगाइए । यस्तै सोच र संस्कारको कारण भ्रष्टाचारमा वृद्धि हुने गरेको हो । निरंकुश र सैनिक शासनमा बढी भ्रष्टाचार देखिन्छ । रवि गृहमन्त्री भएपछि पूर्व सभामुख कृष्णबहादुर महरा छुटे । उद्योगी विनोद चौधरीको छानबिन ‘अलमलमा’ पारियो । रविको नाम मुछिएको सहकारी ठगी मुद्दा ‘पेन्डिङ’मा फालियो ।

भ्रष्टाचारमा राजनीतिक, नीतिगत, संस्थागत, योजनाबद्ध तथा प्रणालीगत भ्रष्टाचार आदि प्रमुख देखिन्छन् । प्रणालीगत र संस्थागत भ्रष्टाचार अन्यको तुलनामा डरलाग्दो हुन्छ । नेपालमा प्रणालीगत र संस्थागत भ्रष्टाचारमा वृद्धि भएको संकेत भुटानी शरणर्थीसम्बन्धी प्रकरण तथा हालैका सुन काण्डहरूले प्रष्ट गरेको छ । दार्शनिक प्लेटोले आफ्नो पुस्तक रिपब्लिकामा ‘भ्रष्टाचारको लागि राजनीतिक संस्था पर्खाल पछाडिको वासस्थान जस्तै हुने’ बताएका थिए । राज्य प्रणाली र सरकार वा सरकारी निकायका अख्तियारप्राप्त व्यक्तिले भ्रष्टाचार गर्छन् भने राज्यका अन्य निकायमा त्यसको दुष्प्रभाव पर्ने हुन्छ । सरकार, अदालत, संसद, सेना, प्रहरी, अख्तियारजस्ता अनुसन्धान गर्ने निकाय र त्यसमा रहेका अधिकारी नै भ्रष्टाचारमा लिप्त छन् भन्ने कुरा ललिता निवाससम्बन्धी जग्गा काण्डले प्रमाणित गर्‍यो ।

चीन जहाँ मृत्युदण्डको व्यवस्था छ । त्यहाँ पनि भ्रष्टाचार हुने गरेको छ । सन् २०१७ मा १५५१ जनालाई फाँसी दिइएकोमा अधिकांश भ्रष्टाचारमा दोषी भएकाहरू थिए । मुलुकमा संस्थागत र नीतिगत भ्रष्टाचार भएपछि त्यसको छायाँ प्रदेश, स्थानीय तह, प्रहरी कार्यालय, मालपोत, नापीदेखि वडा कार्यालयसम्म पुग्न सक्छन् । त्यस्तो स्थितिमा जहाँ नागरिकको कुनै पनि सानो काम हुन्छ त्यहाँ भ्रष्टाचार हुन पुग्दछ । भारतको सरकारी अस्पतालमा दिइने सेवामा समेत दलाली र भ्रष्टाचार हुने गरेका छन् । सन् १९८९ अघि सोभियत संघको कम्युनिस्ट शासन, दोस्रो विश्वयुद्धताका जर्मनमा भएको हिटलरको शासन, उत्तरकोरियामा किम नेतृत्वको शासन, द्वन्द्वग्र्रस्त सोमालिया, सिरिया आदि यसका उदाहरण हुन् । कतिपय मुलुकमा भने भ्रष्टाचारका स–साना घटनासमेत सञ्चार माध्यमले सार्वजनिक गरिरहेका हुन्छन् । जस्तो : भारतमा भ्रष्टाचार बढी नै हुन्छ र सञ्चार माध्यमले पनि त्यसलाई निरन्तर सार्वजनिक र खवरदारी गरिरहेकै हुन्छन् ।

नेपालमा भ्रष्टलाई तिरस्कार गर्ने संस्कार वृद्धि हुनै सकेन । बरु उल्टै भ्रष्ट र भ्रष्टाचारीलाई सामाजिक सम्मान दिने काम भयो । कसले कुन माध्यमबाट धन कमायो वा कुन कमाइको पैसा कसरी खर्च गरिरहेको छ त्यसमा परिवार र समाजले सोधी–खोजी नगर्ने प्रवृत्ति छ । कानुन लागू वा कार्यान्वयन गराउने निकाय र शक्ति नै भ्रष्टाचारमा मुछिन्छन् भने त्यहाँ सुशासन हुन्छ भन्न सकिन्न । भ्रष्टाचार बढ्नुमा प्रणाली जति दोषी हुन्छ परिवार र समाज पनि जिम्मेवार हुन्छ । जस्तोसुकै माध्यमबाट आएको पैसा परिवार र समाजले स्वीकार गर्ने, भ्रष्टलाई नेता मान्ने, चुनावमा विजयी गराउने जस्ता कार्यले भ्रष्टाचारलाई मलजल गरिरहेको छ । सामाजिक चेतना र खबरदारी बलियो हतियार हो ।

सरकारी निकायमा रहेका मानिसले कानुनले तोकेको कार्य नगर्ने, गैरकानुनी तरिकाले घुस वा आर्थिक लाभ लिने, नीतिगत व्यवस्था गरी व्यक्तिगत लाभ लिने वा नीतिको अपव्याख्या गरी आफूलाई लाभ पुग्ने काम गर्ने, अख्तियारको दुरूपयोग गर्नेजस्ता कार्यलाई भ्रष्टाचार भनिन्छ । अख्तियार ऐन, २०४८ को दफा २ (ज) मा भ्र्रष्टाचार भन्नाले ‘भ्रष्टाचार निवारणसम्बन्धी प्रचलित कानुनबमोजिम सजाय हुने कसुर सम्झनु पर्छ’ भनिएको छ । भ्रष्टाचारमा ठूला माछा भनिएका शक्तिशाली भ्रष्टहरू जहिल्यै उम्कने र पानीमाथिको चोखो हुने गरेकोले समस्या गम्भीर भएको हो । भ्रष्टाचार न्यूनीकरण गरी सुशासन गर्नु मुलुकको प्रमुख कार्यसूची भएको भए पनि ठूला माछा भनिएकाहरू उम्किने संस्कृतिका कारण मुलुक अस्तव्यस्त बन्दै गएको छ ।
 

टिप्पणीहरू