तीन महिना पुग्न ३ दिन नआउँदै २५ सदस्यीय मन्त्रिमण्डल तयार

तीन महिना पुग्न ३ दिन नआउँदै २५ सदस्यीय मन्त्रिमण्डल तयार

प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिएको तीन महिना पुग्न तीन दिन बाँकी हुँदा सरकारले पूर्णता पाएको छ । सत्ता साझेदार दलहरूले मन्त्री टुंग्याएसँगै प्रधानमन्त्रीले सरकार गठनको ८७ दिनपछि आज मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो ।

प्रधानमन्त्रीले जसपाका राजेन्द्र श्रेष्ठलाई संघीय मामिला तथा सामान्य प्रशासन,नेकपा एसका विरोध खतिवडालाई स्वास्थ्य तथा जनसंख्या,रामचन्द्र पौडेल खेमाका मीनेन्द्र रिजाललाई रक्षा,उमाकान्त चौधरीलाई खानेपानी,रेणु यादवलाई भौतिक पूर्वाधार तथा यातायात र प्रेम आलेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयको जिम्मेवारी तोक्नुभएको छ।

त्यस्तै कानून न्याय तथा संसदीय मामिलामा दिलेन्द्रप्रसाद बडू, शिक्षा,विज्ञान तथा प्रविधिमा देवेन्द्र पौडेल,कृषि तथा पशुपंक्षी विकासमा महेन्द्र राय यादव, महिला,बालबालिका तथा ज्येष्ठ नागरिकमा उमा रेग्मी र भूमि व्यवस्था,सहकारी तथा गरिवी निवारण मन्त्रालयको जिम्मेवारी माओवादी केन्द्रकी शशी श्रेष्ठलाई दिनुभएको छ ।

रामकुमारी झाँक्रीलाई शहरी विकास,रामसहाय प्रसाद यादवलाई वन तथा वातावरण, कृष्णकुमार श्रेष्ठलाई श्रम,रोजगार तथा सामाजिक सुरक्षा र महेश्वर गहतराजलाई युवा तथा खेलकुद मन्त्री बनाइएको छ।

क्याबनेटमा तीन राज्यमन्त्री पनि थपिएका छन् । यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई प्रधानमन्त्री कार्यालय हेर्ने गरी सोही हैसियतमा जिम्मा तोकिएको छ भने भवानी खापुङलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनाइएको छ। बोधमाया कुमारी यादवलाई शिक्षा,विज्ञान तथा प्रविधि राज्यमन्त्री नियुक्त गरिएको छ ।

आज मन्त्री नियुक्त हुनेमा एकजना गैरसांसद पनि छन् । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणानिकट भनेर चर्चा गरिएका गजेन्द्र हमाललाई उधोग,वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्रीले यसअघि नै बालकृष्ण खाँडलाई गृह,पम्फा भुसाललाई उर्जा,जनार्दन शर्मालाई अर्थ र नारायण खड्कालाई परराष्ट्र मन्त्री नियुक्त गर्नुभएको थियो । यसअघि कानुनमन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार मन्त्रालयमा पठाइएको छ ।

टिप्पणीहरू