अफगानिस्तानको छेवैमा भेला, निर्णय के होला ?

अफगानिस्तानको छेवैमा भेला, निर्णय के होला ?

सांघाई सहयोग संगठनको परिषद् बैठक (शिखर सम्मेलन) हिजोदेखि ताजिकिस्तानको राजधानी दुशान्बेमा शुरु भएको छ । चीन, रुस,भारत, पाकिस्तानलगायत विशेषतः मध्य एसियाली मुलुकहरु सदस्य रहेको उक्त संगठनका विदेश मन्त्रीहरुको भौतिक उपस्थितिमा भएको सम्मेलनलाई विशेष महत्वका साथ हेरिएको छ ।

सबै सदस्य राष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले आज भर्चुअल सम्बोधन गर्ने शिखर सम्मेलनमा अफगानिस्तानको पछिल्लो अवस्थाबारे विशेष छलफल हुने अपेक्षा गरिएको छ । संगठन स्थापनाको २० औं वार्षिकोत्सको उपलक्ष्यमा भएको बैठकमा नयाँ सदस्यता बिस्तारको सम्भावनासमेत रहेको बताइन्छ ।

विशेषगरी अमेरिका र उसका पश्चिमा गठबन्धन मुलुकलाई आतंकवादले पुनः टाउको उठाउन सक्नेतर्फ विशेष ध्यान दिन र यसबीचमा भए गरेका कतिपय गतिविधिमाथि पुनर्विचार गर्न सांघाई सहयोग संगठनको पछिल्लो बैठकले आग्रह गर्ने सम्भावना पनि उत्तिकै रहेको छ ।

दुशान्बेबाट प्राप्त समाचारमा जनाइएअनुसार इरानले उक्त संगठनको सदस्यता प्राप्त गर्ने सम्भावना बढेको छ । अफगानिस्तानका सबै ठूला छिमेकीहरुलाई समेट्ने रणनीति अनुसार सांघाई सहयोग संगठनको दायरा थप फराकिलो हुन लागेको हो । उसले सदस्य राष्ट्रहरुलाई लागुपदार्थ बिरोधी केन्द्र जस्ता नयाँ संयन्त्रबाट जोड्न आवश्यक निर्णय गर्ने अपेक्षा गरिएको छ ।

काबुलमा तालिवानले अन्तरिम सरकार घोषणा गरेको एक हप्तापछि छिमेकी मुलुक ताजकिस्तानको राजधानी दुशान्बेमा भएको संगठनको सम्मेलनबाट अफगानिस्तानको पछिल्लो अवस्था र सदस्य राष्ट्रहरुको भूमिकाबारे विशेष छलफल र निर्णय हुने अपेक्षा गरिएको छ । अफगानिस्तान स्वयम् सांघाई सहयोग संगठनको पर्यवेक्षक मुलुक हो ।

शिखर सम्मेलनले अमेरिकाले नेतृत्व गरेको पश्चिमा राष्ट्रहरुको गठबन्धनलाई अफगानिस्तानमा यसअघि जाहेर गरिएका आफ्ना कर्तव्य पूरा गर्न आग्रह गर्ने सम्भावना रहेको बताइन्छ । त्यसैगरी तालिवानलाई पनि सबै खालका आतंकवादी समूहहरूबाट पूर्णरूपमा अफगानिस्तानलाई अलग राख्न समेत सांघाई सहयोग संगठनका सदस्य राष्ट्रहरुले आग्रह गर्ने छन् ।

अफगानिस्तानको बिग्रँदो राजनीतिक अवस्थामा टेकेर मध्य एसियाली मुलुकहरु अर्को मध्यपूर्व नबनोस् भन्ने त्यस क्षेत्रका मुलुकहको अपेक्षासँग आजदेखि दुशान्बेमा शिखर सम्मेलन हुन लागेको हो । अफगानिस्तानका कारण उसका छिमेकी मुलुकहरु पाकिस्तान र इरानमा सबैभन्दा धेरै अफगान शरणार्थीको समस्या रहेकाले पनि त्यस क्षेत्रको समस्या समाधानमा सांघाई सहयोग संगठनका सदस्य राष्ट्रहरु विशेष सक्रिय भएका हुन् ।

यसैबीच दुशान्बेमा रुसी र पाकिस्तानी विदेशमन्त्रीबीच भएको साइडलाइन भेटवार्तालाई सबैले विशेष महत्वका साथ हेरेका छन् । अफगानिस्तानबाट अमेरिकी सेना र उसको गठबन्धन हटेलगत्तै भएको सांघाई सहयोग संगठनको सम्मेलन र ती दुई मुलुकबीच भएको द्विपक्षीय भेटवार्ताको विशेष अर्थ रहेको विश्लेषकहरु बताउँछन् ।

भलै पाकिस्तानी विदेश मन्त्री साह मोहम्मद कुरेशी र उनका रुसी समकक्षी सर्गेइ लाभ्रोभबीचको भेटवार्तामा द्विपक्षीय आर्थिक तथा सामाजिक सहयोग र सम्बन्ध बिस्तार गर्ने,मजबुत बनाउने भनिएको छ । उनीहरुबीच क्षेत्रीय राजनीतिक उतारचढावलाई पनि नजिकबाट हेर्ने र बुझ्ने सहमति भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले बताएका छन् ।

सांघाई सहयोग संगठन एउटा युरेसियाली राजनीतिक,आर्थिक र सुरक्षा गठबन्धन हो । यसको स्थापना सन् २००१ को जुन १५ मा चीनको सांघाईमा भएको थियो । चीन, रुस, कजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान र उज्बेकिस्तान संस्थापक राष्ट्रहरु हुन् ।

फोटो स्रोतः एएफपी/सिन्ह्वा

टिप्पणीहरू