​बाढी र एजेण्डा

हुन त बाढी पहिरोले जनतालाई दिने भनेको आहत मात्रै हो । तर यसपाली आएको बाढीले हाम्रा प्रधानमन्त्री शेरबहादुर देउवालाई भने राहत दिएको छ । बाढीले सानालाई मात्रै दुःख दिने हो, ठूलालाई त सुखै दिने हो भनिन्थ्यो । हो रहेछ । हालैको बाढीले अरुलाई दुःख दिए पनि प्रधानमन्त्रीलाई चाहिँ सुखै दियो । 

पहिलो सुख के हो भन्दा त्यही बाढीले गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फोन आयो । नरेन्द्र मोदीको फोन आउनु कम सुखद होइन । फोन मात्र आएको होइन, पैसा पनि आउने भएको छ । खै कति हो करोड पठाउँछु भनेका छन् ।

अर्को सुख, प्रधानमन्त्री देउवा आज भारत भ्रमणमा जाँदै हुनुहुन्छ । तर भ्रमणमा जाने निश्चित भए पनि भ्रमणको लागि एजेण्डा भने अझै टुंगो लागेको छैन । एजेण्डा टुंगो नलाग्नुको एउटै मात्र कारण के हो भन्दा भ्रमणको लागि कुनै एजेण्डै छैन । भ्रमण गर्ने दिन नजिक आइसक्यो तर भ्रमणको एजेण्डा छैन । अब एजेण्डै छैन भने टुंगो कसरी लाग्छ ? 

ठीक यही मौकामा अचानक बाढी आइदियो । पूरा तराई डुब्यो । मानिस मरे । ठूलो नोक्सानी भयो । कारण रहेछ कोशी बाँधको ढोका नखोलिनु । ढोका नखोलेपछि नेपालमा धेरै विनाश भयो । बस्, भारत भ्रमणको लागि एजेण्डा मिलिहाल्यो । अब भारत गएर प्रम देउवाले त्यहाँको सरकारलाई सोध्नुहुनेछ– बाढी आउँदा कोशी बाँध किन नखोलेको ? उहाँको भारत भ्रमणको एजेण्डै यही हो ।

सबै पूर्व प्रधानमन्त्रीले उहाँलाई यही सुझाव दिनुभएको छ । राष्ट्रपतिबाट समेत यही सुझाव प्राप्त भएको छ । भारतलाई प्रश्न सोध्ने – बाँध किन नखोलेको ? बाढीले गर्दा एजेण्डा प्राप्त भयो । अब उहाँ यही प्रश्न सोध्न भारत जाँदै हुनुहुन्छ । हेरौँ, यसको उत्तरचाहिँ कस्तो आउने होला ।

टिप्पणीहरू