​बाझ्दाबाझ्दै बाहिर

मन्त्रीहरुसँग सल्लाह नगरी सचिव हेरफेर गरिएको असर उद्योगमा परेको छ । सरकारमा माओवादीतर्फको नेतृत्व गरेका गृहमन्त्री बादलले सचिव सरुवाबारे गुनासो राखिसकेका छन् । तर, उद्योगमै गाभिएको आपूर्ति मन्त्रालय भने सचिवविहीन बन्न पुगेको छ ।

सचिवमात्र बेपत्ता छैनन्, परिवर्तित सन्दर्भमा मन्त्रालयहरुको नयाँ संगठनात्मक संरचना तयार पार्ने कार्यदलले फस्र्टक्लासका हाकिमहरुको दरबन्दी नै फाजिलमा राखेपछि अर्को बिजोग देखिएको छ । ‘मेट्रोलोजी’ अर्थात् उद्योग मन्त्रालयमा प्रथम श्रेणीका मेकानिकल इञ्जिनियरहरुको सेवा समूह नयाँ ओएनएम सर्भेमा उल्लेख नभएपछि त्यो पदमा कार्यरत र पदोन्नती पर्खिएर बसेका उक्त समूहका कर्मचारीहरुको बिजोग भएको हो । उद्योग, कल कारखानाका मेसिनरी सामान अनुगमन गर्न प्राविधिक ज्ञान भएको व्यक्ति चाहिने कारण सो दरबन्दी सिर्जना गरिएको थियो । स्रोतका अनुसार, महानगरपालिकामा सचिवले कार्यकारी अधिकृतको रुपमा काम गर्ने भएपछि अब ‘मेट्रोलोजी’ लाई पनि उतै सार्ने तयारी छ । यदि, महानगरमा राख्न व्यवहारिक नभए सातै प्रदेशका उद्योग मन्त्रालयमातहत राख्न सकिने सुझाव ओएनएम कार्यदलले दिएको छ ।

उता, उद्योग विभागका महानिर्देशक शंकर अर्याललाई हटाउने उद्योगमन्त्री मात्रिका यादवको चाहना सामान्य प्रशासनले अहिलेसम्म पूरा गरिदिएको छैन । भित्रैबाट फेरबदल गर्दा चलखेल हुने कारण उनलाई सामान्यबाट अन्तरमन्त्रालय सरुवा गराउने चाहना छ । मन्त्रीकै रुचिअनुसार आपूर्ति सचिव अनिल ठाकुर हटाइए, तर नयाँ कोही पनि पठाइएनन् । मात्रिकाको मन्त्रालयमा तीन सचिवको दरबन्दी छ । उद्योगमा यामकुमारी (यमुना) खतिवडा, बाणिज्यमा चन्द्र घिमिरे र आपूर्तिचाहिँ खालि । भनिन्छ, आयल निगममा गोपाल खड्कालाई फिर्ता पठाउने गिरोह सल्बलाउँदा हालका लागि त्यहाँ सचिव खालि राखिएको हो । सचिव ठाकुर राष्ट्रिय महिला आयोगमा सरुवा भएका छन् । पहिला कानुनी आयोग छँदा सहसचिवबाट चल्ने उक्त आयोग अब संवैधानिक बनेपछि सचिवको दरबन्दी खडा गरिएको हो । तर, आयोग संवैधानिक बनेपछि पदाधिकारी भने नियुक्त हुन सकेका छैनन् । 

मात्रिका यादवले २५ सयको जुत्ता २५ हजारमा बेच्ने दरबारमार्गका पसलहरुमा छापा मार्ने हाकिमलाई हटाएका छन् । आपूर्ति मन्त्रालयअन्तर्गतको उपभोक्ता हित संरक्षण तथा आपूर्ति व्यवस्थापन विभागका महानिर्देशक कुमार दाहाललाई हटाएका हुन् । 
उता, मन्त्री, सचिवदेखि उच्चपदस्थलाई ‘लेफ्ट–राइट गराउने तागत छ’ भन्ने गरेकी कम्पनी रजिष्ट्रार कार्यालयकी गीता हुमागाइँ सामान्य प्रशासनको सरुवामा परेर बाहिरिएकी छन् । उनको ठाउँमा ध्रुवहरि अर्याल गए । अरु मन्त्री भए बाझेरै त्यहाँ बस्थिन्, तर लालबाबु पण्डितसँग सकोस् कसले ? 

टिप्पणीहरू