दशैँपछि केटाकेटीले कोरोनाको खोप लाउने

दशैँपछि केटाकेटीले कोरोनाको खोप लाउने

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैँलगत्तै १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिने बताउनुभएको छ ।

बुध्दिष्ट चु जी च्यारिटी फाउण्डेशनले कान्ति बाल अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्न आज आयोजना गरेको कार्यक्रममा बोल्दै श्रेष्ठले १८ वर्षमुनिका बालबालिकाको लागि कोरोनाविरुद्धको १ करोड खोप आउने सुनिश्चितता भइसकेको दाबी गर्नुभयो । त्यसका लागि ४० लाख मोडर्ना र ६० लाख फाइजर खोप खरिदको व्यवस्था गरिसकिएको उहाँको भनाइ छ ।

दशैँलगत्तै १ लाख फाइजर खोप आउने जानकारी दिँदै उहाँले फागुनसम्ममा बालबालिकालाई उपलब्ध गराइने जानकारी दिनुभयो । राज्यमन्त्री श्रेष्ठले सरकारले कोरोनाविरुद्धको खोपलाई पहिलो प्राथमिकता दिएको उल्लेख गर्दै तिनै तहको अस्पतालको व्यवस्थापकीय पक्षलाई सुधार्न नीति बनाउने तयारी सरकारले गरेको पनि बताउनुभयो । सरकारले स्वास्थ्य क्षेत्रको दरबन्दी बढाउन ध्यान दिएको उहाँको भनाई छ ।

त्यस्तै, कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि खटिंदा मृत्यु भएका स्वास्थ्यकर्मीका बालबच्चालाई अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिने पनि उहाँले बताउनुभयो ।

फाउण्डेशनले कान्ति बाल अस्पताललाई २५ वटा भेन्टीलेटरलगायतको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोरोना संक्रमणको पहिलो लहरदेखि नै सरकारलाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गर्दै फाउण्डेशनले संक्रमणको तेस्रो लहर आउनसक्ने सम्भावनालाई ध्यान दिदैँ पूर्वतयारीस्वरुप स्वास्थ्य सामग्री हस्तान्तरण गरेको फाउण्डेशनको नेपाल प्रतिनिधि महेश नकर्मीले बताउनुभयो ।

फाउन्डेशनले ४१ करोड ४८ लाख ४९ हजार ३०० रुपैयाँ बराबरको स्वास्थ्य सामग्री कान्ति बाल अस्पताललाई हस्तान्तरण गरेको नकर्मीले जानकारी दिनुभयो ।

टिप्पणीहरू