के आन्तरिक, के बाह्य

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको राजकीय भ्रमण सकेर भर्खरै स्वदेश फर्कनुभयो । उहाँ नेपाल के फर्किनुभयो, भ्रमणबारे टिप्पणी हुन थाले । सबैभन्दा बढी टिप्पणी त आन्तरिक मामिला खोलेकोमा भयो । नेपालको आन्तरिक मामिला उहाँले भारतमा गएर खोल्नुभयो भन्ने आरोप छ । भन्नेहरू भनिरहेका छन्– नेपालको आन्तरिक मामिला भारतमा गएर खोलेको ठीक भएन ।

त्यसो त नेपाल र भारतको सम्बन्धबीच के आन्तरिक, के बाह्य ? त्यस्तो कुनै भेद छ जस्तो लाग्दैन । नेपाल–भारत धेरैनिकट सम्बन्ध भएका देश हुन् । अस्ति दिल्लीमा एकजना भारतीय नेताले त भनिहाले, नेपाल र भारत भनेको एउटा परिवार हो । एउटै परिवारमा बसिसकेपछि के आन्तरिक, के बाह्य ? परिवार भनेको एउटै घरमा बस्छ । एउटै घरभित्र कसरी आन्तरिक र बाह्यको भेद हुन्छ ? भान्छै फरक भए पनि एउटा कोठामा पकाएको बास्ना अर्को कोठामा गइहाल्छ । मुखले बोल्नै पर्दैन । बास्नाले भनिहाल्छ । भान्छामा तरकारी पकाउनु आन्तरिक कुरा होला । तर, अर्को भान्छालाई बास्नैले कुन तरकारी भन्ने थाहा भइसकेको हुन्छ । त्यसैले भान्छामा फर्सी पकाएर छिमेकलाई खसीको मासु भन्नै पर्दैन । 
अब यस्तो अवस्थामा के आन्तरिक के बाह्य ? होइन र प्रमज्यू ? 

टिप्पणीहरू