नाम नीतिको,पोल पोलमा बिज्ञापन नेताको

नाम नीतिको,पोल पोलमा बिज्ञापन नेताको

सामान्यतया: कम्युनिष्ट पार्टी नीतिप्रधान हुन्छ । कम्युनिष्ट पार्टीले अङ्गिकार गरेको ‘जनवाद’ ले पनि पार्टीलाई नेताप्रधान भन्दा नीतिप्रधान बनाउने कुरालाई नै महत्व दिएको छ । तर,नेपालका कम्युनिष्ट पार्टीहरु भने ठ्याक्कै उल्टो दिशामा हिँडेको देखिन्छ ।

एक दशकअघि जनयुध्दबाट शान्ति प्रक्रियामा आएको माओवादी होस् या ०४६ सालपछि पार्टीलाई लोकतान्त्रिकरणतर्फ अघि बढाएको एमाले,दुबैतिर आन्तरिक लोकतन्त्र र नीति कि नेताप्रधान भन्ने बहस बेलाबखत उठ्ने गरेको छ । जनयुध्दकालमा माओवादीले अध्यक्ष प्रचण्डमा अत्यधिक शक्ति केन्द्रित गर्दा बाबुराम भट्टराईलगायतका नेताहरुले विरोध जनाएका थिए । शान्ति प्रक्रिया हुँदै आजसम्म आइपुग्दा माओवादीमा हिजोकोजस्तो प्रचण्डमा सबै अधिकार केन्द्रित गरिएको छैन ।

“नीति र विधिमा छलफल गर्न आयोजित महाधिवेशन अध्यक्ष ओलीको विज्ञापन गर्ने माध्यमजस्तो बन्न पुगेको छ । ओलीका तस्वीरहरु बानेश्वरका पोलदेखि ललितपुरको गोदावरीसम्मै प्रशस्तै देखिन्छन् ।”

शान्तिपूर्ण राजनीतिको अभ्यासमा कान्छो पार्टी भएकाले पनि आन्तरिक लोकतन्त्रका सवालमा माओवादीमा हुने बहसलाई अन्यथा मान्न सकिंदैन । तर, आफूलाई जनताको बहुदलीय जनवादको असली हकदार दाबी गर्ने नेकपा एमालेमा पछिल्लो समय अध्यक्ष केपी ओलीलाई सर्वशक्तिमान नेता मानेर शक्ति केन्द्रिकरण गर्न थालिएपछि कम्युनिष्ट पार्टी नीतिप्रधान कि नेता भन्ने प्रश्न बल्झिन थालेको हो । २०४६ सालयता कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरण र आन्तरिक जनवादको चर्को वकालत गर्ने एमाले पछिल्लो समय अध्यक्ष ओलीकै वरपर घुम्न थालेपछि यस्ता प्रश्न उब्जिएका हुन् ।

यिनै प्रश्न उठाएर एमालेका तत्कालीन वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालले विद्रोह गरी नयाँ पार्टी गठन गरिसक्नु भएको छ । यो पृष्ठभूमिमा आजदेखि एमालेको विधान महाधिवेशन शुरु भएको छ । राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनमा सम्पूर्ण शक्ति खर्च हुने हुँदा त्यसअगाडि पार्टीको नीति, विधि,विधानमा छलफल गर्न भनेर विधान महाधिवेशनको नयाँ अभ्यास एमालेले शुरु गरेको हो ।

कार्यक्रमस्थलमा ओलीको ठूलो ‘स्टाचु’ बनाइएको छ । देशकै सबैभन्दा ठूलो पार्टीको प्रथम विधान अधिवेशनमा अध्यक्ष ओलीको यसरी विज्ञापन गरिएको छ कि,ओली नै पार्टी हुन् र पार्टी नै ओली हो ।

तर,नीति र विधिमा छलफल गर्न आयोजित महाधिवेशन अध्यक्ष ओलीको विज्ञापन गर्ने माध्यमजस्तो बन्न पुगेको छ । ओलीका तस्वीरहरु बानेश्वरका पोलदेखि ललितपुरको गोदावरीसम्मै प्रशस्तै देखिन्छन् । चोक-चोकमा ओलीको तस्वीर अंकित ब्यानर,पम्प्लेट व्यापक बनाइएको छ । सडकमा ओलीका तस्वीर राखिएका ब्यानर टांगिएका छन् ।

बिजुलीका पोलमा मात्र नभएर गाडीमा समेत ओलीको तस्वीर टाँसिएका छन् । कार्यक्रमस्थलमा ओलीको ठूलो ‘स्टाचु’ बनाइएको छ । देशकै सबैभन्दा ठूलो पार्टीको प्रथम विधान अधिवेशनमा अध्यक्ष ओलीको यसरी विज्ञापन गरिएको छ कि,ओली नै पार्टी हुन् र पार्टी नै ओली हो ।

सडकमा तस्वीर फिँजाएर विज्ञापन मात्र गरिएको छैन राजामहाराजालाई जसरी ओलीलाई गाडीमा एस्कर्टिङ गरेर महाधिवेशनस्थल पुर्याइएको छ । एमाले कार्यकर्ताले सातदोबाटो चोकबाट एस्कर्टिङ गर्दै ओलीलाई गोदावरीस्थित महाधिवेशनस्थलसम्म पुर्याएका हुन् ।

त्यसो त,एमालेले रुसी र चिनियाँ शैलीअनुरुप वैधानिक रुपमै ओलीमा अधिकार केन्द्रिकरणको सुरुआत गरिसकेको छ । संसदीय दलको विधान संशोधन गर्दै दलको नेतालाई कुनै पनि सांसदले पार्टी हितविपरीत गतिवधि गरे ६ महिनासम्म निलम्बन गर्ने, समानुपातिक सांसद हेरफेर गर्न पाउने अधिकार सुम्पिइएको छ ।

निर्वाचन आयोग,अदालतलगायत संवैधानिक निकायमा पार्टीका तर्फबाट आधिकारिक पत्राचार गर्नेदेखि दलका उपनेता, राष्ट्रियसभामा दलका नेतालगायत चयन गर्नेसम्मको अधिकार दलका नेता तथा अध्यक्षलाई दिइएको छ । जारी विधान महाधिवेशनले नेतृत्वलगायतका प्रश्नमा ओलीलाई थप शक्तिशाली बनाउने निर्णय गरे अचम्म मान्न नपर्ने एमाले नेताहरु बताउँछन् ।

टिप्पणीहरू