​चोरमाथि चकार, बल्ल गल्ती सकार

अल्मोडा राणा उप्रेती, अर्थात् पुराना सांगीतिक रचना तोडमरोड गरी आफ्नो बनाउन माहिर संगीतकार । यिनैले हो, ‘नाइलनको सारीमा’ देखि ‘चिप्पक चिप्पक’, ‘फोन्टास्टिक…वन्डरफुल’, हुँदै पछिल्लो समय ‘कृ’ को ‘उकालीमा पछि पछि’ लाई आफ्नो रचनाका रुपमा पेश गरेको । गरे अल्मोडाले, तर मतियार बन्दा सजायँ भोगे चलचित्र निर्माता सुवाष गिरीले । सुवाष घानमा पर्नु, अल्मोडाहरु उम्किनुको रमाइलो प्रसंग अर्कै छ ।

चलचित्र विकास बोर्डका कारण सुवाष त्यो अवस्थामा पुगेको बताइन्छ । चार वर्ष पहिला सुवाषमार्फत् गोपीकृष्ण मुभिजले हरि भट्टराई फेला पारेको थियो । मलेसियामा म्यानपावर व्यवसाय चलाउने उनी तिनै व्यक्ति हुन्, जसले निर्देशक बद्री अधिकारीको (केकी अधिकारीको बुबा) ऋणमा डुबेर सिभिल बैंकले हडप्न खोज्दा घर सकारेका थिए । हो, तिनैसँग सुवाषको घनिष्ठ सम्बन्ध थियो । गोपिकृष्णको फिल्मी आर्थिक संकटमा परेको बेला हरिमार्फत चार करोड रुपैयाँ लगानी गर्न लगाइएको थियो । ६ महिनाभित्र साँवा व्याज तिर्ने सम्झौता हो । तर, दुई वर्षसम्म उठेन । पैसाकै बिषयले लफडा मच्चिएपछि बिर्तामोडस्थित अन्नपूर्ण टाकिजको जग्गा उल्टै ६ करोडमा हरिलाई भिडाइयो । दुई करोड पनि नआउने जग्गा ६ करोडमा भिडाइएपछि एकातिर हरि र सुवाषको सम्बन्ध बिग्रियो भने अर्काेतिर सुवाष र गोपिकृष्णको सम्बन्धमा पनि चिसोपन आयो ।  

सांगीतिक फाँटमा काम गर्ने सुवाष फिल्म बनाउन तम्सिए । शम्भु प्रधानको पुरानो गीत बिनाअनुमति फिल्ममा हालेपछि फँसे । प्रहरीले बोर्डलाई पत्राचार गरी ‘कृ’ को निर्माताबारे सोध्यो । उसले भन्यो, सुवाष्म गिरी । तर, उनीबाहेकका निर्माता पनि थिए, ‘कृ’ का । मामिला गीतसँग सम्बन्धित थियो । त्यसमा निर्माण कम्पनी जिम्मेवार हुने कि संगीतकार ? यो अर्को बहसको विषय हो । तर, प्रहरीमा बोलाइए सुवाष मात्र । त्यसो त शुरुमा अनौपचारिक रुपमा शम्भु प्रधानले आफ्नो गीत चोरिएको दावी गर्दा सुवाषहरुले त्यति मतलब गरेनन् । ‘भेटौँला, मिलाउँला’ भनेर टार्दै गए । अहिले जसरी सुवाषहरु प्रहरीमा लगेर, हत्कडी लगाइएको भनी आपत्ति जनाइरहेका छन् र शम्भु प्रधानविरुद्ध खनिएका छन्, वास्तवमा शम्भुले त्यति नगरेको भए एक लाख पनि हर्जाना पाउने थिएनन् । प्रहरीमै मामिला दर्ज भएपछि पनि ‘फास्लाङ–फुस्लुङ’ गरेर मिल्छ भन्ने मानसिकतामा थिए । जब प्रहरीले हत्कडी लगायो, तबमात्र सुवाष ११ लाख तिर्नेमा पुगेका हुन् । हत्कडी लाग्नुभन्दा एक महिना अगाडिदेखि नै प्रहरीले दुई पक्षबीच छलफल गराएको थियो । छलफल गरुञ्जेल पनि सुवाष ११ लाख तिर्न तयार थिएनन्, जबकि शम्भुको दावी थियो, फिल्मको पूरै व्यापारिक आर्जनको आधा रकम । 

अल्मोडाले यसअघि थुप्रै पुराना मौलिक नेपाली लोकधुनलाई रिमिक्सको शैलीमा बिगारिसकेका छन् । तर, अहिलेसम्म कतै अभियोग दर्ज नहुँदा सुरक्षित छन् । संगीत बिगारेको लफडामा एपीवान च्यानल पनि मुछिएको छ । गायक राजन इशानले हो, एपीवानलाई आफ्नो सिर्जना चोरीको आरोप लगाएको । उनको गीत ‘बशमा छैन मेरो मन’ एपीवन टेलिभिजनले दुरुपयोग गरेको आरोप छ । एपी वन टेलिभिजनबाट प्रशारण हुने ‘बुगीबुगी’ डान्स रियालिटी शोको अस्ति बिहीबारको श्रृंखलामा इशानको चर्चित गीत ‘बसमा छैन मेरो मन’ लाई गायिका मञ्जु तिवारीले गाएकी थिइन् । सो गीत आफ्नो अनुमतिबिनै अरुलाई गाउन दिएको भनी गायक इशान कानुनी उपचारको खोजी गर्दै प्रतिलिपी अधिकार कार्यालयमा जाने बताउन थालेका छन् ।

टिप्पणीहरू