​निम्तो दुईतिर, पहिले कोतिर

केरुङदेखि काठमाडौंसम्म निर्माण हुने रेलमार्गको काम अघि बढ्न लागेको छ । प्रधानमन्त्री केपी ओली भारत भ्रमणबाट फर्कनासाथ चीनमा हुन लागेको बोआओ सम्मेलनमा भाग लिन उत्तरतर्फ जाने कार्यक्रम तय भइसकेको हो । तर चैत २५ देखि २८ सम्म उक्त सम्मेलन हुने हुँदा दक्षिणको भ्रमण व्यवस्थापन गर्न मुस्किल परिरहेको छ ।

चीनको हेनान प्रान्तमा आयोजित सम्मेलनमा भाग लिने क्रममै प्रधानमन्त्री बेइजिङसम्म पुग्ने तयारी थियो तर त्यही बेला पारेर भारतले बोलाइदिँदा पहिले उत्तर जाने कि दक्षिण भन्ने टुंगो लागिहाल्न सकेको छैन । रेलमार्गको निम्ति यही चैत २७ गते आउन लागेको छाए जमिन नेतृत्वको टोली स्पेनमै अल्झिनुपरेको र प्रधानमन्त्री चीन या भारत जाने टुंगो नहुँदा समयतालिका केही सरेको छ । यसअघि बेइजिङयात्राको अवसरमा केरुङ‐काठमाडौं रेलमार्गको सम्झौतापत्रमा हस्ताक्षर हुनेगरी दुवै मुलुकका सम्बन्धित अधिकारीले तयारी अघि बढाएका थिए । चुनावअघि नै चिनियाँँ रेल विभागका उपप्रमुख झ्यांग जियान विज्ञहरूसहित नेपाल आएर अध्ययन भ्रमण पूरा गरी फर्किएका हुन् । सोही बेला चिनियाँँ पक्षले केरुङ‐काठमाडौं रेलमार्ग निर्माण प्रक्रिया दुई सरकारबीच सम्झौता गरी अघि बढाउन चाहेको भए पनि नेपालमा कामचलाउ सरकार भएका कारण असहज भएको थियो । 

निर्वाचनको महिनौंपछि नयाँ सरकार बने पनि रेलमार्ग हेर्ने मन्त्रालयमा नयाँ  नियुक्ति नभएका कारण यो काम अल्झिइरह्यो । रघुवीर महासेठ भौतिक निर्माण तथा यातायात मन्त्री नियुक्त हुनासाथ यससम्बन्धी प्रक्रिया अघि बढेको छ । 

चिनियाँ रेल विभागले कूल खर्चको ८५ प्रतिशत लगानी गर्ने प्रस्ताव राखिसकेको छ । यसमा अधिकांश अनुदान र केही प्रतिशत सफ्ट लोनका रुपमा रहनेछ । नेपाल सरकारका तर्फबाट जम्मा लगानीको १५ प्रतिशत मात्र व्यहोरे पुग्ने योजनामा चिनियाँँ विज्ञहरूले गरेको प्रारम्भिक अध्ययनअनुसार धेरै ठाउँमा सुरुङ छेड्नुपर्ने हुँदा प्रतिकिलोमिटर साढे ४ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । केरुङ–काठमाडौं रेलमार्गको दूरी जम्मा ७२ किलोमिटर हुने छ । नेपालको उच्च हिमाली क्षेत्र भएर रेलमार्ग निर्माण गर्नुपर्ने भएकाले निकै समस्या पर्ने भए पनि यसलाई समाधान गर्न सकिनेछ । किनकि छिंघाइबाट ल्हासा आउने रेलले ५५७५ मीटरको उचाइ पार गर्छ । भूकम्पका कारण निर्मित दरारहरू रसुवाका ठूला पहाडहरूमा अझै विद्यमान रहेको भए पनि यसलाई समेत व्यवस्थापन गरी रेलमार्गसँगै राजमार्ग पनि निर्माण गर्न सकिने चिनियाँँ विज्ञहरूको राय छ । पहिलो चरणमा काठमाडौं जोडिसकेपछि लगत्तै लुम्बिनीसम्म रेल पु¥याउने लक्ष्य छ । 

टिप्पणीहरू