दशैंका लागि उपत्यका बाहिरिने बढे

दशैंका लागि उपत्यका बाहिरिने बढे

दशैं नजिकिएसंगै काठमाडौँ उपत्यका छाड्नेको संख्या बढ्न थालेको छ । घटस्थापनापछि लगातार बढेको उपत्यका छाड्नेको संख्या दैनिक रुपमा बढिरहेको छ ।

असोज ११ गतेदेखि हिजो बेलुकासम्म उपत्यका छाड्नेको संख्या ५ लाख ६० हजार पुगेको प्रहरीले बताएको छ । त्यस्तै, सोही अवधिमा उपत्यका भित्रिनेको संख्या पनि उस्तै छ । ४ लाख ९० हजार मानिस उक्त अवधिमा उपत्यका भित्रिएको ट्राफिक महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले जानकारी दिनुभयो । प्रहरीको तथ्यांकमा निजी सवारी साधनबाट जानेको संख्या नसमेटिएकाले संख्या अझै बढी हुने दासको भनाइ छ ।

दशैँ,तिहारमा अधिकांश सर्वसाधारण आफ्नो जन्मथलो फर्किन्छन् । कोरोना महामारीका कारण गत वर्ष भने उपत्यका छोडनेको संख्या निकै कम थियो । यो वर्ष भने उक्त संख्या दोब्बरभन्दा बढीले बढ्ने अनुमान गरिएको छ । गतवर्ष दशैँमा सार्वजनिक यातायातबाट करिब ६ लाख मानिसले उपत्यका छोडेकोमा यसपाली १५ लाख पुग्ने यातायात व्यवसायीको अनुमान छ ।

सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भारत नेपालले फूलपातीअघि १५ लाख हाराहारीले उपत्यका छोड्ने अनुमान गरेको बताएका छन् ।

दशैंमा तोकिएका सवारी साधन मात्र चलन दिँदा यात्रुको चाप धान्न नसक्ने भएकाले यातायात व्यवस्था विभागले घटस्थापनादेखि नै रुटपरमिट खुला गरिसकेको छ । यात्रुको चापलाई ध्यानमा राख्दै यातायात व्यवस्था विभागले असोज ११ गतेदेखि अग्रिम टिकट बुकिंग पनि खुला गरेको थियो ।

यता, उपत्यका छाड्ने सर्वसाधारणले पनि २८ प्रतिशत बढी भाडा तिरेर यात्रा गर्नुपर्ने भएको छ । बागमती प्रदेश सरकारले गत असार २७ गते लामो रुटमा चल्ने यात्रुबाहक सवारीको भाडा बृध्दि गराएको थियो । बढेको भाडा असोज १० गतेबाट कार्यान्वयनमा आइसकेको छ ।

टिप्पणीहरू