बहुदलीय माओवाद

एमाले र माओवादी एकीकरणको कुरा अघि बढिरहेको छ । कुरा बढ्नु राम्रै हो । तर, यो एकीकरणमा अहिले समस्या भएको छ, सिद्धान्त । दुई पार्टी एक भए पछि नयाँ पार्टीको सिद्धान्त चाहिँ के हुने त ? एउटा सिद्धान्त चाहियो । तर यहाँ समस्या छ, सिद्धान्तै दुइटा छ । एउटा जनताको बहुदलीय जनवाद । अर्को माओवाद । जनताको बहुदलीय जनवाद मानौं भने माओवाद छाड्नुपर्ने हुन्छ । माओवाद मानौं भने जनताको बहुदलीय जनवाद छोड्नुपर्ने हुन्छ । यहाँ समस्या कुनचाहिँ छोड्ने भन्ने होइन । समस्या दुवैलाई समाउनुपर्ने पो छ । 

दुवैलाई समाऊँ भने कसरी समाउने ? एउटा पार्टीको दुईटा सिद्धान्त कसरी हुन्छ ? त्यसो त यो पनि हुनै नसक्ने भन्ने होइन । हाम्रै छिमेकी राष्ट्र चीनले ‘एक राष्ट्र दुई व्यवस्था’ भन्ने अंगालेर शासन चलाइरहेको छ । ठीक त्यसरी नै हामीले पनि ‘एक पार्टी दुई सिद्धान्त’ नीति लागू गर्न नसकिने होइन । तैपनि, एउटा पार्टी एउटै सिद्धान्त लागू गर्ने सम्भावना हुन्जेल किन अर्को नीति लिने ? 

अब दुइटा सिद्धान्तलाई एउटै बनाउने हो भने यी दुवैलाई एकै ठाउँ फ्युजन गर्न सके राम्रो । अर्थात्, जनताको बहुदलीय जनवाद र माओवादलाई एकै ठाउँमा फ्युजन गरौँ । यसबाट एउटा अर्को सिद्धान्त जन्मिन सक्छ – जनताको बहुदलीय माओवाद । ‘जनताको बहुदलीय जनवाद’ र ‘माओवाद’ को फ्युजनबाट जन्मेको अर्को वाद – जनताको बहुदलीय माओवाद । अर्थात छोटकरीमा ‘जबमा’ । के यो सम्भव होला ? 

टिप्पणीहरू