सुदूरपश्चिममा पहिरोबाट ३ जनाको मृत्यु

सुदूरपश्चिममा पहिरोबाट ३ जनाको मृत्यु

अविरल वर्षापछि आएको पहिरोबाट सुदूरपश्चिमाञ्चल प्रदेशमा तीन जनाको मृत्यु भएको छ । तीमध्ये डोटीमा दुई र डडेल्धुरामा एक जनाको मृत्यु भएको हो ।

डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ भात्काडामा सन्ध्या फेन्सी स्टोर चलाएर बसेका ३२ वर्षीय विष्णुप्रसाद अवस्थीको घरमा पहिरो खस्दा च्यापिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिनुभएको छ ।

सोमबार मध्यरातमा घरमाथिबाट खसेको पहिरोमा उनको च्यापिएर मृत्यु भएको मृतकका आफन्त भोजराज जोशीले बताएका छन् । घरपछाडि रहेको भान्साबाट पानीसहितको लेदो भित्र पस्न थालेपछि पन्छाउने क्रममा टिनको छानामाथि पहिरो खसेको थियो ।

यसैबीच जिल्लाका विभिन्न स्थानमा पहिरो गएको जानकारी प्राप्त भएको छ । जसअनुसार अमरगढी नगरपालिका–१ को तडिपाटामा पहिरो जाँदा स्थानीय भीमबहादुर रावलको घर, गाईगोठ र कुखुरा फार्ममा पूर्णक्षति भएको छ ।

ढुंगाको स्लेटले बनेको दुईतले चार कोठाको पक्की घरमा पूर्णक्षति भएको छ । पहिरोले घरमा बस्ने रावलकी बुहारी करिब २५ वर्षकी देवकी रावलको दाहिने हातमा चोट लागेको छ । गोठमा रहेको एउटा भैंसी, एउटा गाई, एउटा गोरु, बाख्रा दुई वटा र झण्डै दुई दर्जन कुखुरा र घरभित्र रहेको भाँडाकुँडा, खाद्यान्न सबै पुरिएको छ ।

पहिरोपछि घरमा रहेका सबैको उद्धार गरिएको छ । मानवीय क्षति नभए पनि पशुचौपाया भने मारिएका छन् ।

टिप्पणीहरू