सिंहदरबारको पांग्रो

गत साताको कुरा हो । सिंहदरबारभित्रै एउटा सरकारी गाडीको चार वटै पांग्रा चोरी भयो । सिंहदरबार भनेको त सिंहदरबारै हो नि ! सारा सरकारी कार्यालय रहेको ठाउँ । भित्र पस्नै गाह्रो । सर्वसाधारणलाई भित्र पस्न अनुमति पनि छैन । तर, चोरहरूचाहिँ सजिलै पस्दा रहेछन् । भित्र पस्ने मात्र होइन, गाडीको चार वटै पांग्रा चोरेर लानसमेत सफल हुने । अहिले सिंहदरबारभित्र प्रधानमन्त्री शेरबहादुर देउवा बसिरहनुभएको छ । उहाँको निस्किने बेला त अस्ति नै भइसकेको हो तर निस्किरहनुभएको भने छैन । के–के बखेडा झिकेर भित्रै बसिरहनुभएको छ । अब भित्र बसेर के गरिरहनुभएको छ केही थाहा छैन । मलाई त शंका लागिरहेको छ, कतै उहाँ पनि भित्र बसेर सिंहदरबारकै पांग्रा त झिकिरहनुभएको छैन ?

उहाँले सिंहदरबार छाडेपछि यसलाई चलाउने त कमरेड केपी ओली हुनुहुन्छ । अब सिंहदरबार आफूबाहेक अरूले चलाउनै नसकोस् भनेर पांग्रै झिकी लगिदिए गर्ने के? त्यसैले कमरेड ओलीले सिंहदरबार हातमा आएपछि सबैभन्दा पहिले त्यसको पांग्रो हेर्नुप¥यो । चारै वटा साबुत छन् कि छैनन्? पांग्रो लगेको रहेछ भने चलाउन सकिँदैन । मलाई त आशंका छ, प्रधानमन्त्री शेरबहादुर देउवा सिंहदरवारको पांग्रो नझिकी त्यहाँबाट बाहिर आउनुहोलाजस्तो लाग्दैन ।

टिप्पणीहरू