मलेसियाबाट अत्यासलाग्दो संख्यामा लाश ल्याइयो

मलेसियाबाट अत्यासलाग्दो संख्यामा लाश ल्याइयो

मलेसियाबाट हिजो एकैदिन ६ वटा शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेपछि विभिन्न कारणबाट त्यहिँ मृत्यु भएका ६ जनाको शवसँगै १५ जना नेपालीको अस्तुसमेत स्वदेश फर्काइएको हो ।

नेपाल सरकार र मलेसियास्थित जनउध्दार केन्द्रको पहलमा मृतकको शव नेपाल ल्याएर आफन्तलाई बुझाइएको छ । जनउध्दार केन्द्र मलेशियाका स्वयंसेवक मुकुट रायमाझीका अनुसार २१ मृतकमध्ये एउटा शव २० वर्षअघि मलेसिया गएर हालसम्म नेपाल नफर्किएका नेपालीको समेत रहेको छ ।

उहाँले परिवारका सदस्यको आग्रह र जनउध्दार केन्द्रको पहलमा उनको शव नेपाल ल्याइएको बताउनुभयो । रायमाझीले भन्नुभयो, ‘२००२ मा मलेसिया गएपछि उहाँ घरपरिवारसँग सम्पर्कविहीन भएर बस्नुभएको रहेछ । नेपालमा कान्छो छोराले आफूले बुबालाई राम्रोसँग नदेखेको,आफू सानै छँदा जानुभएकाले अनुहार हेर्न भए पनि ल्याइदिन अनुरोध गरेको हुँदा हामीले सबै खर्च व्यहोरेर नेपाल ल्याएका हौँ ।’

कानूनी र प्रक्रियागत झन्झटले गर्दा विदेशमा निधन भएका व्यक्तिको शव ल्याउन निकै गाह्रो हुने गर्दछ । मलेसियामा मृत्यु भएकाहरुको शव ल्याउनका लागि नेपाल सरकार र त्यहाँस्थित जनउद्धार समितिले पहल गर्दै आएका छन् ।

टिप्पणीहरू