राष्ट्रिय गौरवमा जहाँ पनि किन रमिता ?

राष्ट्रिय गौरवमा जहाँ पनि किन रमिता ?

राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको दोस्रो चरणको काम सुस्त ढङ्गले अगाडि बढेको छ। पहिलो चरणको काम भने तोकिएको समयभन्दा एक वर्षअघि नै पूरा भएको थियो ।

टनेल बोरिङ मेसिन टीबीमबाट १२.२० किलोमिटर लामो र ४.२० मीटर व्यास भएको सुरुङ निर्माण तोकिएको अवधिभन्दा एक वर्षअघि नै सम्पन्न भइसकेको हो ।

२०७६ साल वैशाख ३ गते सुरुङको ‘ब्रेक थ्रु’ गरिएको थियो । एक वर्षअघि नै पहिलो चरणको सुरुङ खन्ने काम सकिएपछि आयोजनाको अन्य काम पनि छिट्टै हुने विश्वास गरिएको थियो । तर दोस्रो चरणको कामको गति सुस्त बन्दा स्थानीय तथा सरोकारवाला सबैलाई चिन्ता बढाएको छ।

हेड वर्क्स,बाँधलगायत अन्य काम दोस्रो चरणमा गर्नुपर्नेछ । कहिले कोरोना,कहिले मजदुर अभावका कारण दोस्रो चरणको काम सोचेजस्तो हुन नसकेको आयोजना कार्यालयले जनाएको छ । लगातार काम अवरुद्ध हुँदा २०८० सालभित्र आयोजना सम्पन्न गर्ने लक्ष्यमा चुनौती थपिएको छ।

दुई वर्षदेखि आयोजनाको दोस्रो चरणको काम चलिरहेको छ। दोस्रो चरणअन्तर्गत हेड वर्क्स र पावरहाउस निर्माण गरिने कार्यसूची आयोजनाको छ। आयोजनाको बाँधस्थल सुर्खेतको भेरीगङ्गास्थित चिप्लेमा स्वचालित गेट,पेनस्टक,स्टिल लाइनिङ,बबईमा विद्युत् गृह,टर्बाइन,विद्युतीय उपकरण र सब स्टेसनलगायत काम छन् ।

दोस्रो चरणको काम गर्ने अवधि ४ महिनाको हो। यसैबीच अहिलेसम्म आयोजनाको भौतिक प्रगति ४८ प्रतिशत र वित्तीय प्रगति ३८ प्रतिशत रहेको छ। बाँकी रहेको दुई वर्षमा लक्ष्यअनुसारको काम सम्पन्न गर्न निकै ठूलो चुनौती आयोजनालाई छ।

आयोजनाका सिनियर डिभिजन इन्जिनियर लेखनाथ सुवेदीले पहिलो चरणको कामको तुलनामा दोस्रो चरणको काममा केही सुस्त भएको स्वीकार्नुभयो।
अहिले कामको गति बढिरहेकाले तोकिएको अवधिभित्र सक्ने लक्ष्य राखिएको उहाँको दाबी छ । दोस्रो चरणको काम थालिएपछि विशेषगरी कोरोनाले असर पु-याएकाले काममा असर परेको हो।

उहाँले अब बाँकी दुई वर्षभित्र करिब–करिब सबै काम सकिने उल्लेख गर्नुभयो। सम्झौताअनुसार दुई कम्पनीले अबको दुई वर्ष अर्थात् आगामी २०८० भित्र यो काम सम्पन्न गरिसक्नुपर्ने हुन्छ।

टिप्पणीहरू