टुँडिखेलमा बढाई ,अन्यत्र धर्ना र अनशन

टुँडिखेलमा बढाई ,अन्यत्र धर्ना र अनशन

आज दशैंको सातौं दिन फूलपाती हो । जमरा राखिएको घर र कोतहरुमा फूलपाती भित्र्याइन्छ । गोरखाबाट बोकेर ल्याइएको फूलपाती अपरान्ह काठमाडौंको हनुमानढोकामा बाजागाजासहित भित्र्याउने परम्परा छ ।

त्यहि समय पारेर टुँडिखेलमा सेनाले बढाईं कार्यक्रम गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायत विशिष्ट अधिकारीहरु उक्त कार्यक्रममा सहभागी हुनुहुनेछ ।

तर, यता दशैं लागिसक्दा पनि नेपाली काँग्रेसको मुख्यालयमा हुँदै आएको बिरोध कार्यक्रम जारी छ । सक्रिय सदस्यता वितरणमा भएको धाँधलीविरुध्द रौतहटका काँग्रेसजनले गरेको धर्ना र अनसन कार्यक्रम आज फूलपातीको दिनमा पनि भएको हो । बिरोध कार्यक्रम बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।

उता राष्ट्रिय महिला अधिकार मञ्च बाँकेको आयोजनामा नन्कुन्नी धोबी र निर्मला कुर्मीको हत्या र हत्यामा संलग्नहरूलाई प्रहरी प्रशासनले संरक्षण गरेको बिरोधमा हुँदै आएको धर्ना कार्यक्रम आज पनि जारी छ । कार्यक्रम बिहान १० बजेदेखि साँझ ५ बजेसम्म माइतीघर मण्डलामा हुने जानकारी दिइएको छ ।

नेपालगञ्जबाट पैदल यात्रा गर्दै गत शुक्रबार काठमाडौं आएर माइतीघर मण्डलामा धर्ना दिन थालेको टोलीले आज पनि बिरोध कार्यक्रमलाई निरन्तरता दिएको हो । मञ्चका धेरैजसो अगुवालाई प्रहरीले पहिलो दिन पक्रेर एक जना रुवी खानलाई बहुबिबाहको मुध्दामा नेपालगञ्ज नै पुर्याएको छ ।

आज नेकपा (एमाले) को काठमाडौं महानगरपालिका १५ वडा कमिटीले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम राखेको छ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यमा दशैं, तिहार,नेपाल सम्बत्,छठ,इद, ल्होसार,उधौलीलगायतका चाडपर्वहरूको उपलक्ष्यमा राखिएको कार्यक्रम स्वयम्भूको भुर्इंखेलमा बिहान ८ बजेदेखि शुरु भएको हो ।

टिप्पणीहरू