तन्नाले छोपेर सडकमै आशाले शिशु जन्माइन्

तन्नाले छोपेर सडकमै आशाले शिशु जन्माइन्

-शंकर श्रेष्ठ

धादिङ अर्चलेकी आशा परियारलाई मध्यरात सुत्केरी व्यथा लाग्यो । बिहान झिसमिसेमै अस्पताल हिँडिन् । बैरेनी बजार पुगेपछि कुनै घरमा आड लाग्नसमेत भ्याइनन् । सडकमै मुर्छित भइन् । त्यहि सडक छेउमै तन्ना ओछ्याएर छोरी जन्माइन् । भन्छिन्, ‘ओराला चिप्लोे बाटो लड्दै घिस्रिदै सडकसम्म त पुगेँ,अस्पताल पुग्नै भ्याइन ।’

घटना हिजो मंगलबार बिहान करिब ८ बजेको हो । उनको घर धादिङको सिध्दलेक गाउँपालिका–१,अर्चले नयाँबस्तीमा छ । उमेरले भर्खर १८ वर्ष पुगिन् । उनले एक किलो ४ सय ग्रामको शिशु जन्माएकी हुन् । गर्भ बसेको ७ महिना ४ दिनमा आशाले छोरी जन्माएको श्रीमान जगत परियारले सुनाए ।

सोमबार साँझसम्म आशालाई प्रसव पीडाले छोएको पत्तै थिएन । ‘राती १२ बजेतिर बेस्सरी पेट दुख्यो भनेकी थिइन्, ४ बजेतिर तातो बनाएर पनि खाइन्’ जगत भन्छन्,‘बिहान भएपछि हिंड्दै एम्बुलेन्स आउने ठाउँसम्म पुगियो तर,अस्पताल पुग्न सकिएन ।’बर्खाको बेला आशाको गाउँसम्म एम्बुलेन्स पुग्न सक्दैन । गाउँमा नजिक स्वास्थ्य चौकी पनि छैन । अर्काे वडामा भएको नलाङ स्वास्थ्य चौकी पुग्न २ घण्टा उकालो हिंड्नु पर्छ । एक घण्टा ओरालो झर्दा धादिङबेसी मलेखु सडकमा पुगिन्छ । ‘उकालो भन्दा ओरालो हिंड्न सजिलो पनि हुन्छ,धादिङ अस्पताल नै पुग्न छिटो पनि हुन्छ भन्ने सोचेर आमाको सहयोगमा डोहोर्याउँदै पिच सडकसम्म झरियो । त्यहाँ आएपछि आशा मुर्छा पर्न थालिन्,खुट्टा टेक्नै सकिनन्, पिच सडककै कुनापट्टी आमाले तन्ना ओछ्याइदिनुभयो, आशाले त्यहिँ बच्चा जन्माइन्’ जगतले बेलिविस्तार लगाए ।

‘सडकमा झरिसकेपछि आशालाई अस्पताल पुर्याउन हतार गर्दागर्दै गाडी चढाउनै भ्याइएन’ बैरेनीका सुवाष लम्साल भन्छन्,‘छट्पटिँदै थिइन्,ब्यथाले बेस्सरी चापिसकेको रहेछ, हामीले अस्पताल पुर्याउन भ्याएनौं ।’ सडक कुनामा नै तन्नाले छोपेर बच्चालाई जन्म दिएको सुवाषले सुनाए ।

धादिङ अस्पतालमा सामान्य चेकजाँचपछि अहिले आमा र बच्चा दुबै जनालाई काठमाडौस्थित कान्ति बाल अस्पताल लगिएको छ । आमाको अवस्था सामान्य रहेको र बच्चामा केही समस्या भएकोले अस्पताल भर्ना गरिएको आशाका श्रीमान् जगतले बताए ।

गर्भवती आशा घरायसी काममा व्यस्त हुन्थिन् । श्रीमान् जगत ग्रील उद्योगमा काम गर्छन् ।
टुप्लुक्क पुगिन् प्रतिमा आशाले बच्चालाई जन्म दिएको केही मीनेटमै नलाङ स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिस्टेन्ट प्रतिमा तिमिल्सना टुप्लुक्क त्यहीँ पुगिन् । त्यहीँका एकजनाले प्रतिमालाई हात तान्दै हतार हतार आशाले बच्चा जन्माएको ठाउँमा पुर्याए ।

‘एकछिन त अलमल्ल परेँ, के गर्ने कसो गर्ने भयो,स्थानीय दिदीबहिनीहरुको सहयोगमा सालनाल व्यवस्थापन गरेर बच्चा र आमालाई अस्पताल पठाएँ’ प्रतिमाले त्यहाँको पीडादायक अवस्था सुनाइन् ।

आशाले प्रतिमाले नै काम गर्ने नलाङ स्वास्थ्य चौकीमा गर्भ जाँच गराउँदै आएकी थिइन् । स्वास्थ्य चौकीले मंसिर ३ गते बच्चा जन्मिने मिति तोकिदिएको थियो । ‘गर्भ जाँचको क्रममा आमा र बच्चा दुबैको अवस्था सामान्य थियो’ स्वास्थ्यकर्मी प्रतिमाले भनिन्,‘महिना नपुग्दै बच्चा जन्मिएको भएर थप चेकजाँचको लागि अस्पताल पठाएका छौं ।’

टिप्पणीहरू