‘गभर्नर र डेपुटीले भाषण र उद्घाटन मात्रै गर्ने होइन’

‘गभर्नर र डेपुटीले भाषण र उद्घाटन मात्रै गर्ने होइन’

बैंक तथा वित्तीय संस्थाहरुले कात्तिक १ गतेदेखि लागु हुनेगरी नयाँ ब्याजदर तोकेपछि नियामक निकाय नेपाल राष्ट्र बैंकले नयाँ सर्कुलर जारी गरेर अस्तिको ब्याजदर संशोधन गर्न भनेको छ ।

बैंकहरुले मनपरी ब्याजदर तोकेको भन्दै त्यसलाई सच्याउन राष्ट्र बैंकले हिजो नयाँ निर्देशन जारी गरेको भनिएको छ । तर,बैंकहरुले आफ्नो यसअघिको निर्देशनलाई लत्याएको सम्बन्धमा राष्ट्र बैंकले कारबाही गर्नेबारे मौद्रिक अधिकारीहरु मौन बसेका छन् ।

‘ब्याजदरमा हस्तक्षेप गर्नु एउटा कुरा हो,तर केन्द्रीय बैंकको निर्देशन लत्याउने बैंकमाथि कारबाही नगर्नु भनेको गम्भीर पक्ष हो,’ पूर्वगभर्नर विजयनाथ भट्टराई बताउनुहुन्छ ।

“सानिमा बैंकका सीईओ भुवन दाहालको नेतृत्वमा असोज मसान्तको दिन बसेको बैंकर्स संघको बैठकले कात्तिक १ गतेदेखि केन्द्रीय बैंकको निर्देशनविपरित ब्याजदर बढाउने निर्णय गरेको थियो ।”

उहाँका अनुसार केन्द्रीय बैंकको निर्देशन पालना नगर्ने जुनसुकै बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले कारबाही गर्नैपर्छ । त्यसैगरी बैंकर्स संघमा बसेर बैंकका सीईओहरुले ब्याजदर बढाउने र घटाउने सामूहिक निर्णय गर्नु केन्द्रीय बैंकको निम्ति चुनौती भएको उहाँको ठहर छ । ‘कार्टेलिङको आधारमा ब्याजदरलगायतका निर्णय गर्न पाईंदैन,त्यसमा राष्ट्र बैंकको नेतृत्व कठोर बन्न सक्नुपर्छ ।’

यसबीच हिमालयन बैंकले ब्याजदर मात्रै बढाएको छैन । तीन महिनासम्म चलाउन नपाइने बोलकबोलबाट लिइने संस्थागत निक्षेपको ब्याजदरसमेत एक महिनामा परिवर्तन गरेको सूचना प्रकाशित गरेको छ । तर,राष्ट्र बैंकको नेतृत्व कारबाहीको सट्टा सर्कुलरको सामूहिक झटारोबाटै पन्छिन खोजेको स्पष्ट भएको छ ।

सानिमा बैंकका सीईओ भुवन दाहालको नेतृत्वमा असोज मसान्तको दिन बसेको बैंकर्स संघको बैठकले कात्तिक १ गतेदेखि केन्द्रीय बैंकको निर्देशनविपरित ब्याजदर बढाउने निर्णय गरेको थियो ।

आफू मातहतको एउटा बैंकको सीईओको नेतृत्वमा बसेको सामूहिक बैठकले केन्द्रीय बैंकको निर्देशनलाई चुनौती दिँदा गभर्नर महाप्रसाद अधिकारी, डेपुटीहरु निलम तिम्सिना र बमबहादुर मिश्रले त्यसलाई गम्भीर रुपमा लिएको देखिँदैन ।

सबै बैंकको नाममा जारी गरिएको निर्देशनबाट गम्भीर गल्ती गरेका हिमालयन बैंक र सानिमा बैंकका सीईओ तथा बैंकर्स संघका अध्यक्ष भुवन दाहाललाई उन्मुक्ति दिनुलाई अचम्म मानिएको छ ।

अर्का एक जना पूर्वगभर्नर भन्छन्, ‘महत्वपूर्ण निकायको जिम्मेवारी लिएपछि खुट्टा कमाउन हुँदैन । केन्द्रीय बैंकको गभर्नर र डेपुटीको जिम्मेवारीमा बसेकाले भाषण र उद्घाटन मात्रै गर्ने होइन । निर्देशन उल्लंघन गर्ने बैंकका सीईओ र पदाधिकारीलाई ठाउँको ठाउँ ठेगान लगाउन सक्नुपर्छ,अन्यथा जागिर मात्रै खानुको कुनै अर्थ छैन ।’

टिप्पणीहरू